२०८३ कार्तिक ८

इन्जुरी टाइम गोलसँगै टर्कीको रोमाञ्चक जित, अमेरिका ३–२ ले पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा टर्कीले अमेरिकालाई ३–२ गोल अन्तरले पराजित गरेको छ। लस एन्जलस रंगशालामा भएको खेल इन्जुरी टाइमसम्म प्रतिस्पर्धात्मक बनेको थियो।

निर्णायक गोल अतिरिक्त समयमा टर्कीका कान अयहानले गरेपछि टोलीले महत्वपूर्ण जित सुनिश्चित गरेको हो।

खेलको सुरुवातमै अमेरिकाले अग्रता लिएको थियो। तेस्रो मिनेटमा अस्टिन ट्रस्टीले गोल गर्दै खाता खोलेका थिए। तर १०औँ मिनेटमा अर्दा गुलरले बराबरी गोल फर्काउँदै टर्कीलाई खेलमा फर्काए।

त्यसपछि ३१औँ मिनेटमा ओर्कुन कोक्कुले गोल गर्दै टर्कीलाई अग्रता दिलाए। पहिलो हाफपछि खेल थप प्रतिस्पर्धात्मक बनेको थियो।

दोस्रो हाफको ४९औँ मिनेटमा सेबास्टियन बर्हाल्टरले गोल गर्दै अमेरिका पुनः बराबरीमा आएको थियो। तर अन्ततः इन्जुरी टाइममा आएको गोल निर्णायक बन्दा टर्कीले ३–२ को रोमाञ्चक जित हात पारेको हो।

Read More

पाराग्वे–अष्ट्रेलिया खेल गोलरहित बराबरीमा सकियो

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहान भएको खेलमा पाराग्वे र अष्ट्रेलियाबीचको प्रतिस्पर्धा गोलरहित बराबरीमा टुंगिएको छ।

सान फ्रान्सिस्को बे एरिया स्टेडियममा सम्पन्न समूह ‘डी’ को उक्त खेलमा निर्धारित ९० मिनेटभर दुवै टोलीले गोल गर्न सकेनन्।

दुवै पक्षले केही अवसर सिर्जना गरे पनि निर्णायक फिनिसिङ अभावमा खेल ०–० को बराबरीमै समाप्त भएको हो।

Read More

जापान–स्विडेन १–१ बराबरी, दुवै टोली नकआउट चरणमा प्रवेश

काठमाडौं। विश्वकप फुटबलअन्तर्गत आज बिहान सम्पन्न जापान र स्विडेनबीचको खेल १–१ गोलको बराबरीमा टुंगिएको छ। यस नतिजासँगै दुवै टोली नकआउट चरणमा प्रवेश गर्न सफल भएका छन्।

खेलको ५६औँ मिनेटमा दाइजेन माएदाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए। तर ६२औँ मिनेटमा एन्थोनी एलाङ्गाले गोल फर्काउँदै स्विडेनलाई बराबरीमा ल्याए।

समूह चरणको नतिजाअनुसार जापान ५ अङ्क र स्विडेन ४ अङ्कसहित नकआउट चरणमा प्रवेश गरेका छन्।

Read More

जर्मनीलाई हराउँदै इक्वेडर विश्वकपको नकआउट चरणमा

काठमाडौं । जर्मनीमाथि २–१ को रोमाञ्चक जित निकाल्दै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ। अमेरिकाको न्युयोर्क–न्युजर्सी स्टेडियममा भएको खेलमा जर्मनीले सुरुआती अग्रता लिए पनि इक्वेडरले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो।

खेलको दोस्रो मिनेटमा लेरोय सानेले जर्मनीलाई अग्रता दिलाएका थिए। तर नवौँ मिनेटमै निल्सन एङ्गुलोले बराबरी गोल फर्काए। दोस्रो हाफको ७७औँ मिनेटमा गोन्जालो प्लाटाले निर्णायक गोल गर्दै इक्वेडरलाई २–१ को जित दिलाए।

यस्तै, समूह ‘इ’को अर्को खेलमा आइभरी कोस्टले कुरासाओलाई २–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गर्यो। आइभरी कोस्टका लागि दुवै गोल निकोलस पेपेले सातौँ र ६४औँ मिनेटमा गरे।

