२०८३ श्रावण १२

पेनाल्टी सुटआउटमा कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड क्वार्टरफाइनलमा

काठमाडौं । स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा आज भएको अन्तिम १६ को प्रतिस्पर्धामा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै स्वीट्जरल्यान्डले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।

निर्धारित ९० मिनेटको खेल र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

यस नतिजासँगै विश्वकप २०२६ को अन्तिम १६ चरणका सबै खेल सम्पन्न भएका छन् भने क्वार्टरफाइनल समीकरण पनि पूरा भएको छ।

Read More

फिफा विश्वकप: स्पेन र बेल्जियम क्वार्टरफाइनलमा, पोर्चुगल र अमेरिकाको यात्रा अन्तिम–१६ मै समाप्त

काठमाडौं, असार २३ – फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएका दुई रोमाञ्चक खेलपछि स्पेनबेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। स्पेनले अन्तिम क्षणको गोलमा पोर्चुगललाई स्तब्ध पार्दा बेल्जियमले अमेरिकामाथि ४–१ को प्रभावशाली जित निकाल्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।

अन्तिम समयमा मेरिनो चम्किँदा स्पेनको ऐतिहासिक पुनरागमन

अमेरिकाको डलासमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्‍यो। निर्धारित ९० मिनेटभर दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा जाने संकेत देखिएको थियो। तर दोस्रो हाफको इन्जुरी समयमा मिकेल मेरिनोले गरेको निर्णायक गोल नै स्पेनको जितको आधार बन्यो।

अन्तिम समयमा आएको उक्त गोलले स्पेनलाई क्वार्टरफाइनलमा पुर्‍यायो भने पोर्चुगलको उपाधि यात्रा राउन्ड अफ–१६ मै टुङ्गियो। योसँगै स्पेनले १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुनरागमन गरेको छ। सन् २०१० मा विश्वकपको उपाधि जितेपछि स्पेन पहिलो पटक अन्तिम आठमा पुगेको हो।

बेल्जियमको अमेरिकामाथि सहज जित

अर्को खेलमा बेल्जियमले घरेलु टोली अमेरिकालाई ४–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्‍यो। सिएटल स्टेडियममा भएको खेलमा बेल्जियमले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गरेको थियो।

खेलको नवौँ मिनेटमा चार्ल्स डे केटलेरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए। ३१औँ मिनेटमा अमेरिकाका मलिक टिलम्यानले फ्रिकिकमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए पनि त्यसको दुई मिनेटपछि नै डे केटलेरले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाए।

दोस्रो हाफमा बेल्जियमको दबाब झन् बढ्यो। ५७औँ मिनेटमा हान्स भानकेनले गोल गर्दै अग्रता ३–१ बनाए भने दोस्रो हाफको इन्जुरी समयमा रोमेलु लुकाकुले अर्को गोल थपेपछि बेल्जियमले ४–१ को शानदार जित दर्ता गर्‍यो।

दुई गोल गरेका डे केटलेर खेलका नायक बने। यस जितसँगै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ भने घरेलु टोली अमेरिकाको विश्वकप यात्रा अन्तिम–१६ मै समाप्त भएको छ।

Read More

मेक्सिकोलाई हराउँदै इङ्ल्यान्ड विश्वकप क्वाटरफाइनलमा

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत रोमाञ्चक खेलमा इङ्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ। मेक्सिको सिटी स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले अग्रता जोगाउँदै कठिन जित निकाल्यो।

पहिलो हाफमै इङ्ल्यान्डले खेल नियन्त्रणमा लिँदै २–१ को अग्रता बनायो। ३६औं मिनेटमा जुड बेलिङ्घमले हेडरमार्फत गोल गर्दै खाता खोले भने ३८औं मिनेटमा ह्यारी केनको पासमा दोस्रो गोल थपे। ४२औं मिनेटमा जुलियन क्युनियोनसले मेक्सिकोका लागि एक गोल फर्काउँदै खेलमा फर्काउने प्रयास गरे।

