२०८३ कार्तिक ८

अर्जेन्टिनाबाट मेस्सीको भावुक बिदाइ, बेनिनविरुद्ध ३–० को जित

काठमाडौं ।  लियोनेल मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट भावुक बिदाइ लिएका छन्। ८५ हजारभन्दा बढी दर्शक उपस्थित ब्युनस आयर्सको मोनुमेन्टल स्टेडियममा बेनिनलाई ३–० ले हराउँदै मेस्सीले २१ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रालाई टुंग्याएका हुन्।

३९ वर्षीय मेस्सीले आफ्नो २०८औँ अन्तर्राष्ट्रिय खेलमा १२६औँ गोल गर्दै बिदाइलाई विशेष बनाए। उनले निकोलस ओटामेन्डीको गोलमा सहयोग गरे भने निको पाजले पनि एक गोल थपे। मेस्सीले ७१औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। खेलपछि उनले अर्जेन्टिनाको जर्सी लगाएर दुई दशकभन्दा बढी खेल्न पाउनु आफ्नो जीवनकै ठूलो गौरव भएको बताए।

मेस्सीको बिदाइलाई विशेष बनाउन समर्थकले भव्य कार्यक्रम आयोजना गरेका थिए। मैदानमा उनको १० नम्बरको जर्सीप्रति सम्मान जनाउँदै खेलको १०औँ मिनेटमा ताली बजाइएको थियो। अन्तिम सिठ्ठीपछि ड्रोनमार्फत आकाशमा उनको तस्बिर देखाइएको थियो। मेस्सी आफ्ना तीन सन्तानसँग मैदान प्रवेश गर्दा भावुक देखिएका थिए।

मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले २०२२ को विश्वकप, २०२१ र २०२४ कोपा अमेरिका जितेको थियो। उनी सन् २०१४ र २०२६ को विश्वकपमा अर्जेन्टिनालाई उपविजेता बनाउने टोलीका प्रमुख खेलाडीसमेत थिए। हाल इन्टर मियामीमा रहेका मेस्सीको राष्ट्रिय टोलीबाट बिदाइसँगै अर्जेन्टिनाको जर्सीमा उनको २१ वर्षे यात्रा औपचारिक रूपमा समाप्त भएको छ।

Read More

थाइल्यान्डलाई हराउँदै एसियाली खेलकुदमा नेपालको विजयी सुरुआत

काठमाडौँ । नेपाली महिला कबड्डी टोलीले २०औँ एसियाली खेलकुदमा थाइल्यान्डलाई ४६–४३ ले हराउँदै विजयी सुरुआत गरेको छ।

टोकाई सिटिजेन जिम्नाजियममा मंगलबार भएको समूह ‘बी’को खेलमा नेपाल पहिलो हाफमा २४–१५ ले पछि परेको थियो। कमजोर डिफेन्सका कारण नेपाल दुईपटक अलआउटसमेत भएको थियो।

दोस्रो हाफमा उत्कृष्ट पुनरागमन

दोस्रो हाफमा रणनीति परिवर्तन गर्दै नेपालले खेलमा फर्किएको हो। डिफेन्समा सुधार गरेपछि नेपालले थाइल्यान्डलाई दुईपटक अलआउट गर्‍यो। खेल सकिन तीन मिनेट बाँकी हुँदा नेपालले ३९–३९ को बराबरी गरेको थियो।

त्यसपछि लगातार अंक जोड्दै नेपालले ४६–४३ को जित निकालेको हो। नेपालको जितमा रबिना चौधरीले प्रभावशाली प्रदर्शन गरिन्।

समूह ‘बी’मा नेपालसँगै थाइल्यान्ड, श्रीलंका र चाइनिज ताइपेइ छन्। नेपालले आफ्नो दोस्रो खेल बुधबार चाइनिज ताइपेइसँग खेल्नेछ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

Read More

हङकङद्वारा नेपाललाई २६२ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन बनाएको हो।

