२०८३ भाद्र १२

भोटेकोशी बाढीपछि ७ बैंकका २७ कर्मचारी सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा कार्यरत सात बैंकका २७ कर्मचारी अझै सम्पर्कविहीन छन्। बुधबार बिहान आएको बाढीपछि उनीहरूसँग सम्पर्क हुन नसकेको नेपाल बैंकर्स संघले जनाएको छ।नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार बिहीबार अबेरसम्म पनि सम्पर्कविहीन कर्मचारीको अवस्था पत्ता लाग्न सकेको छैन। सम्बन्धित बैंक तथा संघको तर्फबाट उनीहरूको खोजी र सम्पर्क प्रयास जारी रहे पनि हालसम्म सफलता प्राप्त हुन नसकेको उनले बताएका छन्।

नौ बैंक शाखामा पूर्ण क्षति

बाढीका कारण विभिन्न बैंकका नौ वटा शाखा कार्यालयमा पूर्ण क्षति पुगेको कोइरालाले बताएका छन्। उनका अनुसार टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा रहेका बैंक शाखाहरू बाढीबाट प्रभावित भएका छन्। सम्पर्कविहीन कर्मचारीमध्ये अधिकांश पनि यही क्षेत्रका शाखामा कार्यरत रहेको बताइएको छ।बाढीबाट बैंकका शाखा कार्यालय, उपकरण तथा अन्य भौतिक संरचनामा ठूलो क्षति भएको आशंका गरिए पनि वास्तविक क्षतिको विवरण भने तत्काल यकिन गर्न सकिएको छैन। प्रभावित क्षेत्रमा पुगेर स्थलगत मूल्याङ्कन गर्न कठिनाइ भएकाले क्षतिको विस्तृत विवरण सङ्कलन हुन बाँकी रहेको संघले जनाएको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७ कर्मचारी सम्पर्कविहीन

सम्पर्कविहीन कर्मचारीमध्ये सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सात जना छन्। माछापुच्छ्रे बैंकका पाँच, सानिमा बैंकका दुई, लक्ष्मी सनराइज बैंकका तीन, हिमालयन बैंकका एक, एनएमबी बैंकका चार र प्रभु बैंकका पाँच जना कर्मचारी सम्पर्कविहीन रहेको कोइरालाले जानकारी दिएका छन्।

सम्बन्धित बैंकहरूले आफ्ना कर्मचारीको अवस्थाबारे जानकारी लिन स्थानीय प्रशासन, सुरक्षा निकाय तथा आफन्तसँग समन्वय गरिरहेका छन्।बाढी प्रभावित शाखाहरूमा लकर तथा भल्ट रहे–नरहेको, भल्टमा कति रकम तथा अन्य महत्वपूर्ण सामग्री थियो र त्यसमा कति क्षति भयो भन्ने विवरणसमेत अहिले यकिन हुन सकेको छैन।प्रभावित क्षेत्रमा पहुँच सहज भएपछि मात्र शाखामा रहेको नगद, कागजात, उपकरण तथा अन्य बैंकिङ सम्पत्तिको वास्तविक क्षतिको मूल्याङ्कन गर्न सकिने संघले जनाएको छ। हाल बैंकहरूले प्रारम्भिक विवरण सङ्कलन तथा प्रमाणीकरण गर्ने काम गरिरहेका छन्।