दोस्रो हाफ थप नाटकीय बन्यो। ५४औं मिनेटमा इङ्ल्यान्ड १० खेलाडीमा सीमित भयो जब जरेल वानसाहले रातो कार्ड पाए। त्यसपछि पनि इङ्ल्यान्डले ६९औं मिनेटमा पेनाल्टीमार्फत ह्यारी केनको गोलसँगै ३–१ को अग्रता बनायो।

मेक्सिकोका गोलकिपर रुल रेन्जलले इङ्ल्यान्डका एन्थोनीलाई फाउल गरेपछि पेनाल्टी प्राप्त भएको थियो। त्यसको केही मिनेटमै मेक्सिकोले पनि पेनाल्टी पायो र राहुल जिमिनेजले गोल गर्दै खेल ३–२ मा ल्याए।

त्यसपछि बाँकी समय मेक्सिकोले लगातार दबाब सिर्जना गरे पनि इङ्ल्यान्डले अग्रता जोगाउँदै जित सुनिश्चित गर्‍यो। यस जितसँगै इङ्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ र अब उसले नर्वेसँग प्रतिस्पर्धा गर्नेछ।

Read More

ब्राजिललाई हराउँदै नर्वे अन्तिम आठमा, हालान्ड बने जितका नायक

काठमाडौं। एर्लिङ हालान्डको दुई गोलको प्रेरणामा नर्वेले पाँचपटकको विश्वकप विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा नर्वेले आक्रामक खेल प्रस्तुत गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो।

खेलको ७९औँ मिनेटमा आन्द्रेस सेलड्रुपको आकर्षक पासलाई सदुपयोग गर्दै हालान्डले पहिलो गोल गरे। त्यसपछि निर्धारित समयको अन्तिम मिनेट (९०औँ) मा उनले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको अग्रता दोब्बर बनाए।

हार टार्ने प्रयासमा रहेको ब्राजिलले इन्जुरी समयमा पेनाल्टी पाएको थियो। कप्तान नेइमारले त्यसलाई गोलमा परिणत गरे पनि त्यसपछि थप गोल गर्न नसक्दा ब्राजिलको यात्रा प्रि–क्वार्टरफाइनलमै टुंगियो।

यस जितसँगै नर्वे विश्वकपको अन्तिम आठ (क्वार्टरफाइनल) मा प्रवेश गरेको छ भने पाँचपटकको विश्वविजेता ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ।

Read More

स्पेन र पोर्चुगल अन्तिम १६ मा, अब नकआउट चरणमा इबेरियन डर्बी

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत स्पेन र पोर्चुगलले आ–आफ्ना खेलमा प्रभावशाली जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएका छन्। अब यी दुई युरोपेली टोली क्वार्टरफाइनल प्रवेशका लागि एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्ने भएका छन्।

अमेरिकाको लस एन्जलस स्टेडियममा सम्पन्न खेलमा स्पेनले अस्ट्रियालाई ३–० गोलअन्तरले पराजित गर्दै सहज रूपमा अन्तिम १६ मा प्रवेश गर्‍यो। स्पेनको जितमा मिकेल ओयार्जाबालले दुई गोल गरे भने पेड्रो पोरोले एक गोल थपे। ओयार्जाबालले ३६औँ मिनेटमा मार्क कुकुरेलाको पासमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ६६औँ मिनेटमा अलेक्स बाएनाको क्रसमा पेड्रो पोरोले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए। खेलको ८९औँ मिनेटमा कुकुरेलाकै अर्को उत्कृष्ट पासमा ओयार्जाबालले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको ३–० को जित सुनिश्चित गरे। योसँगै स्पेनले सन् २०१० मा विश्वकप जितेपछि पहिलो पटक नकआउट चरणको खेल जित्न सफल भएको छ।