हङकङका लागि बाबर हायतले उत्कृष्ट अविजित शतकीय पारी खेल्दै ११७ रन बनाए। उनले १२६ बलमा ७ चौका र ७ छक्का प्रहार गरे। हायतले ईशान खानसँग आठौँ विकेटका लागि १२८ रनको अविजित साझेदारी गर्दै टोलीको स्कोर बलियो बनाउन महत्वपूर्ण भूमिका खेले। ईशान खान ३५ रनमा अविजित रहे।

तेस्रो क्रममा ब्याटिङ गर्न आएका हायतले एकतर्फ लगातार विकेट गइरहे पनि धैर्यपूर्वक पारी सम्हाल्दै हङकङलाई बलियो योगफलतर्फ डोर्याए। ओपनर जिसन अलीले १५ तथा अंशुमान रातले १३ रन बनाए भने साहिदवासीले ४५ रनको योगदान दिए।

नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। शेर मल्लले ३ विकेट हात पारे। नेपालका अन्य चार बलर भने विकेटविहीन रहे।

प्रतियोगितामा नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा मलेसियामाथि ६ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा साउदी अरेबियासँग प्रतिस्पर्धा गरेको थियो। आजको खेल नेपालका लागि समूह चरणको अन्तिम खेल हो।

Read More

मलेसियाले नेपाललाई दियो १०४ रनको लक्ष्य, करण केसीको उत्कृष्ट बलिङ

काठमाडौं । एसिसी प्रिमियर कपको दोस्रो खेलमा मलेसियाले नेपालसामु १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ । बाङ्गीस्थित यूकेएम वाईएसडी ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमा अलआउट भएको हो ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका अनुभवी तीव्र गतिका बलर करण केसीले उत्कृष्ट प्रदर्शन गरे । उनले ७.३ ओभरमा २ मेडनसहित २३ रन खर्चेर ४ विकेट लिए ।

मलेसियाका लागि कप्तान सैद अजिजले सर्वाधिक ३० रन बनाए । उनले ४९ बलमा २ चौका र २ छक्का प्रहार गरे । ओपनर सैफउल्लाह मलिक ९ र नाज्मुस सकिब ३ रनमै आउट भए । अकिल वहिदले २४, मोहम्मद सदाकतले १३ तथा विरनदिप सिंहले १४ रन बनाए ।

नेपालका लागि ललित राजवंशीले २ विकेट लिए भने हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान १ विकेट लिए ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो ।

Read More

नेपाल ‘ए’ले आज अष्ट्रेलियन क्यापिटल टेरिटोरीसँग खेल्दै

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ले आज अष्ट्रेलियन क्यापिटल टेरिटोरीसँग प्रतिस्पर्धा गर्दैछ। डार्विनस्थित मर्रारा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ।

नेपाल आज प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ। प्रतियोगिताको पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ८ विकेटले र दोस्रो खेलमा बंगालदेश हाइप्रफरमेन्स–११ सँग ९ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा होबर्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको थियो।

अष्ट्रेलियन क्यापिटल टेरिटोरीले प्रतियोगितामा खेलेका तीनवटै खेलमा पराजय बेहोरेको छ। त्यसैले नेपाल ‘ए’लाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यका साथ टोली मैदान उत्रनेछ।

नेपाल तीन खेलबाट दुई अंक जोड्दै अंक तालिकाको सातौँ स्थानमा रहेको छ। अष्ट्रेलियन क्यापिटल टेरिटोरी भने तीनवटै खेलमा पराजित हुँदै अंकविहीन अवस्थामा नवौँ स्थानमा रहेको छ।

Read More

ला लिगामा बार्सिलोनाको शानदार सुरुवात, इल्चेविरुद्ध ५–० को जित

काठमाडौं। स्पेनिस ला लिगाको नयाँ सिजनमा क्याटलान क्लब बार्सिलोनाले शानदार सुरुवात गरेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै लिगमा विजयी सुरुवात गरेको हो।

इस्टाडियो मानुएल मार्टिनेज भालेरोमा भएको खेलमा बार्सिलोनाको जितमा राफिन्हा र फेर्मिन लोपेजले समान दुई गोल गरे भने क्रिम अडेयेमीले एक गोल थपे। खेलको १४औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए।

