काठमाडौं । स्विट्जरल्यान्डले घरेलु टोली क्यानडालाई २–१ गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ।
क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डका रुबेन वर्गासले ४६औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ५७औँ मिनेटमा जोहान मान्जाम्बीले अर्को गोल थप्दै अग्रता दोब्बर बनाए। क्यानडाका प्रमिस डेभिडले ७६औँ मिनेटमा एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
जितसँगै स्विट्जरल्यान्डले तीन खेलबाट सात अंक जोड्दै समूह ‘बी’को विजेताका रूपमा नकआउट चरणमा स्थान सुरक्षित गर्यो। चार अंक जोडेको क्यानडा समूह उपविजेता बन्दै अघिल्लो चरणमा पुगेको छ।
यस्तै, समूहको अर्को खेलमा बोस्निया एन्ड हर्जगोभिनाले कतारलाई ३–१ गोलअन्तरले हरायो। क्यानडासँग समान चार अंक भए पनि कमजोर गोलअन्तरका कारण बोस्निया तेस्रो स्थानमा रह्यो। एक अंकमा सीमित कतार भने प्रतियोगिताबाट बाहिरिएको छ।




