२०८३ श्रावण १०

सभामुख अर्याल र युएईका विदेश व्यापारमन्त्रीबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त अरब इमिरेट्स (युएई) का विदेश व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोउदीले शिष्टाचार भेटवार्ता गरेका छन्।

सभामुखको सचिवालयका अनुसार भेटमा सभामुख अर्यालले वर्तमान संसद् गठनपछि युएईबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमण रहेको उल्लेख गर्दै यसले नेपाल–युएई सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने तथा सहकार्यका नयाँ आयाम खोल्ने विश्वास व्यक्त गरे।

युएईका विदेश व्यापारमन्त्री जेयोउदीले नयाँ सरकार गठनपछि आफ्नो यो पहिलो नेपाल भ्रमण रहेको उल्लेख गर्दै यसले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

उनले नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि युएई सरकार सकारात्मक रहेको बताउँदै प्रविधि, पूर्वाधार, शिक्षा लगायतका क्षेत्रमा लगानी विस्तार गर्न आफ्नो देश इच्छुक रहेको धारणा राखे।

मन्त्री जेयोउदीले युएईको विकासमा नेपाली श्रमिकहरूले पुर्‍याएको योगदानको प्रशंसा गर्दै नेपाल–युएई सम्बन्धलाई थप मजबुत बनाउन दुवै देशबीचको सहकार्य अझ विस्तार गरिने विश्वास व्यक्त गरे।

Read More

गणेश नेपालीको आत्मदाहले नागरिक निराशा उजागर गर्‍यो : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुगुका गणेश नेपालीको आत्मदाहको घटनाले समाजमा बढ्दो नागरिक निराशाको प्रतिनिधित्व गरेको बताएका छन्। उनले वर्तमान सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्नसमेत उठाएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शर्माले पुराना दललाई विस्थापित गरेर ‘नयाँ’ भन्ने दाबीका साथ आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारबाट पनि नागरिकमा आशा जगाउन नसकिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

‘हामी पुराना गएर नयाँ आएपछि पनि समाजमा होप क्रिएट (आशा जगाउने काम) किन हुन सकिरहेको छैन ? यसको गहिराइमा गहन दृष्टि जरुरी छ,’ उनले लेखेका छन्। समाजमा आशा हराउँदै गए व्यवस्था र राज्यप्रतिको विश्वाससमेत कमजोर हुने उनको भनाइ छ।

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै शर्माले विगतका कमजोरीबाट पाठ सिक्न आग्रह गरेका छन्। ‘प्रधानमन्त्रीज्यू, गम्भीरताप्रति गम्भीर बन्नुहोस्। हिजो हाम्रा शीर्ष नेताहरूले सबै ठिकठाक भइरहेको छ भन्ठाने, जसको परिणाम नकारात्मक निक्लियो। आज फेरि त्यही गल्ती दोहोरिँदै छ,’ उनले उल्लेख गरेका छन्।

यस्तै, रास्वपा सभापति रवि लामिछानेको भूमिकामाथि पनि प्रश्न उठाउँदै शर्माले ‘के सबै ठिकठाक भइरहेको दृश्य हो यो ? सरकार आशाको होइन, त्रासको प्रतीक किन बन्दैछ ?’ भनी प्रश्न गरेका छन्।

Read More

खामेनीको अन्त्येष्टिमा ४ करोडभन्दा बढी सहभागी भएको इरानको दाबी

काठमाडौँ । इरानका दिवङ्गत सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको अन्त्येष्टि समारोहमा ४ करोड १० लाखदेखि ४ करोड ३० लाखसम्म मानिस सहभागी भएको इरानी सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।

इरानको प्रेस टिभीका अनुसार खामेनीको अन्त्येष्टि विश्वकै इतिहासमा सबैभन्दा ठूलो शवयात्रा भएको दाबी गरिएको छ। छ दिनसम्म सञ्चालन भएको अन्त्येष्टि तथा श्रद्धाञ्जली कार्यक्रम तेहरान, कुम, नजफ, करबला र मशहद गरी पाँच सहरमा आयोजना गरिएको थियो।

सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम गत शनिबार तेहरानस्थित ग्रान्ड मोसल्ला धार्मिक परिसरबाट सुरु भएको थियो। उक्त कार्यक्रममा हजारौँ नागरिकले खामेनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

अन्त्येष्टि समारोहमा इरानका क्षेत्रीय सहयोगी समूहका प्रतिनिधिहरू पनि सहभागी भएका थिए। इरानी सञ्चारमाध्यमका अनुसार गाजास्थित हमास र इस्लामिक जिहाद, लेबनानको हिजबुल्लाह तथा यमनका हुथी समूहका प्रतिनिधिमण्डलले पनि समारोहमा उपस्थिति जनाएका थिए।

खामेनीको अन्त्येष्टि इरानको प्रमुख शिया धार्मिकस्थल इमाम रेजा दरगाह, मशहदमा गरिएको हो। उनी चार महिनाभन्दा बढीअघि तेहरानस्थित आफ्नै निवासमा अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको हवाई आक्रमणमा मारिएको इरानले जनाएको थियो।

Read More

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत नाघ्यो, स्थानीय तहमा सबैभन्दा बढी प्रगति

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को असार २५ गतेसम्म आफ्नो कुल बजेटको दुई तिहाइभन्दा बढी रकम खर्च गरेको जनाएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रारम्भिक विवरणअनुसार हालसम्म ६७.१८ प्रतिशत बजेट कार्यान्वयन भएको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि छुट्याएको ३८ अर्ब ९१ करोड रुपैयाँमध्ये २६ अर्ब १४ करोड २७ लाख ९४ हजार रुपैयाँ खर्च गरेको छ।

प्रदेश बजेट खर्चको समग्र अवस्था

शीर्षकविनियोजनखर्चप्रगति
कुल बजेट३८ अर्ब ९१ करोड रुपैयाँ२६ अर्ब १४ करोड २७ लाख ९४ हजार रुपैयाँ६७.१८%
चालु खर्च१५ अर्ब ४३ करोड ८५ लाख ३५ हजार रुपैयाँ१० अर्ब ४६ करोड २३ लाख १४ हजार रुपैयाँ६७.७६%
पुँजीगत खर्च२३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँ१५ अर्ब ६७ करोड ७९ लाख ६४ हजार रुपैयाँ६६.८०%
स्थानीय तह हस्तान्तरण३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार रुपैयाँ२ अर्ब ९० करोड ५८ लाख १५ हजार रुपैयाँ८४.८७%

विवरणअनुसार चालुतर्फ छुट्याइएको बजेटमध्ये १० अर्ब ४६ करोड २३ लाख १४ हजार रुपैयाँ खर्च भएको छ भने पुँजीगततर्फ १५ अर्ब ६७ करोड ७९ लाख ६४ हजार रुपैयाँ कार्यान्वयन भएको छ।

स्वास्थ्य मन्त्रालयको खर्च प्रगति सबैभन्दा उच्च

मन्त्रालयगत रूपमा हेर्दा स्वास्थ्य मन्त्रालयले सबैभन्दा राम्रो वित्तीय प्रगति देखाएको छ। उक्त मन्त्रालयले ४ अर्ब ९५ करोड २९ लाख ७३ हजार रुपैयाँको कुल बजेटमध्ये ३ अर्ब ९३ करोड १५ लाख ६६ हजार रुपैयाँ खर्च गर्दै ७९.३८ प्रतिशत प्रगति हासिल गरेको छ।

त्यसपछि वन तथा वातावरण मन्त्रालयले ७१.३२ प्रतिशत र ठूलो बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले ७०.८८ प्रतिशत खर्च प्रगति हासिल गरेका छन्।

