२०८३ श्रावण १०

मौसम पूर्वानुमान : दुई दिन देशभर वर्षाको सम्भावना, सातै प्रदेशमा सतर्कता

काठमाडौं। मनसुन थप सक्रिय बनेसँगै जल तथा मौसम विज्ञान विभागले बिहीबार र शुक्रबार देशका अधिकांश क्षेत्रमा बदलीसँगै वर्षा हुने पूर्वानुमान गरेको छ। मंगलबारदेखि सक्रिय भएको मनसुन बुधबार हिमाली तथा तराईका विभिन्न क्षेत्रमा थप प्रभावकारी बनेको विभागले जनाएको छ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा बर्दियाको मानपुर क्षेत्रमा मापन गरिएको छ, जहाँ ९५.२ मिलिमिटर पानी परेको छ। अन्य विभिन्न जिल्लामा पनि करिब ७० देखि ८० मिलिमिटरसम्म वर्षा भएको विभागको तथ्यांकमा उल्लेख छ।

प्रदेशअनुसार वर्षाको अवस्था

कोशी प्रदेश :
शुक्रबार रातिदेखि पहाडी जिल्लाहरूमा भारी वर्षाको सम्भावना रहेको छ। ससाना नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

मधेस प्रदेश :
मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहे पनि अत्यधिक वर्षाको जोखिम अपेक्षाकृत कम छ। तर शुक्रबारदेखि नदी तथा खोलामा बहाव बढ्न सक्ने चेतावनी दिइएको छ।

बागमती प्रदेश :
बिहीबार र शुक्रबार दुवै दिन पहाडी भेगका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। शुक्रबार राति पनि वर्षा तीव्र रहने अनुमान गरिएको छ। साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहने विभागले जनाएको छ।

गण्डकी प्रदेश :
बिहीबार र शुक्रबार दुवै दिन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना छ। बिहीबार रातिको वर्षा अझ प्रभावकारी हुन सक्ने भएकाले पहिरो र बाढीको जोखिम बढ्ने अनुमान गरिएको छ।

लुम्बिनी प्रदेश :
पहाडी क्षेत्रमा बिहीबारदेखि नै भारी वर्षाको सम्भावना रहेको छ भने शुक्रबार केही स्थानमा वर्षा अझ तीव्र हुन सक्छ। तराईका जिल्लामा पनि वर्षा जारी रहने र नदीहरूको बहाव बढ्न सक्ने चेतावनी दिइएको छ।

कर्णाली प्रदेश :
बिहीबार राति पहाडी क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। शुक्रबार पनि प्रदेशका साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम औँल्याइएको छ।

सुदूरपश्चिम प्रदेश :
बिहीबार राति पहाडी तथा तराईका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। शुक्रबार पनि वर्षा जारी रहने अनुमान गरिएको छ। नदी तथा खोलाको बहाव उल्लेख्य बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।

बाढी र पहिरोको जोखिम बढ्दो

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबारदेखि सुरु भएको वर्षाका कारण हालसम्म १० जिल्ला बाढीबाट प्रभावित भएका छन्। विभिन्न जिल्लाका २४ स्थानमा पहिरो गएको छ भने पहिरोमा परी एक जनाको मृत्यु भएको छ। दुई स्थानमा बाढीको घटना पनि रेकर्ड गरिएको छ।

यी जिल्लामा विशेष सतर्कता आवश्यक

बाढी पूर्वानुमान महाशाखाले झापा, इलाम, पाँचथर, तेह्रथुम, संखुवासभा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर), धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र डडेलधुरालगायत जिल्लामा बग्ने ससाना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने जनाएको छ।

महाशाखाका अनुसार बिहीबार र शुक्रबार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका अधिकांश साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहनेछ। आगामी असार १९ गतेसम्म नदीहरूको बहाव सामान्यदेखि उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले नदी किनार, पहिरो प्रभावित क्षेत्र तथा तटीय बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।