काठमाडौं। कप्तान युरी थिलेमन्सले अतिरिक्त समयको अन्तिम मिनेटमा पेनाल्टीमार्फत कीर्तिमानी गोल गरेपछि बेल्जियमले सेनेगललाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान बनाएको छ।
अमेरिकाको सिएटलमा भएको खेलमा ८५औं मिनेटसम्म २–० ले पछि परेको बेल्जियमले रोमेलु लुकाकु र थिलेमन्सको गोलमा निर्धारित समयमै खेल २–२ को बराबरीमा पुर्याएको थियो।
अतिरिक्त समयको १२५औं मिनेटमा सेनेगलका लामिन क्यामाराले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि भिएआरको सहयोगमा बेल्जियमले पेनाल्टी पायो। त्यसलाई कप्तान थिलेमन्सले गोलमा परिणत गर्दै टोलीलाई नाटकीय जित दिलाए। उक्त गोल विश्वकप इतिहासकै सबैभन्दा ढिलो गोल बनेको छ।
यसअघि सेनेगलका लागि २४औं मिनेटमा हबीब डायरा र ५१औं मिनेटमा इस्माइला सारले गोल गर्दै २–० को अग्रता दिलाएका थिए। तर अन्तिम पाँच मिनेट सम्हाल्न नसक्दा सेनेगल अन्तिम १६ पुग्ने अवसरबाट वञ्चित भयो।
अब बेल्जियमले क्वार्टरफाइनल प्रवेशका लागि अमेरिका र बोस्निया तथा हर्जगोभिनाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।




