२०८३ श्रावण २४

सहमति अनुसार लिग गर्न प्रतिबद्ध रहेको भन्दै खेलाडीले गरेको तालाबन्दी खोल्न एन्फाको आग्रह

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित आफ्नो केन्द्रीय कार्यालयमा गरिएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका प्रवक्ता सुरेश शाहले जारी गरेको विज्ञप्तिमा फागुन २४ गते सार्वजनिक बिदाको दिन नेपाल फुटबल खेलाडी संघले कुनै पूर्व जानकारी वा संवादबिना अचानक तालाबन्दी गरेको उल्लेख गरिएको छ । वार्ताको ढोका खुला रहँदा पनि यस प्रकारको कदम चालिएकोप्रति संघले खेद व्यक्त गरेको छ ।

एन्फाका अनुसार शहीद स्मारक ‘ए’ डिभिजन लिग तथा राष्ट्रिय लिग सञ्चालनका विषयमा संघ, सहभागी क्लब र खेलाडी संघबीच निरन्तर संवाद हुँदै आएको बताउदै सहमतिअनुसार राष्ट्रिय लिग सम्पन्न भइसकेको र निर्धारित कार्यतालिका अनुसार राष्ट्रिय लिग समाप्त भएको एक महिनापछि ‘ए’ डिभिजन लिग सुरु गर्ने तयारी भइरहेको संघले उल्लेख गरिएको छ ।

तर कार्यालयमा तालाबन्दी भएपछि दैनिक प्रशासनिक गतिविधि अवरुद्ध भएकोले सहमतिअनुसारका काम अगाडि बढाउन कठिनाइ भएको एन्फाको भनाइ छ ।

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको अन्तिम खेलको टिकटबाट प्राप्त केही रकम खेलाडी कल्याण कोषमा जम्मा गर्ने निर्णयमा संघ प्रतिबद्ध रहेको पनि एन्फाले स्पष्ट पारेको छ । संघका अनुसार वर्तमान कार्यसमितिले घोषणा गरेका सबै पुरस्कार रकम भुक्तानी गरिसकिएको छ । अघिल्ला कार्यसमितिले निर्णय गरेर बाँकी रहेका केही पुरस्कार रकम भने आन्तरिक स्रोत उपलब्धताअनुसार क्रमशः भुक्तानी गर्दै जाने प्रतिबद्धता व्यक्त गरिएको छ ।

तलब तथा भत्ताको विषयमा पनि नियमअनुसार भुक्तानी भइरहेको र आगामी दिनमा पनि सोही व्यवस्था कायम रहने संघले जनाएको छ ।

एन्फाले कार्यालयमा तालाबन्दी गरेर लिग आयोजना गर्न माग गर्नु विरोधाभाषपूर्ण भएको बताएको छ । तालाबन्दीका कारण राष्ट्रिय लिग, एन्फा यू–१८ लिग र एन्फा महिला लिग जस्ता घरेलु प्रतियोगिताका साथै अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी पनि प्रभावित हुन सक्ने संघको भनाइ छ ।

यसले हङकङसँगको मैत्रीपूर्ण खेल, नेपाल र लाओसबिच हुने एएफसी छनोट खेल तथा साफ यू–२० प्रतियोगिताको तयारीमा समेत असर पर्ने एन्फाले जनाएको छ ।

संघले नेपाल फुटबल खेलाडी संघको आह्वानमा केही राष्ट्रिय खेलाडी, राष्ट्रिय लिगमा सहभागी खेलाडी र बाह्य व्यक्तिहरूको सहभागितामा गरिएको तालाबन्दी अनुशासनहीन र अराजक गतिविधि भएको उल्लेख गर्दै तत्काल रोक्न आग्रह गरेको छ ।

एन्फाले आफ्ना माग कार्यान्वयनका लागि सधैं प्रतिबद्ध रहेको भन्दै तालाबन्दी तत्काल खोल्न सम्बन्धित पक्षलाई आह्वान गरेको छ । यदि यसका कारण नेपाली फुटबलका गतिविधि अवरुद्ध भए त्यसको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्ने संघले चेतावनी दिएको छ ।