पहिलो हाफको इन्जुरी समयमा क्रिम अडेयेमीले गोल गर्दै बार्सिलोनाको अग्रता २–० मा पुर्‍याए। दोस्रो हाफमा पनि बार्सिलोनाले आक्रामक खेललाई निरन्तरता दियो। खेलको ६७औँ मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ३–० बनाए।

त्यसको चार मिनेटपछि अर्थात् ७१औँ मिनेटमा फेर्मिन लोपेजले गोल गर्दै बार्सिलोनालाई ४–० को अग्रता दिलाए। खेलको ७९औँ मिनेटमा लोपेजले व्यक्तिगत दोस्रो गोल थपेपछि बार्सिलोनाले ५–० को फराकिलो जित सुनिश्चित गरेको हो।

यस जितसँगै बार्सिलोनाले ला लिगाको नयाँ सिजनमा महत्वपूर्ण तीन अंक जोडेको छ। टोलीले पहिलो खेलमै प्रभावशाली प्रदर्शन गर्दै उपाधि यात्राको बलियो संकेत दिएको छ।

Read More

नेपाल ‘ए’ टोली अष्ट्रेलिया प्रस्थान

काठमाडौं। टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान गरेको छ। १५ सदस्यीय नेपाली टोली गएराति अष्ट्रेलियातर्फ प्रस्थान गरेको हो। नेपाल क्रिकेट संघ (क्यान)ले सिरिजका लागि छनोट भएको टोलीलाई आइतबार बिदाइ गरेको थियो। अष्ट्रेलिया भ्रमणका क्रममा नेपाल ‘ए’ टोलीको कप्तानी अनिलकुमार साहले गर्नेछन्।

भदौ ५ गतेदेखि सुरु हुने टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ ले पहिलो खेल नर्दन टेरिटोरी स्ट्राइकसँग खेल्नेछ। त्यसपछि भदौ ६ गते बङ्गलादेश हाई पर्फर्मेन्स, भदौ ८ गते होबार्ट हरिकेन्स एकेडेमी, भदौ १० गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ ११ गते हैदरावाद किङ्समेन एकेडेमी र भदौ १३ गते भिक्टोरिया सीए–११ विरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ।

अष्ट्रेलिया भ्रमणका क्रममा नेपाल ‘ए’ ले टी–२० सिरिजसँगै विभिन्न टोलीसँग एकदिवसीय अभ्यास खेलसमेत खेल्नेछ। क्यानका अनुसार नेपाली टोलीले न्युजिल्यान्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलियाविरुद्ध अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ।

विदेशी टोलीसँग प्रतिस्पर्धा गर्ने अवसरले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव हासिल गर्न तथा आफ्नो क्षमता प्रदर्शन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। अष्ट्रेलिया भ्रमणलाई आगामी प्रतियोगिताका लागि खेलाडीको तयारी तथा प्रदर्शन मूल्याङ्कनका दृष्टिले समेत महत्वपूर्ण मानिएको छ।

Read More

विश्व च्याम्पियन बनेको स्पेनले पुरस्कार रकममा पनि रच्यो इतिहास

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि स्पेनले जितेको छ। न्युयोर्कस्थित मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गर्दै स्पेनले आफ्नो दोस्रो विश्वकप उपाधि चुमेको हो।

निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका फरवार्ड फेरान टोरेसले १०६औं मिनेटमा निर्णायक गोल गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाएका हुन्।

यो हारसँगै लियोनल मेस्सीको नेतृत्वमा लगातार दोस्रो पटक विश्वकप जित्ने अर्जेन्टिनाको सपना अधुरै रह्यो। उता, मेस्सीले आफ्नो सम्भावित अन्तिम विश्वकप प्रतियोगिता उपविजेताका रूपमा टुंग्याएका छन्।

खेलको समापन समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँगै मैदानमा उपस्थित भएर विजेता टोली स्पेनलाई विश्वकप ट्रफी प्रदान गरेका थिए।

