काठमाडौं। गत वर्ष असारमा लेन्दे खोलामा आएको बाढीले ठूलो क्षति पुर्याएको १४ महिनापछि रसुवामा फेरि ठूलो बाढी आएको छ। बाढीका कारण टिम्बुरे भन्सारमा राखिएका गाडीमा ठूलो क्षति पुगेको रसुवा प्रहरीले जनाएको छ। क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
गत असार २३ गते नेपाल–चीन सीमास्थित रसुवागढी क्षेत्रमा भोटेकोसी खोलामा आएको बाढीपहिरोले ठूलो जनधनको क्षति गरेको थियो। लेन्दे खोला उर्लिएपछि भोटेकोसीमा आएको बाढीबाट १९ जनाको मृत्यु भएको थियो। बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगेपछि रसुवागढी नाकाबाट हुने व्यापार अझै सहज हुन सकेको छैन।
हाल भोटेकोसी नदीमा बाढीको बहाव उच्च रहेकाले जिल्ला प्रशासन कार्यालय रसुवाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदीका तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बस्न प्रशासनले अनुरोध गरेको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहान करिब साढे ९ बजे जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोसी नदीमा पानीको बहाव उच्च रहेको उल्लेख गरिएको छ। प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन तथा सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।