साथै एन्फाले आफू सार्वजनिक संस्था भएको उल्लेख गर्दै कार्यालयको भौतिक संरचनाको सुरक्षा र दैनिक गतिविधि सञ्चालनका लागि शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन नेपाल सरकार र सम्बन्धित सुरक्षा निकायसँग आग्रह गरेको छ ।

Read More

टी- २० विश्वकपको उपाधिका लागि आज भारत र न्युजील्यान्ड आमने सामने

काठमाडौँ । जारी टी- २० विश्वकप २०२६ को उपाधिका लागि आज भारत र न्युजील्यान्ड आमने सामने हुदैछन् । यो खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ ।

दुवै टोली उपाधिबाट एक कदम मात्र टाढा रहेका कारण फाइनल खेल निकै रोचक हुने अपेक्षा गरिएको छ । प्रतियोगिताभर भारतको ब्याटिङ निकै प्रभावशाली देखिएको छ भने न्युजील्यान्डका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् । त्यसैले फाइनलमा बलियो ब्याटिङ र अनुशासित बलिङबीचको रोचक प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ।

भारतका लागि सञ्जु सामसन र इशान किशन उत्कृष्ट लयमा देखिएका छन् । सामसनले चार खेलमा २३२ रन बनाएका छन् भने किशनले आठ खेलमा २६३ रन जोडिसकेका छन् । टोलीका कप्तान सूर्यकुमार यादवले पनि २४२ रन बनाएका छन् । यस्तै हार्दिक पाण्ड्याले अलराउण्ड प्रदर्शन गर्दै ब्याटबाट १९९ रन बनाउनुका साथै बलिङतर्फ आठ विकेट लिएका छन् । तिलक वर्मालाई अन्तिम क्रममा ब्याटिङ गराउने निर्णय पनि टोलीका लागि लाभदायक बनेको छ ।

तर भारतका लागि बलिङ भने चिन्ताको विषय बनेको छ । जसप्रित बुमराह बाहेक अन्य बलरहरू अपेक्षाअनुसार प्रभावकारी देखिएका छैनन् । बुमराहले सात खेलमा १० विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका छन् । अर्शदीप सिंहको प्रदर्शन भने उतारचढावपूर्ण देखिएको छ भने वरुण चक्रवर्तीबाट पनि अपेक्षित सफलता मिल्न सकेको छैन ।

यता न्युजील्यान्डको सबैभन्दा बलियो पक्ष बलिङ रहेको छ। म्याट हेनरी र लोकी फर्ग्युसनको तीव्र बलिङले विपक्षी ब्याटरलाई निकै दबाबमा पारेको छ । कप्तान मिचेल स्यान्टनरले किफायती बलिङ गर्दै रनको गति नियन्त्रण गरेका छन् भने रचिन रविन्द्रले स्पिन बलिङबाट विकेट निकाल्दै टोलीलाई महत्वपूर्ण सफलता दिलाएका छन् । रविन्द्रले प्रतियोगितामा ११ विकेट लिइसकेका छन् ।

न्युजील्यान्डको ब्याटिङतर्फ शीर्ष क्रममा रहेका टिम सिफर्ट र फिन एलेन उत्कृष्ट लयमा छन्। सिफर्टले सात खेलमा २७४ रन बनाएका छन् भने एलेनले २८९ रन जोडेका छन् । उनले सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध ३३ बलमा शतक प्रहार गर्दै आफ्नो आक्रामक क्षमता देखाएका थिए ।

फाइनल खेलको नतिजा धेरै हदसम्म भारतको बलियो ब्याटिङले न्युजील्यान्डको अनुशासित बलिङविरुद्ध कस्तो प्रदर्शन गर्छ भन्नेमा निर्भर रहने देखिन्छ । यदि भारतीय ब्याटरहरूले सुरुदेखि नै आक्रामक रूपमा रन बनाउन सके खेलमा भारतको पकड बलियो हुन सक्छ । तर न्युजिल्यान्डका बलरहरूले सुरुवाती विकेट लिन सफल भए खेलको दिशा बदलिन पनि सक्छ ।

समग्रमा हेर्दा अहमदाबादमा हुने फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। भारत लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा हुनेछ भने न्युजील्यान्ड पहिलोपटक यो उपाधि जित्ने प्रयासमा मैदान उत्रनेछ ।