विश्वकप २०२६ मा पुरस्कार रकममा ठूलो वृद्धि

फिफाले २०२६ को विश्वकपका लागि पुरस्कार रकममा ठूलो वृद्धि गर्दै नयाँ रेकर्ड कायम गरेको छ। यसपटक प्रतियोगिताको च्याम्पियन बनेको स्पेनले ट्रफी र च्याम्पियनसिपको औंठीसँगै ५ करोड १० लाख अमेरिकी डलर (५१ मिलियन) प्राप्त गर्नेछ।

यो रकम सन् २०२२ को कतार विश्वकप विजेता अर्जेन्टिनाले प्राप्त गरेको ४ करोड २० लाख अमेरिकी डलरभन्दा बढी हो।

फिफाले यसपटक ४८ सहभागी टोलीका लागि संयुक्त रूपमा ८७ करोड १० लाख अमेरिकी डलर भुक्तानी गरेको छ। युरोपेली संघहरूको पैरवीपछि प्रतियोगिताको खर्च धान्न अप्रिलमा थप १० करोड डलरभन्दा बढी रकम जोडिएको थियो।

यद्यपि, ५ करोड १० लाख डलर ठूलो रकम देखिए पनि विश्व फुटबलमा खर्च हुने अन्य रकमको तुलनामा यो कम रहेको बताइएको छ। उदाहरणका लागि, यो रकम इङ्लिस क्लब ब्राइटनले १९ वर्षीय डिफेन्डर लुका भुस्कोभिचलाई तिरेको स्थानान्तरण शुल्कभन्दा पनि कम हो।

यस्तो छ विश्वकप २०२६ को पुरस्कार रकम

स्थान/चरणटोली वा विवरणपुरस्कार रकम
विजेतास्पेन५ करोड १० लाख अमेरिकी डलर (५१ मिलियन)
उपविजेताअर्जेन्टिना३ करोड ४० लाख अमेरिकी डलर (३४ मिलियन)
तेस्रो स्थानइंग्ल्याण्ड३ करोड अमेरिकी डलर (३० मिलियन)
चौथो स्थानफ्रान्स२ करोड ८० लाख अमेरिकी डलर (२८ मिलियन)
क्वार्टरफाइनल पुग्ने टिमस्विट्जरल्याण्ड, नर्वे, बेल्जियम, मोरक्कोप्रति टिम २ करोड अमेरिकी डलर (२० मिलियन)
प्रि-क्वार्टरफाइनल (१६औं चरण)कोलम्बिया, इजिप्ट, संयुक्त राज्य अमेरिका, पोर्चुगल, मेक्सिको, ब्राजिल, पाराग्वे र क्यानडाप्रति टिम १ करोड ६० लाख अमेरिकी डलर (१६ मिलियन)
अन्तिम ३२ (राउन्ड अफ ३२)घाना, अल्जेरिया, अष्ट्रेलिया, केप भर्डे, अस्ट्रिया, क्रोएसिया, बोस्निया र हर्जगोभिना, सेनेगल, डीआर कंगो, इक्वेडर, स्वीडेन, आइभरी कोस्ट, नेदरल्याण्ड्स, जर्मनी, जापान र दक्षिण अफ्रिकाप्रति टिम १ करोड २० लाख अमेरिकी डलर (१२ मिलियन)
समूह चरणउरुग्वे, स्कटल्याण्ड, दक्षिण कोरिया, इरान, उज्बेकिस्तान, इराक, साउदी अरेबिया, कुराकाओ, चेक गणराज्य, कतार, पानामा, जोर्डन, ट्युनिसिया, न्युजिल्याण्ड, हाइटी र टर्कीप्रति टिम १ करोड अमेरिकी डलर (१० मिलियन)

प्रतियोगितामा सहभागी हुने सबै ४८ राष्ट्रिय संघले कम्तीमा १ करोड २५ लाख डलर पाएका छन्। यसमा छनोट र समूह चरणमा खेल्दा आउने १ करोड डलर तथा प्रतियोगितापूर्व प्रशिक्षण र खर्चका लागि दिइने २५ लाख डलर पनि समावेश छ।

यसबाहेक, फिफाले प्रत्येक संघलाई ५० जनाको प्रतिनिधिमण्डलका लागि व्यापार-वर्गको फिर्ता उडान, होटल बसाइ, घरेलु यात्राको लागत र सवारी साधनहरूको व्यवस्थापनसमेत बेहोरेको छ।

