२०८३ आश्विन २

हुन्डी कारोबारको आशंकामा काठमाडौं र विराटनगरबाट चार जना पक्राउ

काठमाडौँ । हुन्डी कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले काठमाडौं र विराटनगरबाट चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। काठमाडौंमा नगद रकमसहित दुई जना तथा विराटनगरमा बैंकिङ कारोबारको अनुसन्धानका क्रममा थप दुई जना पक्राउ परेका हुन्।

काठमाडौंको अनामनगरस्थित किम्ची रेस्टुरेन्टबाट अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ का ४२ वर्षीय सन्तोष भुसाल र पर्साको वीरगन्ज महानगरपालिका–२१ का ४० वर्षीय प्रवेश महतो पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूको साथबाट स्रोत खुल्न नसकेको ३४ लाख ९५ हजार रुपैयाँ बरामद भएको छ। रकमको स्रोत र कारोबारको प्रकृति खुल्न नसकेपछि हुन्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धानका लागि दुवै जनालाई अदालतबाट पाँच दिनको म्याद लिएर हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार अनामनगरस्थित रेस्टुरेन्टमा हुन्डी कारोबार भइरहेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो। सम्बन्धित व्यक्तिहरूको गतिविधिमाथि केही समयदेखि निगरानी र सूचना संकलन गरेपछि उनीहरूलाई पक्राउ गरिएको स्रोतले जनाएको छ।

यसैबीच, हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा विराटनगरबाट पनि दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ रानीका ४६ वर्षीय शम्भुप्रसाद साह र विराटनगर–१७ का ३४ वर्षीय सुरजप्रसाद साह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शंकास्पद बैंकिङ कारोबारमाथि गरिएको विश्लेषणका क्रममा उनीहरूले अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत तथा फर्मका नाममा खोलिएका बैंक खातामार्फत ठूलो रकमको कारोबार गरेको देखिएपछि पक्राउ गरिएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूसँग सम्बन्धित बैंक खातामार्फत १ अर्ब ५७ करोड ६४ लाख ३२ हजार ३ सय ४० रुपैयाँ ८१ पैसा बराबरको रकम हुन्डी कारोबारमा प्रयोग भएको देखिएको छ। प्रहरीले उक्त कारोबारको प्रकृति, रकमको स्रोत तथा त्यसमा संलग्न अन्य व्यक्तिबारे अनुसन्धान गरिरहेको जनाएको छ।

पक्राउ परेका शम्भुप्रसाद र सुरजप्रसादविरुद्ध सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाइएको छ। उनीहरूमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ लगायतका कानुनी व्यवस्थाअनुसार अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीले काठमाडौं र विराटनगरका घटनामा संलग्न व्यक्तिहरूको थप विवरण, रकमको स्रोत र कारोबारको सञ्जालबारे अनुसन्धान जारी रहेको जनाएको छ।