सम्भावित प्लेइङ ११:

भारत: संजु सामसन (विकेटकिपर), अभिषेक शर्मा, इशान किशन, सूर्यकुमार यादव (कप्तान), शिवम दुबे, तिलक वर्मा, हार्दिक पाण्ड्या, अक्षर पटेल, वरुण चक्रवर्ती, जसप्रीत बुमराह र अर्शदीप सिंह ।
न्यूजील्याण्ड: टिम सेफर्ट (विकेटकिपर), फिन एलेन, रचिन रवीन्द्र, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, डेरिल मिचेल, जेम्स नीशम, मिचेल स्यान्टनर (कप्तान), कोल म्याककोन्ची, म्याट हेनरी र लकी फर्गुसन । 

Read More

टी-२० विश्वकपको सुपर आठका अन्तिम दुई खेल आज हुदै

काठमाडौं । आज जारी आइसीसी टी-२० विश्वकपको सुपर आठका अन्तिम दुई खेल हुदैछन् । सुपर आठको समुह १ का दक्षिण अफ्रिका र जिम्बाबे तथा भारत र वेस्ट इन्डिजबीच आज खेल हुदैछ ।

आज पहिलो खेल भारतको दिल्लीमा दक्षिण अफ्रिका र जिम्बाबेबीच नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि हुदैछ । दक्षिण अफ्रीका यस समुहबाट सेमिफाइनलमा पुगिसकेको छ भने जिम्बाबे सेमिफाइनलको दौडबाट बाहिरिइसकेकोले यस खेलको नतिजाले कुनै प्रभाव भने पार्ने छैन ।

त्यस्तै दोस्रो खेल यसै समुहका भारत र वेस्ट इन्डिजबीच भारको कोलकोताको इडेन गार्डेनमा नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि हुनेछ ।

यो खेल दुवै देशका लागि जित्नै पर्ने अवस्था रहेको छ । दुवैले २-२ खेलमा एक एक खेल जितेर २-२ अंक हासिल गरेका छन् र रनरेटको आधारमा वेस्ट इन्डिज दोस्रो स्थानमा रहेको छ । वर्षाले खेल हुन नसके वा अन्य कारणले खेल रद्ध भएर अंक बाड्नुपर्ने अवस्था आएमा वेस्ट इन्डिज सेमिफाइनलमा पुग्ने छ भने भारतका लागि यो खेल जित्नै पर्ने अवस्था रहेको छ ।

Read More

लामिन यमलको ह्याट्रिकमा बार्सिलोना विजयी

काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत भिल्ला रियललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भिल्ला रियललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा लामिन यमलले ह्याट्रिक गरेका थिए । यो यमलको पहिलो ह्याट्रिक हो । त्यस्तै एक गोल रोबेर्ट लेवानडोस्कीले गरेका थिए ।

यो जितपछि बार्सिलोनाको ला लिगामा २६ खेलमा ६४ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा ४ अंकले अगाडी भएको छ । रियल म्याड्रिडले बार्सिलोनाले भन्दा एक खेल कम खेलेको छ ।

त्यस्तै भिल्ला रियलको २६ खेलमा ५१ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

Read More

टी-२० विश्वकपको सुपर आठमा आज पाकिस्तान र न्यूजील्याण्ड आमने सामने

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत आजदेखि सुपर आठका खेल शुरु हुदैछन् । सुपर आठको पहिलो खेलमा आज पाकिस्तान र न्यूजील्याण्डबीच भिडन्त हुदैछ ।

श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ । दुवै टोलीमा अनुभवी तथा प्रभावशाली टी-२० खेलाडीहरूको उपस्थिति रहेकाले खेल बराबरीको प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

समुह चरणमा पाकिस्तानले भारतसँग हार बेहोरेको थियो भने न्यूजील्याण्डले दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो ।

