२०८३ श्रावण ११

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा

काठमाडौं। कप्तान किलियन एमबाप्पे र उस्मान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको बोस्टन स्टेडियममा बिहीबार राति सम्पन्न पहिलो क्वार्टरफाइनलमा फ्रान्सले दोस्रो हाफमा दुई गोल गर्दै अफ्रिकी टोली मोरक्कोको चुनौती समाप्त गरेको हो। जितसँगै सन् २०१८ को विश्वविजेता तथा २०२२ को उपविजेता फ्रान्स लगातार दोस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि फ्रान्सले केही राम्रा अवसर सिर्जना गरेको थियो। कप्तान एमबाप्पेले पेनाल्टीमार्फत अग्रता दिलाउने अवसर पाए पनि मोरक्काली गोलरक्षक यासिन बोनोले उत्कृष्ट बचाउ गर्दै फ्रान्सलाई सुरुआती गोलबाट वञ्चित गरेका थिए।

दोस्रो हाफमा भने फ्रान्सले खेलमाथि पकड जमायो। खेलको ६०औँ मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको छ मिनेटपछि एमबाप्पेकै पासमा उस्मान डेम्बेलेले गोल गरेपछि फ्रान्सले २–० को सहज अग्रता बनायो। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा फ्रान्स विजयी बन्यो।

सन् २०२२ को विश्वकपमा पनि सेमिफाइनल पुगेको मोरक्को यसपटक अन्तिम चारमा पुग्ने लक्ष्य पूरा गर्न असफल रह्यो। यद्यपि प्रतियोगिताभर उसले प्रभावशाली प्रदर्शन गर्दै क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो.

अब फ्रान्सले सेमिफाइनलमा स्पेन र बेल्जियमबीच हुने क्वार्टरफाइनलको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ। उक्त सेमिफाइनल खेल जुलाई १४ मा अमेरिकाको डलास स्टेडियममा हुनेछ।