मन्त्रालय/निकायबजेटखर्चप्रगति
स्वास्थ्य मन्त्रालय४ अर्ब ९५ करोड २९ लाख ७३ हजार रुपैयाँ३ अर्ब ९३ करोड १५ लाख ६६ हजार रुपैयाँ७९.३८%
वन तथा वातावरण मन्त्रालय२ अर्ब ५४ करोड ७४ लाख ५० हजार रुपैयाँ१ अर्ब ८१ करोड ६८ लाख ४० हजार रुपैयाँ७१.३२%
भौतिक पूर्वाधार विकास मन्त्रालय९ अर्ब ९२ करोड ४५ लाख रुपैयाँ७ अर्ब ३ करोड ४४ लाख २० हजार रुपैयाँ७०.८८%
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय२ अर्ब ६८ करोड ६० लाख रुपैयाँ१ अर्ब ८९ करोड ९४ लाख ७७ हजार रुपैयाँ७०.७२%
प्रदेश लोक सेवा आयोग१० करोड रुपैयाँ६ करोड ६१ लाख ५७ हजार रुपैयाँ६६.१५%
सहरी विकास तथा खानेपानी मन्त्रालय५ अर्ब ६२ करोड ३ लाख ८० हजार रुपैयाँ३ अर्ब ६३ करोड १९ लाख ९३ हजार रुपैयाँ६४.६२%
उद्योग, पर्यटन तथा यातायात मन्त्रालय१ अर्ब ९० करोड ४२ लाख ११ हजार रुपैयाँ१ अर्ब १६ करोड ४९ लाख ७९ हजार रुपैयाँ६१.१८%
प्रदेश सभा२६ करोड २० लाख रुपैयाँ१५ करोड ८५ लाख ३६ हजार रुपैयाँ६०.५१%
सामाजिक विकास मन्त्रालय३ अर्ब ६१ करोड ७५ लाख ३७ हजार रुपैयाँ२ अर्ब ७ करोड २५ लाख ६२ हजार रुपैयाँ५७.२९%
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय१ अर्ब ५० करोड ४७ लाख ५० हजार रुपैयाँ८५ करोड ९२ लाख ५० हजार रुपैयाँ५७.१०%
युवा तथा खेलकुद मन्त्रालय३७ करोड २४ लाख ५० हजार रुपैयाँ१६ करोड ६८ लाख ९४ हजार रुपैयाँ४४.८१%
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय५० करोड १८ लाख रुपैयाँ२२ करोड ३३ लाख १४ हजार रुपैयाँ४४.५०%
प्रदेश योजना आयोग३ करोड ५ लाख रुपैयाँ११ लाख ७२ हजार रुपैयाँ३८.४४%
आर्थिक मामिला तथा योजना मन्त्रालय१६ करोड ४० लाख रुपैयाँ६ करोड २५ लाख १९ हजार रुपैयाँ३८.१२%
आन्तरिक मामिला तथा कानून मन्त्रालय३६ करोड ६९ लाख ९६ हजार रुपैयाँ१३ करोड ४२ लाख २७ हजार रुपैयाँ३६.५७%

स्थानीय तहको बजेट कार्यान्वयन उत्साहजनक

प्रदेश सरकारबाट स्थानीय तहका लागि पठाइएको बजेट खर्च अवस्था भने तुलनात्मक रूपमा राम्रो देखिएको छ। स्थानीय तहका लागि छुट्याइएको ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार रुपैयाँमध्ये २ अर्ब ९० करोड ५८ लाख १५ हजार रुपैयाँ खर्च भइसकेको छ।

यस आधारमा स्थानीय तहको बजेट कार्यान्वयन प्रगति ८४.८७ प्रतिशत पुगेको छ, जुन प्रदेश सरकारको औसत खर्चभन्दा उच्च हो।

प्रदेश लोक सेवा आयोगको विवरणमा कुल खर्च प्रगति ६६.१५ प्रतिशत देखिए पनि पुँजीगत खर्च भने १७४.५४ प्रतिशत पुगेको उल्लेख गरिएको छ।

Read More

एन्डी बर्नह्याम बेलायतको नयाँ प्रधानमन्त्री बन्ने बाटोमा, ३२२ लेबर सांसदको समर्थन

काठमाडौं । बेलायतको लेबर पार्टीका वरिष्ठ नेता एन्डी बर्नह्याम पार्टीको नयाँ नेता तथा बेलायतको आगामी प्रधानमन्त्री बन्ने बलियो सम्भावनामा पुगेका छन्। नेतृत्व चयन प्रक्रियाको सुरुवाती चरणमै उनले लेबर पार्टीका ३२२ सांसदको समर्थन प्राप्त गरेका छन्, जसले उनको निर्विरोध नेतृत्व चयन हुने सम्भावना बढाएको छ।