श्रीलङ्काको पिच अवस्थाबारे राम्रो अनुभव रहेको कारण पाकिस्तान आत्मविश्वासमा देखिएको छ । टोलीले स्पीन बलिङलाई प्राथमिकता दिँदै सन्तुलित आक्रमण तयार पारेको छ, जसले समूह चरणमा राम्रो नतिजा दिएको थियो । मध्य ओभरमा खेल नियन्त्रण गर्ने योजनासहित पाकिस्तान मैदान उत्रने तयारीमा छ । यद्यपी पाकिस्तानको स्पीन बलिङ भारतविरुद्ध भने प्रभावकारी बन्न सकेको थिएन ।   ब्याटिङतर्फ सुरुवाती क्रमबाट तीव्र रन बनाउने रणनीति अपनाइने संकेत देखिएको छ ।

साहिबजादा फरहान र सलमान अली आघाजस्ता खेलाडीले सुरुदेखि नै दबाब सिर्जना गर्ने लक्ष्य लिएका छन् । पाकिस्तानका प्रमुख खेलाडीमा साहिबजादा फरहान र उस्मान तारिक देखिएका छन् ।  नामीबियाविरुद्ध शतक प्रहार गरेपछि फरहान उत्कृष्ट लयमा छन् । आक्रामक सुरुवात दिलाउने क्षमताका कारण उनी फेरि पनि टोलीका लागि निर्णायक बन्न सक्छन् । त्यस्तै यस प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेका उस्मान तारिक मध्य ओभरका मुख्य हतियार मानिन्छन् । उनको विविधता र विकेट लिने क्षमताले खेलको दिशा बदल्न सक्छ ।

त्यस्तै न्युजील्याण्डले यस प्रतियोगितामा आफ्नो बलियो ब्याटिङ लाइनअपमा भर गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ । तर कोलम्बोको पिचमा आक्रामक खेल सजिलो नहुने भएकाले मध्य ओभरमा संयमित ब्याटिङ आवश्यक हुनेछ । ठूलो योगफल बनाउनेभन्दा खेल अन्तिमसम्म तान्ने रणनीति अपनाइने सम्भावना छ । बलिङतर्फ न्युजिल्याण्डसँग पनि प्रभावशाली स्पिनर तथा तीव्र गतिका बलर छन्, जसले पाकिस्तानका ब्याटरलाई दबाबमा राख्ने प्रयास गर्नेछन् । न्युजिल्याण्डका प्रमुख खेलाडीमा फिन एलन र लकी फर्ग्युसनलाई मान्न सकिन्छ । पावरप्लेमा आक्रामक सुरुवात दिलाउने एलन न्युजिल्याण्डका मुख्य हतियार हुन् । उनको छिटो रनले टोलीलाई बलियो आधार दिन सक्छ । त्यस्तै तीव्र गतिका बलर फर्ग्युसन सुरुवाती विकेट लिन सक्षम छन्। पिचअनुसार गति र विविधता प्रयोग गर्न सक्ने क्षमताले उनलाई पाकिस्तानका ब्याटरका लागि चुनौतीपूर्ण बनाउँछ ।

सम्भावित टोली
पाकिस्तान: साहिबजादा फरहान, साइम अयूब, सलमान आघा (कप्तान), बाबर आजम, उस्मान खान (विकेटकिपर), अबरार अहमद, शादाब खान, मोहम्मद नवाज, फहीम अशरफ, शाहिन अफ्रिदी र उस्मान तारिक ।

न्युजील्याण्ड: फिन एलन, टिम सिफर्ट (विकेटकिपर), रचिन रविन्द्र, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, ड्यारिल मिचेल, मिचेल सान्टनर (कप्तान), जेम्स नीशाम, म्याट हेनरी, लकी फर्ग्युसन र ज्याकोब डफी ।

सुपर आठ चरणको यो महत्वपूर्ण भिडन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । पाकिस्तानले स्पिन आक्रमणमार्फत खेल नियन्त्रण गर्ने प्रयास गर्नेछ भने न्युजील्याण्डले आक्रामक ब्याटिङमार्फत ठूलो चुनौती प्रस्तुत गर्ने लक्ष्य राखेको छ । दुवै टोली उत्कृष्ट तयारीका साथ मैदान उत्रने भएकाले दर्शकले उच्चस्तरीय खेलको आनन्द लिन पाउने अपेक्षा गरिएको छ ।