समूह चरणको अन्त्यमा जर्मनी ६ अङ्कसहित समूह विजेता बन्दै नकआउटमा पुग्यो। समान ६ अङ्क रहेको आइभरी कोस्ट गोलअन्तरका आधारमा उपविजेता बन्यो। चार अङ्क जोडेको इक्वेडर उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एक बन्दै अन्तिम १६ मा पुग्न सफल भयो भने एक अङ्कमा सीमित कुरासाओ प्रतियोगिताबाट बाहिरिएको छ।

Read More

एन्फा फिफाद्वारा निलम्बित : अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ।

फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १४ अनुसार अर्को सूचना नआएसम्मका लागि एन्फालाई निलम्बन गर्ने निर्णय गरेको हो।

निलम्बनसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गतका सबै सदस्यता अधिकार गुमाएको छ। अब निलम्बन कायम रहँदासम्म एन्फाका टोली तथा क्लबहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छैनन्।

त्यसैगरी एन्फा तथा त्यससँग सम्बन्धित पदाधिकारी वा सदस्यहरूले फिफा र एएफसीद्वारा सञ्चालन हुने विकास कार्यक्रम, तालिम तथा प्रशिक्षणमा समेत सहभागिता जनाउन नपाउने भएका छन्।

फिफाले आवश्यक परेमा फिफा काउन्सिल वा कंग्रेसको बैठकअघि नै यो निलम्बन फुकुवा गर्न सकिने व्यवस्था रहेको जनाएको छ।

Read More

विश्वकप २०२६ : ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत बिहीबार बिहान भएका खेलपछि ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश गरेका छन्।

समूह ‘सी’ अन्तर्गत ब्राजिलले स्कटल्यान्डलाई ३–० गोलअन्तरले पराजित गर्दै ७ अंकसहित समूह विजेता बनेको छ। ब्राजिलका भिनिसियस जुनियरले दुई तथा मथेउस कुन्हाले एक गोल गरेका थिए।

त्यसैगरी मोरक्कोले हाइटीलाई ४–२ गोलले हराउँदै समान ७ अंक जोडेको छ। समान अंक भए पनि आपसी भेटका आधारमा मोरक्को समूह उपविजेता बनेको हो।

हाइटी भने यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ। स्कटल्यान्डको अर्को चरण पुग्ने सम्भावना भने अझै कायम रहेको छ।

Read More

स्विट्जरल्यान्ड समूह विजेता बन्दै विश्वकपको नकआउट चरणमा

काठमाडौं । स्विट्जरल्यान्डले घरेलु टोली क्यानडालाई २–१ गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ।

क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डका रुबेन वर्गासले ४६औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ५७औँ मिनेटमा जोहान मान्जाम्बीले अर्को गोल थप्दै अग्रता दोब्बर बनाए। क्यानडाका प्रमिस डेभिडले ७६औँ मिनेटमा एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

जितसँगै स्विट्जरल्यान्डले तीन खेलबाट सात अंक जोड्दै समूह ‘बी’को विजेताका रूपमा नकआउट चरणमा स्थान सुरक्षित गर्यो। चार अंक जोडेको क्यानडा समूह उपविजेता बन्दै अघिल्लो चरणमा पुगेको छ।

यस्तै, समूहको अर्को खेलमा बोस्निया एन्ड हर्जगोभिनाले कतारलाई ३–१ गोलअन्तरले हरायो। क्यानडासँग समान चार अंक भए पनि कमजोर गोलअन्तरका कारण बोस्निया तेस्रो स्थानमा रह्यो। एक अंकमा सीमित कतार भने प्रतियोगिताबाट बाहिरिएको छ।

Read More

कोलम्बियाको साँघुरो जितसँगै नकआउट यात्रा सुनिश्चित, डीआर कङ्गो पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को प्रतिस्पर्धात्मक खेलमा कोलम्बियाले डीआर कङ्गोलाई १–० गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ।

स्टाडियो ग्वाडालाहारामा सम्पन्न खेलमा कोलम्बियाले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरे पनि पहिलो हाफमा डीआर कङ्गोका गोलकिपरले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा टिकाइराखेका थिए। बारम्बारको आक्रमणबीच पनि पहिलो हाफ गोलरहित रूपमा समाप्त भएको थियो।

दोस्रो हाफमा पनि कोलम्बियाले दबाब कायम राख्यो। खेलको ६७औँ मिनेटमा डानियल मुनोजले गरेको निर्णायक गोलले टोलीलाई अग्रता दिलायो, जसले अन्ततः जित सुनिश्चित गर्‍यो। त्यसपछि पनि कोलम्बियाले खेल नियन्त्रणमा राख्दै विपक्षीलाई बराबरी फर्किन दिएन।