बिहीबारदेखि सुरु भएको उम्मेदवारी प्रक्रियामा हालसम्म बर्नह्याम मात्र आधिकारिक उम्मेदवारका रूपमा रहेका छन्। लेबर पार्टीको नियमअनुसार नेतृत्व प्रतिस्पर्धामा सहभागी हुन कम्तीमा ८१ सांसदको समर्थन आवश्यक हुन्छ। बर्नह्यामले प्राप्त गरेको समर्थनले अन्य सम्भावित प्रतिस्पर्धीका लागि चुनौती निकै कठिन बनाएको छ।

यदि अन्तिम समयसम्म अर्को उम्मेदवार मैदानमा नआएमा बर्नह्यामलाई विशेष सम्मेलनमार्फत लेबर पार्टीको नेता घोषणा गरिनेछ। त्यसपछि उनले जुलाई २० मा बेलायतको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने अपेक्षा गरिएको छ।

ग्रेटर म्यानचेस्टरका पूर्वमेयर रहेका बर्नह्याम केही समयअघि मात्र मेकरफिल्ड उपनिर्वाचन जित्दै संसद् प्रवेश गरेका थिए। त्यसयता उनी बेलायती राजनीतिमा तीव्र रूपमा प्रभावशाली नेताका रूपमा उदाएका छन्।

समर्थन पाएपछि जारी वक्तव्यमा बर्नह्यामले आफूलाई विश्वास गर्ने सांसदहरूप्रति धन्यवाद दिँदै बेलायतलाई नयाँ राजनीतिक दृष्टिकोण आवश्यक रहेको बताएका छन्। उनले वेस्टमिन्स्टरमा केन्द्रित शक्ति विकेन्द्रीकरण गर्ने, नागरिकलाई केन्द्रमा राखेर अर्थतन्त्र पुनर्संरचना गर्ने र देशका सबै क्षेत्रमा समान विकास सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिहीबार लन्डनमा आयोजित एक कार्यक्रममा बोल्दै बर्नह्यामले रिफर्म युकेका नेता नाइजेल फराजमाथि व्यङ्ग्य गरेका थिए। फराजको निर्वाचन क्षेत्र क्ल्याक्टनमा भएको राजनीतिक प्रतिस्पर्धाबारे टिप्पणी गर्दै उनले हास्य कलाकार तथा स्वतन्त्र उम्मेदवार काउन्ट बिनफेसलाई सम्बोधन गर्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए।

मे महिनाको स्थानीय निर्वाचनमा लेबर पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेपछि तत्कालीन नेता सर कीर स्टार्मरमाथि पार्टीभित्रैबाट दबाब बढेको थियो। त्यसपछि स्टार्मरले नेतृत्व परिवर्तनको बाटो खोल्दै राजीनामा घोषणा गरेका थिए।

लेबर पार्टीको नेतृत्व प्रक्रियामा उम्मेदवारहरूले सांसदहरूको समर्थनसँगै पार्टीसँग आबद्ध ट्रेड युनियन तथा अन्य संस्थाहरूको समर्थन पनि जुटाउनुपर्ने व्यवस्था छ। बर्नह्यामले आवश्यक समर्थन पूरा गर्ने अपेक्षा गरिएको छ, जसले उनको नेतृत्व चयन प्रक्रिया औपचारिकतामा सीमित हुने देखिएको छ।

Read More

गणेश नेपालीको मृत्युको विरोधमा माइतीघरमा युवाहरूको प्रदर्शन

काठमाडौं । गणेश नेपालीको मृत्युको कारण सरकार भएको आरोप लगाउँदै युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। घटनामा संलग्न व्यक्तिहरूमाथि कारबाहीको माग गर्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी युवाहरूले प्रधानमन्त्री बालेन्द्र शाहप्रति आक्रोश व्यक्त गरेका छन्। उनीहरूले विभिन्न नारासहितका प्लेकार्ड बोकेर सरकारको विरोध गरेका थिए। ‘बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’, ‘राज्य आतंक मुर्दावाद’, ‘बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो’, ‘हत्यारा सरकार मुर्दावाद’ लगायतका नाराहरू प्रदर्शनका क्रममा लेखिएका थिए।