तर, फिफाले यो रकम खेलाडीहरूलाई सिधै नभई सम्बन्धित फुटबल संघहरूलाई भुक्तानी गर्नेछ। सम्बन्धित संघहरूले आफ्नो आन्तरिक नियमअनुसार यो रकम व्यवस्थापन गर्नेछन्।

प्रतियोगिताको अन्तिम सिट्टी बजेसँगै विजेता टोली स्पेनले मैदानमा मुख्य ट्रफी उचालेर उत्सव मनाएको छ। तर, मूल ट्रफी भने स्थायी रूपमा प्रदान नगरिने भएकाले विजेताहरूलाई सुनको जलप लगाइएको प्रतिकृति प्रदान गरिएको छ, जुन उनीहरूले आफैंसँग राख्न पाउनेछन्।

(एजेन्सीको सहयोगमा)

Read More

एम्बाप्पेको विश्वकपमा नयाँ कीर्तिमान, दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी

काठमाडौं । फ्रान्सका कप्तान तथा स्टार खेलाडी किलियन एम्बाप्पेले विश्वकप फुटबलमा दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। सन् २०२६ को फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक १० गोल गरेका एम्बाप्पेले गोल्डेन बुट जितेका छन्।

यससँगै एम्बाप्पे विश्वकप इतिहासमा दुई पटक गोल्डेन बुट जित्ने पहिलो पुरुष खेलाडी बनेका छन्। उनले यसअघि सन् २०२२ को कतार विश्वकपमा ८ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड हात पारेका थिए। लगातार दुई विश्वकप संस्करणमा गोल्डेन बुट जितेर उनले नयाँ इतिहास रचेका हुन्।

२७ वर्षीय एम्बाप्पेले एकै विश्वकपमा १० वा त्यसभन्दा बढी गोल गर्ने लामो समयदेखिको कीर्तिमान पनि दोहोर्‍याएका छन्। सन् १९७० को विश्वकपमा पश्चिम जर्मनीका गर्ड मुलरपछि यस्तो उपलब्धि हासिल गर्ने उनी पहिलो खेलाडी बनेका छन्। यसअघि सन् १९५८ मा फ्रान्सका जस्ट फोन्तेनले १३ गोल तथा सन् १९५४ मा हंगेरीका सान्दोर कोचिसले ११ गोल गरेका थिए।

विश्वकपमा कुल २२ गोल गर्दै एम्बाप्पे पुरुष विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन्। उनले अर्जेन्टिनाका लियोनल मेसीको २१ गोलको कीर्तिमानलाई उछिनेका छन्। लगातार तीन विश्वकपमा प्रभावशाली प्रदर्शन गर्दै एम्बाप्पे आधुनिक फुटबलका महान् खेलाडीको सूचीमा आफ्नो स्थान अझ बलियो बनाउँदै गएका छन्।

Read More

स्पेन १६ वर्षपछि फेरि विश्व विजेता

काठमाडौं। स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै १६ वर्षपछि पुनः विश्व फुटबलको शिखरमा आफूलाई स्थापित गरेको छ। फाइनलमा साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले दोस्रो पटक विश्वकपको ट्रफी आफ्नो नाममा पार्यो।

निर्धारित समयमा गोलरहित बराबरी भएको खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको १०६औँ मिनेटमा फेर्रान टोरेजले गरेको एकमात्र गोल नै स्पेनको जितको आधार बन्यो। खेलको अन्त्यतिर १० खेलाडीमा सीमित बनेको अर्जेन्टिनाले पुनरागमन गर्न सकेन।

यस जितसँगै स्पेनले सन् २०१० पछि पहिलो विश्वकप उपाधि जित्दै आफ्नो स्वर्णिम इतिहासमा अर्को अध्याय थपेको छ। अर्कोतर्फ, लगातार दोस्रो विश्वकप उपाधिको लक्ष्यसहित मैदान उत्रिएको अर्जेन्टिना उपविजेतामै सीमित रह्यो।

Read More