यस जितसँगै कोलम्बिया समूह ‘के’ बाट नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल भएको छ। उता, यसै समूहमा मंगलबार राति पोर्चुगलसँग ५–० ले पराजित भएपछि उज्वेकिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ।

समूह चरणका खेलहरू सकिन नजिकिँदै गर्दा समूह ‘के’ मा शीर्ष स्थानको प्रतिस्पर्धा अझ रोचक बन्दै गएको छ।

Read More

फिफा विश्वकप : इङ्ल्याण्ड र घानाबीच गोलरहित बराबरी

काठमाडौं। फिफा विश्वकपअन्तर्गत समूह ‘एल’ मा इङ्ल्याण्ड र घानाबीच भएको रोमाञ्चक प्रतिस्पर्धा गोलरहित बराबरीमा टुङ्गिएको छ। दुवै टोलीले खेलभर गोल गर्ने अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भएका हुन्।

समूह चरणको दोस्रो खेलमा मैदान उत्रिएका इङ्ल्याण्ड र घानाले सशक्त प्रदर्शन गरे पनि निर्धारित ९० मिनेटको खेलमा कुनै टोलीले जाली चुमाउन सकेन। परिणामस्वरूप दुवैले एक–एक अंक प्राप्त गरेका छन्।

यसअघि समूह चरणको पहिलो खेलमा इङ्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो भने घानाले पानामामाथि १–० गोलको कठिन जित निकालेको थियो। दोस्रो खेलको बराबरीसँगै दुवै टोलीले नकआउट चरणको सम्भावना बलियो बनाएका छन्।

विश्वकपअन्तर्गत गएराति सम्पन्न अर्को खेलमा पोर्चुगलले उज्वेकिस्तानमाथि ५–० गोलको शानदार जित दर्ता गरेको थियो। स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै पोर्चुगलको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

समूह चरणका बाँकी खेलहरू अझै निर्णायक हुने भएकाले समूह ‘एल’ मा शीर्ष स्थानको प्रतिस्पर्धा थप रोचक बनेको छ।

Read More

फिफा विश्वकप : रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलको फराकिलो जित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’को दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानमाथि प्रभावशाली प्रदर्शन गर्दै ५–० गोलको फराकिलो जित दर्ता गरेको छ। अनुभवी स्टार क्रिस्टियानो रोनाल्डोको प्रेरणादायी खेलका कारण पोर्चुगलले प्रतियोगितामा पहिलो जित हासिल गरेको हो।

खेलको छैटौँ मिनेटमै रोनाल्डोले कर्नरबाट आएको बललाई जाली चुमाउँदै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि १७औँ मिनेटमा नुनो मेन्डेसले गोल थप्दै पोर्चुगलको अग्रता २–० मा पुर्‍याए। पहिलो हाफ सकिनुअघि ३९औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को सहज अवस्थामा पुर्‍याए।

दोस्रो हाफमा पनि पोर्चुगलले आफ्नो दबाब कायम राख्यो। खेलको ६०औँ मिनेटमा अब्दवोहिद नेमातोवको आत्मघाती गोलबाट पोर्चुगलले चौथो गोल थप्यो। त्यसपछि ८७औँ मिनेटमा राफाएल लीओले गोल गर्दै टोलीको शानदार जित सुनिश्चित गरे।

यस जितसँगै पोर्चुगल चार अङ्कसहित समूह ‘के’को शीर्ष स्थानमा उक्लिएको छ। यसअघि समूह चरणको पहिलो खेलमा पोर्चुगलले कङ्गोसँग बराबरी खेलेको थियो। लगातार दोस्रो हार बेहोरेको उज्वेकिस्तान भने अंकविहीन रहँदै समूहको पुछारमा छ।

प्रतियोगिताअन्तर्गत आजका अन्य खेलहरू पनि रोचक रहने अपेक्षा गरिएको छ। नेपाली समयअनुसार राति १ः४५ बजे इङ्ल्याण्ड र घानाबीच प्रतिस्पर्धा हुनेछ। त्यसपछि बिहान ४ः४५ बजे पानामा र क्रोएसियाबीच खेल हुनेछ भने बिहान ७ः४५ बजे कोलम्बिया र कङ्गो आमनेसामने हुनेछन्।

Read More