काठमाडौँ । आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएकी कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गत शनिबार साँझ चौधरीले आफ्नै घरभित्र शरीरमा आगो लगाएपछि गम्भीर घाइते भएकी थिइन् । उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको अवस्थामा आफन्तले तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुर्याएका थिए ।
अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि भेरी अस्पताल, नेपालगन्ज रिफर गरिएको थियो । तर, आफन्तले उनलाई त्यहाँ नलगेर सिधैँ काठमाडौँ लैजाने क्रममा बाटोमै आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



