२०८३ श्रावण १

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, सार्वजनिक खरिद विधेयक र विनियोजन विधेयकमाथि छलफल हुने

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्ने भएको छ। संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो ११:१५ बजे बस्नेछ।

प्रतिनिधिसभाको बैठकको प्रारम्भमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराउने कार्यक्रम रहेको छ। त्यसपछि बैठक कार्यसूचीअनुसार अघि बढ्नेछ।

बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछिन्। विधेयकमाथि दर्ता भएका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिएपछि उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि मन्त्री गौतमले नै पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

यता राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालय तथा शीर्षकहरूमाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ।