२०८३ कार्तिक ८

ब्राजिललाई हराउँदै नर्वे अन्तिम आठमा, हालान्ड बने जितका नायक

काठमाडौं। एर्लिङ हालान्डको दुई गोलको प्रेरणामा नर्वेले पाँचपटकको विश्वकप विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा नर्वेले आक्रामक खेल प्रस्तुत गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो।

खेलको ७९औँ मिनेटमा आन्द्रेस सेलड्रुपको आकर्षक पासलाई सदुपयोग गर्दै हालान्डले पहिलो गोल गरे। त्यसपछि निर्धारित समयको अन्तिम मिनेट (९०औँ) मा उनले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको अग्रता दोब्बर बनाए।

हार टार्ने प्रयासमा रहेको ब्राजिलले इन्जुरी समयमा पेनाल्टी पाएको थियो। कप्तान नेइमारले त्यसलाई गोलमा परिणत गरे पनि त्यसपछि थप गोल गर्न नसक्दा ब्राजिलको यात्रा प्रि–क्वार्टरफाइनलमै टुंगियो।

यस जितसँगै नर्वे विश्वकपको अन्तिम आठ (क्वार्टरफाइनल) मा प्रवेश गरेको छ भने पाँचपटकको विश्वविजेता ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ।

Read More

स्पेन र पोर्चुगल अन्तिम १६ मा, अब नकआउट चरणमा इबेरियन डर्बी

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत स्पेन र पोर्चुगलले आ–आफ्ना खेलमा प्रभावशाली जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएका छन्। अब यी दुई युरोपेली टोली क्वार्टरफाइनल प्रवेशका लागि एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्ने भएका छन्।

अमेरिकाको लस एन्जलस स्टेडियममा सम्पन्न खेलमा स्पेनले अस्ट्रियालाई ३–० गोलअन्तरले पराजित गर्दै सहज रूपमा अन्तिम १६ मा प्रवेश गर्‍यो। स्पेनको जितमा मिकेल ओयार्जाबालले दुई गोल गरे भने पेड्रो पोरोले एक गोल थपे। ओयार्जाबालले ३६औँ मिनेटमा मार्क कुकुरेलाको पासमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ६६औँ मिनेटमा अलेक्स बाएनाको क्रसमा पेड्रो पोरोले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए। खेलको ८९औँ मिनेटमा कुकुरेलाकै अर्को उत्कृष्ट पासमा ओयार्जाबालले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको ३–० को जित सुनिश्चित गरे। योसँगै स्पेनले सन् २०१० मा विश्वकप जितेपछि पहिलो पटक नकआउट चरणको खेल जित्न सफल भएको छ।

यता क्यानडाको टोरन्टो स्टेडियममा भएको अर्को रोमाञ्चक खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गर्‍यो। खेलमा पहिलो अग्रता भने क्रोएसियाले लिएको थियो। ५३औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै टोलीलाई अघि बढाए। तर ६८औँ मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले बराबरी गोल फर्काउँदै पोर्चुगललाई खेलमा पुनरागमन गराए। निर्धारित समय सकिएपछि थपिएको अतिरिक्त समयमा गोन्कालो रामोसले निर्णायक गोल गर्दै पोर्चुगललाई रोमाञ्चक जित दिलाए।

यससँगै विश्व फुटबलका दुई शक्तिशाली टोली स्पेन र पोर्चुगल अब अन्तिम १६ मा आमनेसामने हुने भएका छन्। दुवै टोली उत्कृष्ट लयमा रहेकाले आगामी भेटलाई प्रतियोगिताकै सबैभन्दा आकर्षक नकआउट खेलमध्ये एकका रूपमा हेरिएको छ।

Read More

विश्वकप २०२६ : थिलेमन्सको कीर्तिमानी गोलमा बेल्जियम अन्तिम १६ मा

काठमाडौं। कप्तान युरी थिलेमन्सले अतिरिक्त समयको अन्तिम मिनेटमा पेनाल्टीमार्फत कीर्तिमानी गोल गरेपछि बेल्जियमले सेनेगललाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान बनाएको छ।

अमेरिकाको सिएटलमा भएको खेलमा ८५औं मिनेटसम्म २–० ले पछि परेको बेल्जियमले रोमेलु लुकाकु र थिलेमन्सको गोलमा निर्धारित समयमै खेल २–२ को बराबरीमा पुर्‍याएको थियो।

अतिरिक्त समयको १२५औं मिनेटमा सेनेगलका लामिन क्यामाराले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि भिएआरको सहयोगमा बेल्जियमले पेनाल्टी पायो। त्यसलाई कप्तान थिलेमन्सले गोलमा परिणत गर्दै टोलीलाई नाटकीय जित दिलाए। उक्त गोल विश्वकप इतिहासकै सबैभन्दा ढिलो गोल बनेको छ।

यसअघि सेनेगलका लागि २४औं मिनेटमा हबीब डायरा र ५१औं मिनेटमा इस्माइला सारले गोल गर्दै २–० को अग्रता दिलाएका थिए। तर अन्तिम पाँच मिनेट सम्हाल्न नसक्दा सेनेगल अन्तिम १६ पुग्ने अवसरबाट वञ्चित भयो।