यता क्यानडाको टोरन्टो स्टेडियममा भएको अर्को रोमाञ्चक खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गर्‍यो। खेलमा पहिलो अग्रता भने क्रोएसियाले लिएको थियो। ५३औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै टोलीलाई अघि बढाए। तर ६८औँ मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले बराबरी गोल फर्काउँदै पोर्चुगललाई खेलमा पुनरागमन गराए। निर्धारित समय सकिएपछि थपिएको अतिरिक्त समयमा गोन्कालो रामोसले निर्णायक गोल गर्दै पोर्चुगललाई रोमाञ्चक जित दिलाए।

यससँगै विश्व फुटबलका दुई शक्तिशाली टोली स्पेन र पोर्चुगल अब अन्तिम १६ मा आमनेसामने हुने भएका छन्। दुवै टोली उत्कृष्ट लयमा रहेकाले आगामी भेटलाई प्रतियोगिताकै सबैभन्दा आकर्षक नकआउट खेलमध्ये एकका रूपमा हेरिएको छ।

Read More

विश्वकप २०२६ : थिलेमन्सको कीर्तिमानी गोलमा बेल्जियम अन्तिम १६ मा

काठमाडौं। कप्तान युरी थिलेमन्सले अतिरिक्त समयको अन्तिम मिनेटमा पेनाल्टीमार्फत कीर्तिमानी गोल गरेपछि बेल्जियमले सेनेगललाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान बनाएको छ।

अमेरिकाको सिएटलमा भएको खेलमा ८५औं मिनेटसम्म २–० ले पछि परेको बेल्जियमले रोमेलु लुकाकु र थिलेमन्सको गोलमा निर्धारित समयमै खेल २–२ को बराबरीमा पुर्‍याएको थियो।

अतिरिक्त समयको १२५औं मिनेटमा सेनेगलका लामिन क्यामाराले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि भिएआरको सहयोगमा बेल्जियमले पेनाल्टी पायो। त्यसलाई कप्तान थिलेमन्सले गोलमा परिणत गर्दै टोलीलाई नाटकीय जित दिलाए। उक्त गोल विश्वकप इतिहासकै सबैभन्दा ढिलो गोल बनेको छ।

यसअघि सेनेगलका लागि २४औं मिनेटमा हबीब डायरा र ५१औं मिनेटमा इस्माइला सारले गोल गर्दै २–० को अग्रता दिलाएका थिए। तर अन्तिम पाँच मिनेट सम्हाल्न नसक्दा सेनेगल अन्तिम १६ पुग्ने अवसरबाट वञ्चित भयो।

अब बेल्जियमले क्वार्टरफाइनल प्रवेशका लागि अमेरिका र बोस्निया तथा हर्जगोभिनाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

Read More

स्विडेनलाई ३–० ले हराउँदै फ्रान्स विश्वकपको अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा स्विडेनलाई ३–० गोलअन्तरले पराजित गर्दै फ्रान्स अन्तिम १६ मा प्रवेश गरेको छ।

अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालामा भएको खेलमा फ्रान्सका लागि किलियन एम्बाप्पेले ४५औँ र ७४औँ मिनेटमा दुई गोल गरे। यस्तै, खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले अर्को गोल थप्दै फ्रान्सको सहज जित सुनिश्चित गरे।

यससँगै फ्रान्सले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अब फ्रान्सले प्रि–क्वार्टरफाइनलमा पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि अन्तिम–३२ अन्तर्गत भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो। यस्तै, आज बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोरबीच प्रतिस्पर्धा हुनेछ।

Read More

आइभरी कोस्टलाई हराउँदै नर्वे विश्वकपको अन्तिम १६ मा

काठमाडौं। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्दै नर्वे अन्तिम १६ मा प्रवेश गरेको छ।

अमेरिकाको डलास रङ्गशालामा भएको प्रतिस्पर्धामा नर्वेका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले पहिलो गोल गरे। खेलको ७४औँ मिनेटमा आइभरी कोस्टका अमाद डियाल्लोले बराबरी गोल फर्काउँदै खेल १–१ को अवस्थामा पुर्‍याए।