Read More

टी-२० विश्वकपमा सुपर आठका खेल आजदेखि, यस्तो छ तालिका

काठमाडौँ । जारी टी-२० विश्वकपका लागि सुपर आठका खेल आजदेखि शुरु हुदैछन् । यस प्रतियोगितामा २० टोलीहरूले भाग लिएका थिए, प्रत्येक पाँच जनाको चार समूहमा विभाजित गरिएको थियो । 

सुपर ८ मा १२ खेलहरू हुनेछन्, जसमा तीन दिन डबल हेडरहरू हुनेछन् । सुपर ८ चरणमा, चार टोलीका दुई समूह बनाइएको छ । प्रत्येक टोलीले आफ्नो समूहमा एकअर्का विरुद्ध तीन खेल खेल्नेछन् । यसको अर्थ प्रत्येक समूहमा छ खेल हुनेछन् । यसरी, दुवै समूहमा १२ खेल खेलाइनेछ । प्रत्येक समूहबाट शीर्ष दुई टोलीहरू अर्को चरणमा जानेछन् । सुपर ८ चरणमा फेब्रुअरी २२ र २६ मा दुई-दुई खेल हुनेछन्, जसमा मार्च १ मा एक-एक खेल हुनेछ। बाँकी दिनहरू, फेब्रुअरी २० देखि २८ सम्म, एक-एक खेल हुनेछन् ।

पहिलो सेमिफाइनल मार्च ४ मा खेलिनेछ, जबकि दोस्रो सेमिफाइनल मार्च ५ मा वानखेडे स्टेडियममा खेलिनेछ । विजेता टोलीले मार्च ८ मा फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

फेब्रुअरी ७ मा सुरु भएको प्रतियोगिताको सुपर ८ चरण आजदेखि सुरु हुदैछन् ।  आज सुपर आठको पहिलो खेल न्युजील्याण्ड र पाकिस्तान बीच खेलिदै छ । त्यस्तै फेब्रुअरी २२ मा श्रीलंका र इङल्याण्ड तथा भारत र दक्षिण अफ्रीका खेल्ने छन् भने  फेब्रुअरी २३ मा जिम्बाबे र वेस्ट इण्डिज खेल्ने छन् ।  त्यसैगरी फेब्रुअरी २४ मा इङल्याण्ड र पाकिस्तान, फेब्रुअरी २५ मा श्रीलंका र न्युजील्याण्ड, फेब्रुअरी २६ मा वेस्ट इण्डिज र दक्षिण अफ्रीका तथा भारत र जिम्बाबे खेल्ने छन् ।

त्यस्तै फेब्रुअरी २७ मा इङल्याण्ड र न्यूजील्याण्ड, फेब्रुअरी २८ मा श्रीलंका र पाकिस्तान, मार्च १ मा जिम्बाबे र दक्षिण अफ्रिका तथा भारत र वेस्ट इन्डिज खेल्ने तालिका रहेको छ ।

यस विश्वकपमा सहभागी २० टोलीलाई पाँच-पाँच टोलीका चार समूहमा विभाजन गरिएको थियो । समूह ए बाट भारत र पाकिस्तान छनोट भए। समूह बी बाट श्रीलंका र जिम्बाब्वे छनोट भए। समूह सी बाट इङ्गल्याण्ड र वेस्ट इन्डिज अर्को चरणमा पुगे। समूह डी बाट न्युजिल्याण्ड र दक्षिण अफ्रिका सुपर ८ मा पुगे । अष्ट्रेलिया, आयरल्याण्ड, ओमान, स्कटल्याण्ड, इटाली, नेपाल, अफगानिस्तान, युएई, नामिबिया, संयुक्त राज्य अमेरिका, नेदरल्याण्ड्स र क्यानडा लिग चरणबाटै बाहिरिएका छन् ।

Read More

टी-२० विश्वकपमा आज तीन खेल हुदै

काठमाडौं । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुदैछन् ।

आज पहिलो खेल समुह डी अन्तर्गत अफगानिस्तान र युएई खेल्दैछन् । भारतको दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा अफगानिस्तानले आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने युएईले २ खेलमा एक खेल जितेको छ ।

त्यस्तै आज दोस्रो खेल समुह सी अन्तर्गतको इङल्याण्ड र इटालीबीच हुने छ । भारतको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि शुरु हुने छ । जारी विश्वकपमा इङल्याण्डले ३ मध्ये २ खेल जितेको छ भने इटालीले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

त्यसैगरी आज तेस्रो खेल समुह बी अन्तर्गत अस्ट्रेलिया र श्रीलंकाबीच हुदैछ । श्रीलंकाको पल्लेकेलेमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हदैछ । जारी विश्वकपमा श्रीलंकाले आफ्ना दुवै खेल जितेको छ भने अस्ट्रेलियाले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

Read More

विश्वकपमा भारतको शानदार जित, पाकिस्तान ६१ रनले पराजित

काठमाडौं । भारतले पाकिस्तानलाई पराजित गरेको छ । जारी टी-२० विश्वकप अन्तर्गत समुह ए को आइतबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६१ रनले पराजित गरेको हो ।

भारतले दिएको १७६ रनको लक्ष्य पछाएको पाकिस्तान १८ ओभरमा अल आउट हुदै ११४ रन बनाएको हो । पाकिस्तानका लागि उसमान खानले सर्बाधिक ४४ रन बनाए भने शाहिन शाह अफ्रिदीले अविजित २३ रन बनाएका थिए । त्यस्तै शडाब खानले १४ रन बनाए भने फाहिम अशरफले १० रन बनाएका थिए ।

त्यस्तै भारतीय बलर हार्दिक पाण्डेय, जसप्रित बुमराह, अक्सर पटेल र वरुण चक्रवर्तीले २-२ विकेट लिएका थिए । त्यस्तै कुलदीप यादव र तिलक बर्माले एक एक विकेट लिएका थिए ।       

यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । भारतका लागि इशान किशनले सर्बाधिक ७७ रन बनाए भने कप्तान सुर्य कुमार यादवले ३२, तिलक बर्माले २५, शिभम दुवेले २७ र रिंकु सिंहले अविजित ११ रन बनाए । त्यस्तै पाकिस्तानका बलर सैम आयुबले ३ विकेट लिए भने सलमान आघा, शाहिन शाह अफ्रिदी र उस्मान तारिकले एक एक विकेट लिए ।

यो जितपछि भारतले लगातार तीन खेलमा जित हासिल गरेर ६ अंक हासिल गर्दै सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै पाकिस्तानको भने ३ खेलमा ४ अंक रहेको छ र समुह ए मा तेस्रो स्थानमा झरेको छ ।

अब समुह चरणको अन्तिम खेलमा पाकिस्तानले बुधबार नामिबियाको सामना गर्ने छ भने भारतले बुधबार नै नेदरल्याण्डसको सामना गर्ने छ ।

Read More

महिला एशिया कप राइजिंग स्टार्समा नेपाल पाकिस्तान ए सँग पराजित

काठमाडौँ । नेपाल महिला क्रिकेट एशिया कप राइजिंग स्टार्स प्रतियोगितामा पाकिस्तान ए सँग पराजित भएको छ ।

शुक्रबार सम्पन्न खेलमा नेपाल पाकिस्तान ए सँग ३० रनले पराजित भएको हो । पाकिस्तान ए ले दिएको १३८ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १०७ रन बनाएको थियो ।

नेपालका लागि बिन्दु रावलले सर्बाधिक ३९ रन बनाएकी थिइन् भने कविता कुँवरले १८ रन बनाएकी थिइन् । यस अघि पहिला ब्याटिंग गरेको पाकिस्तान ए ले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनाएको थियो ।

नेपालले अब दोस्रो खेल फेब्रुअरी १५ मा युएईसँग र फेब्रुअरी १७ मा भारत ए सँग खेल्ने तालिका रहेको छ ।

Read More

बराबरीमा रोकियो आर्सनल

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा आर्सनल ब्रेन्टफोर्डसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

यस खेलमा आर्सनलका लागि नोनी माडुएकेले गोल गरेका थिए भने ब्रेन्टफोर्डका लागि कीन लेविस पोटरले एक गोल गरेका थिए ।

यो बराबरीपछि आर्सनलको २६ खेलमा ५७ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै ब्रेन्टफोर्डको २६ खेलमा ४० अंक भएको छ र लिगमा सातौं स्थानमा रहेको छ ।

Read More