अब बेल्जियमले क्वार्टरफाइनल प्रवेशका लागि अमेरिका र बोस्निया तथा हर्जगोभिनाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

Read More

स्विडेनलाई ३–० ले हराउँदै फ्रान्स विश्वकपको अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा स्विडेनलाई ३–० गोलअन्तरले पराजित गर्दै फ्रान्स अन्तिम १६ मा प्रवेश गरेको छ।

अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालामा भएको खेलमा फ्रान्सका लागि किलियन एम्बाप्पेले ४५औँ र ७४औँ मिनेटमा दुई गोल गरे। यस्तै, खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले अर्को गोल थप्दै फ्रान्सको सहज जित सुनिश्चित गरे।

यससँगै फ्रान्सले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अब फ्रान्सले प्रि–क्वार्टरफाइनलमा पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि अन्तिम–३२ अन्तर्गत भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो। यस्तै, आज बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोरबीच प्रतिस्पर्धा हुनेछ।

Read More

आइभरी कोस्टलाई हराउँदै नर्वे विश्वकपको अन्तिम १६ मा

काठमाडौं। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्दै नर्वे अन्तिम १६ मा प्रवेश गरेको छ।

अमेरिकाको डलास रङ्गशालामा भएको प्रतिस्पर्धामा नर्वेका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले पहिलो गोल गरे। खेलको ७४औँ मिनेटमा आइभरी कोस्टका अमाद डियाल्लोले बराबरी गोल फर्काउँदै खेल १–१ को अवस्थामा पुर्‍याए।

तर खेलको ८६औँ मिनेटमा एर्लिङ हल्याण्डले निर्णायक गोल गर्दै नर्वेलाई २–१ को जित दिलाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा नर्वे अन्तिम १६ मा पुग्न सफल भयो।

अब अन्तिम १६ मा नर्वेले ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ।

यस्तै, अन्तिम–३२ अन्तर्गत आज राति २ः४५ बजे फ्रान्स र स्विडेन तथा बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोरबीच खेल हुनेछ।

Read More

दोस्रो हाफमा उत्कृष्ट पुनरागमन, जापानलाई हराउँदै ब्राजिल अन्तिम १६ मा

काठमाडौं। पाँच पटकको विश्वविजेता ब्राजिलले फिफा विश्वकप–२०२६ को अन्तिम १६ मा स्थान बनाएको छ। अमेरिकाको ह्युस्टनमा आज बिहान सम्पन्न राउण्ड अफ ३२ को खेलमा ब्राजिलले जापानलाई २–१ गोलअन्तरले पराजित गर्दै नकआउट चरणको यात्रा अघि बढाएको हो।

खेलको पहिलो हाफमा जापानले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता बनाएको थियो। २९औँ मिनेटमा काइसु सानोले गोल गर्दै जापानलाई १–० को अग्रता दिलाए। त्यसपछि पहिलो हाफभर ब्राजिलले बराबरी गोल फर्काउन सकेन।

दोस्रो हाफमा भने ब्राजिलले पुनरागमन गर्‍यो। ५६औँ मिनेटमा कासेमिरोले हेडमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि इन्जुरी समयको अतिरिक्त मिनेटमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई २–१ को रोमाञ्चक जित दिलाए।

विश्वकप इतिहासमा सर्वाधिक पाँच पटक (१९५८, १९६२, १९७०, १९९४ र २००२) उपाधि जितेको ब्राजिलले यस जितसँगै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अब ब्राजिलले क्वार्टरफाइनल प्रवेशका लागि अन्तिम १६ मा आफ्नो अर्को प्रतिद्वन्द्वीको सामना गर्नेछ।

Read More

चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरियो, पाराग्वे पेनाल्टीमा विजयी हुँदै अन्तिम १६ मा

काठमाडौं । चार पटकको विश्वविजेता जर्मनीको फिफा विश्वकप २०२६ यात्रा अप्रत्याशित रूपमा अन्तिम ३२ मै टुंगिएको छ। जर्मनीले १९५४, १९७४, १९९० र २०१४ मा विश्वकप उपाधि जितेको थियो। तर त्यसयता टोलीले लगातार निराशाजनक प्रदर्शन गर्दै २०१८ र २०२२ मा समूह चरणबाट तथा २०२६ मा अन्तिम ३२ बाटै बाहिरिन पुगेको छ।

अमेरिकाको बोस्टनमा आज बिहान सम्पन्न खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदै जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो। यस जितसँगै पाराग्वे अन्तिम १६ मा प्रवेश गरेको छ।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि नतिजा पेनाल्टी सुटआउटबाट तय गरिएको थियो। जारी विश्वकपमा पेनाल्टी सुटआउटबाट निर्णय भएको यो पहिलो खेल पनि बनेको छ।

सुरुआती पाँच–पाँच पेनाल्टीमा दुवै टोलीले दुई–दुई प्रहार गुमाउँदा स्कोर ३–३ को बराबरीमा पुगेको थियो। त्यसपछि जर्मनीका जोनाथन टाहको छैटौं प्रहार बारमाथिबाट बाहिरिएपछि पाराग्वेका जोसे कानालेले निर्णायक पेनाल्टी गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए।