तर खेलको ८६औँ मिनेटमा एर्लिङ हल्याण्डले निर्णायक गोल गर्दै नर्वेलाई २–१ को जित दिलाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा नर्वे अन्तिम १६ मा पुग्न सफल भयो।

अब अन्तिम १६ मा नर्वेले ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ।

यस्तै, अन्तिम–३२ अन्तर्गत आज राति २ः४५ बजे फ्रान्स र स्विडेन तथा बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोरबीच खेल हुनेछ।

Read More

दोस्रो हाफमा उत्कृष्ट पुनरागमन, जापानलाई हराउँदै ब्राजिल अन्तिम १६ मा

काठमाडौं। पाँच पटकको विश्वविजेता ब्राजिलले फिफा विश्वकप–२०२६ को अन्तिम १६ मा स्थान बनाएको छ। अमेरिकाको ह्युस्टनमा आज बिहान सम्पन्न राउण्ड अफ ३२ को खेलमा ब्राजिलले जापानलाई २–१ गोलअन्तरले पराजित गर्दै नकआउट चरणको यात्रा अघि बढाएको हो।

खेलको पहिलो हाफमा जापानले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता बनाएको थियो। २९औँ मिनेटमा काइसु सानोले गोल गर्दै जापानलाई १–० को अग्रता दिलाए। त्यसपछि पहिलो हाफभर ब्राजिलले बराबरी गोल फर्काउन सकेन।

दोस्रो हाफमा भने ब्राजिलले पुनरागमन गर्‍यो। ५६औँ मिनेटमा कासेमिरोले हेडमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि इन्जुरी समयको अतिरिक्त मिनेटमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई २–१ को रोमाञ्चक जित दिलाए।

विश्वकप इतिहासमा सर्वाधिक पाँच पटक (१९५८, १९६२, १९७०, १९९४ र २००२) उपाधि जितेको ब्राजिलले यस जितसँगै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अब ब्राजिलले क्वार्टरफाइनल प्रवेशका लागि अन्तिम १६ मा आफ्नो अर्को प्रतिद्वन्द्वीको सामना गर्नेछ।

Read More

चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरियो, पाराग्वे पेनाल्टीमा विजयी हुँदै अन्तिम १६ मा

काठमाडौं । चार पटकको विश्वविजेता जर्मनीको फिफा विश्वकप २०२६ यात्रा अप्रत्याशित रूपमा अन्तिम ३२ मै टुंगिएको छ। जर्मनीले १९५४, १९७४, १९९० र २०१४ मा विश्वकप उपाधि जितेको थियो। तर त्यसयता टोलीले लगातार निराशाजनक प्रदर्शन गर्दै २०१८ र २०२२ मा समूह चरणबाट तथा २०२६ मा अन्तिम ३२ बाटै बाहिरिन पुगेको छ।

अमेरिकाको बोस्टनमा आज बिहान सम्पन्न खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदै जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो। यस जितसँगै पाराग्वे अन्तिम १६ मा प्रवेश गरेको छ।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि नतिजा पेनाल्टी सुटआउटबाट तय गरिएको थियो। जारी विश्वकपमा पेनाल्टी सुटआउटबाट निर्णय भएको यो पहिलो खेल पनि बनेको छ।

सुरुआती पाँच–पाँच पेनाल्टीमा दुवै टोलीले दुई–दुई प्रहार गुमाउँदा स्कोर ३–३ को बराबरीमा पुगेको थियो। त्यसपछि जर्मनीका जोनाथन टाहको छैटौं प्रहार बारमाथिबाट बाहिरिएपछि पाराग्वेका जोसे कानालेले निर्णायक पेनाल्टी गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए।

त्यसअघि ४२औँ मिनेटमा जुलियो इनसिसोले गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए। जर्मनीका काई हाभार्ट्जले ५४औँ मिनेटमा बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसक्दा विजेता पेनाल्टी सुटआउटबाट टुंगिएको हो।

पाराग्वेले अब अन्तिम १६ मा फ्रान्स र स्वीडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

Read More