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार बिहान ११ बजेर १९ मिनेटमा मृत्यु भएको थियो।

Read More

आत्मदाह प्रयास गरेका गणेश नेपालीको वीर अस्पतालमा निधन

काठमाडौँ । आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको निधन भएको छ।

वीर अस्पतालमा उपचाररत नेपालीको केहीबेरअघि उपचारका क्रममा निधन भएको हो। गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएका उनको स्वास्थ्य अवस्था पछिल्लो समय अत्यन्तै नाजुक बन्दै गएको चिकित्सकहरूले बताएका थिए।

यसअघि वीर अस्पतालले पत्रकार सम्मेलन गर्दै नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै अस्थिर रहेको र जुनसुकै समयमा थप जटिलता आउन सक्ने जानकारी दिएको थियो। चिकित्सकहरूले उनको अवस्था गम्भीर रहेको, उपचारका क्रममा पनि जोखिम कायम रहेको र स्वास्थ्य अवस्थाबारे निश्चित पूर्वानुमान गर्न कठिन रहेको बताएका थिए।

अन्ततः चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद नेपालीलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ।

Read More

छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । देशका विभिन्न छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष उनीहरूले औपचारिक रूपमा शपथ ग्रहण गरेका हुन्।

शपथ लिने उपकुलपतिहरूमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. नवीस मानसिंह प्रधान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. स्मृति कार्की रहेका छन्।

त्यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि नियुक्त डा. नारायणसिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. सूर्यमान मेन्याङबो तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. अजय कुमार मिश्रले पनि पदभार सम्हाल्नुअघि शपथ लिएका छन्।

सरकारले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार गठन गरिएको छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा उनीहरूलाई उपकुलपति पदमा नियुक्त गरेको हो।

नयाँ कार्यविधिअनुसार भएको नियुक्तिसँगै सम्बन्धित स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा शैक्षिक तथा प्रशासनिक नेतृत्वले पूर्णता पाएको छ। अब नवनियुक्त उपकुलपतिहरूले आ–आफ्ना प्रतिष्ठानको शैक्षिक गुणस्तर सुधार, संस्थागत व्यवस्थापन र सेवा विस्तारमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

Read More

राष्ट्र बैंकले बजारबाट ६० अर्ब रुपैयाँ तरलता तान्दै

काठमाडौं। बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ। केन्द्रीय बैंकले १९ दिन अवधिको निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले शुक्रबार जारी गरेको सूचनाअनुसार निक्षेप सङ्कलन उपकरणका लागि बोलकबोल आह्वान गरिएको छ। बोलकबोल प्रक्रिया अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत शुक्रबार दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।

राष्ट्र बैंकले जारी गर्ने उक्त उपकरणको साँवा तथा ब्याज आगामी असोज २३ गते भुक्तानी गरिने जनाएको छ। निक्षेपको ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ।

सूचनाअनुसार बोलकबोलमा सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन्। आवेदन रकम कुल आह्वान गरिएको रकमको सीमाभित्र ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी पेश गर्नुपर्नेछ।

निक्षेप सङ्कलन उपकरणमा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागिता जनाउन पाउनेछन्।

बजारमा अत्यधिक तरलता हुँदा त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले समय–समयमा निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै आएको छ। यस प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाबाट रकम संकलन गरी बजारमा रहेको तरलता सन्तुलनमा राख्ने केन्द्रीय बैंकको उद्देश्य हुन्छ।

Read More

नेपाली बजारमा सुनको मूल्य तोलामा २७ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकै दिन तोलामा २ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो।

महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर २ लाख ८७ हजार ४ सय रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। बिहीबार प्रतितोला ४ हजार ३ सय ४० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १७० रुपैयाँले बढेर ४ हजार ५ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव, अमेरिकी डलरको अवस्था तथा विश्व बजारको माग–आपूर्तिले नेपाली बजारमा पनि बहुमूल्य धातुको मूल्य प्रभावित हुँदै आएको छ।

Read More