त्यसअघि ४२औँ मिनेटमा जुलियो इनसिसोले गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए। जर्मनीका काई हाभार्ट्जले ५४औँ मिनेटमा बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसक्दा विजेता पेनाल्टी सुटआउटबाट टुंगिएको हो।

पाराग्वेले अब अन्तिम १६ मा फ्रान्स र स्वीडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

Read More

फिफा विश्वकप २०२६ : दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा पहिलोपटक अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ मा क्यानडाले ऐतिहासिक सफलता हात पारेको छ। दक्षिण अफ्रिकामाथि १–० को कठिन जित निकाल्दै क्यानडा पहिलोपटक विश्वकपको अन्तिम १६ अर्थात् प्रिक्वार्टरफाइनलमा पुगेको हो।

अमेरिकाको लस एन्जलसमा सम्पन्न पहिलो नकआउट खेलमा निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा स्टेफेन युस्टाकियोले गरेको गोल नै क्यानडाको जितको आधार बन्यो।

तेस्रोपटक विश्वकपमा सहभागी भएको क्यानडाले यसअघि कहिल्यै समूह चरण पार गर्न सकेको थिएन। यसपटक भने समूह ‘बी’ को उपविजेताका रूपमा नकआउट चरणमा पुगेको टोलीले दक्षिण अफ्रिकालाई पराजित गर्दै नयाँ इतिहास रचेको हो।

दक्षिण अफ्रिका भने समूह ‘ए’ को उपविजेता बनेर नकआउट चरणमा पुगेको थियो। तर अन्तिम समयमा गोल खाएपछि उसको विश्वकप यात्रा अन्तिम १६ प्रवेशअघि नै टुंगिएको छ।

Read More

विश्वकप: स्पेन समूह विजेता बन्दै नकआउटमा, उरुग्वे बाहिरियो

काठमाडौं । विश्वकप फुटबलअन्तर्गत आज सम्पन्न समूह चरणको खेलमा स्पेनले उरुग्वेलाई १–० गोलले पराजित गर्दै समूह एचको विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। पराजयसँगै उरुग्वेको विश्वकप यात्रा भने समूह चरणमै समाप्त भएको छ।

स्पेनका लागि एलेक्स बेनाले गरेको एकमात्र गोल नै जितका लागि पर्याप्त बन्यो। यसअघि स्पेनले केप भर्डेसँग गोलरहित बराबरी खेलेको थियो भने साउदी अरेबियालाई ४–० ले पराजित गरेको थियो।

तीन खेलबाट सात अंक जोडेको स्पेन समूहको शीर्ष स्थानमा रह्यो। उरुग्वेले भने साउदी अरेबियासँग १–१ तथा केप भर्डेसँग २–२ को बराबरी खेलेपछि कुल दुई अंक मात्रै जोड्न सफल भयो। स्पेनसँगको हारपछि उरुग्वे प्रतियोगिताबाट बाहिरिएको हो।

आजै भएको अर्को खेलमा केप भर्डे र साउदी अरेबियाबीचको प्रतिस्पर्धा गोलरहित बराबरीमा टुङ्गिएको छ। बराबरीसँगै केप भर्डेले तीन अंक जोड्दै गोलअन्तरका आधारमा साउदी अरेबियालाई पछि पारेर दोस्रो स्थान हासिल गरेको छ।

केप भर्डेले यसअघि स्पेन र उरुग्वेसँग पनि बराबरी खेलेको थियो। समान तीन अंक भए पनि गोलअन्तरमा पछि पर्दा साउदी अरेबिया समूहको तेस्रो स्थानमा सीमित रह्यो।

Read More

नेदरल्यान्ड्समा हुने आईसीसी लिग–२ त्रिकोणात्मक सिरिजका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिकोणात्मक सिरिजका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ।

रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ। क्यानका अनुसार टोलीमा अनुभवी खेलाडी र हाल उत्कृष्ट प्रदर्शन गरिरहेका केही युवा प्रतिभाहरूको संयोजन गरिएको छ।

घोषित टोलीमा कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख र गुलसन झा ब्याटिङ लाइनअपमा समावेश छन् भने करण केसी, सोमपाल कामी र विनोद भण्डारीजस्ता अनुभवी खेलाडीहरूले पनि स्थान बनाएका छन्।

त्यस्तै, स्पिन विभागमा ललित राजवंशी र ब्याटर भीम सार्कीलाई टोलीमा राखिएको छ। इशान पाण्डे, नन्दन यादव र अर्जुन कुमाल पनि मुख्य टोलीमा अटाएका छन्।

क्यानले पाँच जना खेलाडीलाई वैकल्पिक (रिजर्भ) सूचीमा राखेको छ। उक्त सूचीमा सन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री रहेका छन्।

आईसीसी लिग–२ अन्तर्गतको उक्त त्रिकोणात्मक सिरिज आगामी जुलाई २३ देखि सुरु हुने कार्यक्रम तय गरिएको छ।

Read More