२०८३ भाद्र १०

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न माग

काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले रसुवालगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको बाढीलाई आवश्यकताअनुसार राष्ट्रिय विपद् घोषणा गरी उद्धार, राहत र पुनःस्थापनामा राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै बुर्लाकोटीले बाढीका कारण हजारौँ नागरिक बेपत्ता भएको सूचना आएको बताउँदै जलविद्युत् आयोजना, सुरक्षा निकायका पूर्वाधार, विद्यालय, बस्ती, बजार तथा पुलपुलेसामा ठूलो क्षति पुगेको जानकारी दिए। उनले क्षतिको यकिन विवरण अझै पूर्ण रूपमा प्राप्त नभएकाले विपद्को अवस्था कल्पनाभन्दा बाहिरको रहेको बताए।

उनका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासी पश्चिमलगायतका जिल्लामा बाढीको प्रभाव परेको छ। प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा स्वास्थ्य सेवा पुर्‍याउन उनले सरकारको ध्यानाकर्षण गराए।

बुर्लाकोटीले गोरखाबाट गोसाइँकुण्ड यात्रामा गएका दुई माइक्रोबस र एक बसमध्ये ३६ जना सवार एउटा बस बाढीमा परेको सूचना प्राप्त भएको र त्यसमा मानवीय क्षति भएको जानकारी आफूले पाएको बताए। दोलखाबाट रसुवामा काम गर्न गएका नागरिकसमेत बाढीको चपेटामा परेको सूचना प्राप्त भएको उनको भनाइ थियो।

प्रभावित क्षेत्रका सांसदहरू उद्धार तथा राहत कार्यमा प्रत्यक्ष सहभागी हुने विषयमा छलफल भइरहेको जानकारी दिँदै उनले सरकार, राजनीतिक दल, सरकारी निकाय, विभिन्न संघसंस्था, पूर्वसैनिक तथा पूर्वप्रहरीसहित सबै पक्षलाई उद्धार र राहतमा परिचालन गर्न आग्रह गरे।

बुर्लाकोटीले राष्ट्रिय विपद् कोष सञ्चालन गर्न तथा आवश्यकता र औचित्यका आधारमा राष्ट्रिय विपद् घोषणा गर्नसमेत सरकारसँग माग गरे। साथै, विषम परिस्थितिमा मित्रराष्ट्रको सहयोग लिएर दीर्घकालीन विपद् व्यवस्थापन रणनीति बनाउनुपर्नेमा उनले जोड दिए।

प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयअन्तर्गत छलफल जारी छ।