२०८३ श्रावण ३१

ओमानमा ‘समृद्धिका लागि आर्थिक साझेदारी’ कार्यक्रम, नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

काठमाडौँ । ओमानस्थित नेपाली राजदूतावासले नेपाल र ओमानबीच व्यापार, लगानी, पर्यटन तथा रोजगारीका अवसर प्रवर्द्धन गर्ने उद्देश्यले ‘समृद्धिका लागि आर्थिक साझेदारी’ शीर्षकमा विशेष कार्यक्रम आयोजना गरेको छ।

बुधबार आयोजित कार्यक्रममा विभिन्न कम्पनी तथा सुपरमार्केटका प्रमुख कार्यकारी अधिकृत, निर्देशक, प्रबन्धक, सञ्चारकर्मी, नेपाली उद्यमी तथा ओमानस्थित नेपाली समुदायका प्रतिनिधिसहित १०० भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा ओमानका लागि नेपालका राजदूत डोरनाथ अर्यालले नेपालमा व्यापार, लगानी र पर्यटनका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै वैदेशिक लगानीका प्राथमिक क्षेत्रबारे विस्तृत जानकारी दिएका थिए। उनले ओमानी लगानीकर्तालाई नेपालमा उपलब्ध अवसरहरूको अध्ययन र उपयोग गर्न आग्रह गर्दै नेपाल भारत र चीनजस्ता तीव्र गतिमा विकासोन्मुख दुई ठूला अर्थतन्त्रबीच अवस्थित भएकाले व्यापार, लगानी र पर्यटनका लागि महत्वपूर्ण सेतु बन्न सक्ने बताए।

त्यस अवसरमा कर्पोरेट तथा मुद्दा मामिलासम्बन्धी अधिवक्ता खावला मोहम्मद अल सदुनीले ओमानको श्रम ऐन तथा नियमावलीका व्यावहारिक पक्ष, श्रमिक–रोजगारदाता सम्बन्ध, कानुनी व्यवस्था तथा श्रम विवाद समाधानका उपायबारे प्रस्तुति दिएका थिए।

कार्यक्रममा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटन सम्भावनालाई उजागर गर्ने भिडियोसमेत प्रदर्शन गरिएको थियो। सहभागीहरूलाई नेपाल र ओमानबीच व्यापार, लगानी तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्न प्रोत्साहित गरिएको दूतावासले जनाएको छ।

Read More

राष्ट्रिय परीक्षा बोर्डको नतिजा कानुनसम्मत र समयमै प्रकाशित भएको शिक्षामन्त्री पोखरेलको दाबी

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया कानुनसम्मत तथा समयमै सम्पन्न भएको दाबी गरेका छन्। परीक्षाको नतिजालाई लिएर उठिरहेका प्रश्न तथा आन्दोलनका बीच उनले आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेका हुन्।

मन्त्री पोखरेलले नतिजा प्रकाशनमा कुनै हतार नभएको उल्लेख गर्दै आवश्यक जनशक्ति थपेर तथा प्रशासनिक झन्झटहरू घटाएर तोकिएको समयमै नतिजा सार्वजनिक गरिएको बताएका छन्। उनले भने, “यस प्रक्रियाप्रति हामी स्पष्ट र विश्वस्त छौँ। नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई तोकिएको समयमा नै प्रकाशित गरिएको हो।”

नतिजालाई लिएर भइरहेको शान्तिपूर्ण आन्दोलनप्रति मन्त्रालयको सम्मान रहेको उनले स्पष्ट पारे। लोकतान्त्रिक समाजमा शान्तिपूर्ण रूपमा आफ्ना विचार राख्ने अधिकार सबैलाई रहेको उनको भनाइ छ।

तर, आन्दोलनरत विद्यार्थीहरूलाई लक्षित गरी सामाजिक सञ्जालमा भइरहेका नकारात्मक टिप्पणीप्रति उनले गम्भीर आपत्ति जनाएका छन्। शान्तिपूर्ण आन्दोलनमा सहभागी कुनै पनि व्यक्ति वा समूहप्रति दुर्व्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न उनले सबैलाई आग्रह गरेका छन्।

मन्त्री पोखरेलका अनुसार नतिजा प्रक्रियालाई थप पारदर्शी र विश्वसनीय बनाउन उच्चस्तरीय समिति गठन गरिएको छ। उक्त समितिमा शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवहरूको प्रतिनिधित्व रहनेछ।

समितिले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण, अंक तथा डेटा इन्ट्रीको प्रमाणीकरण लगायतका कार्यहरू गर्ने मन्त्रालयले जनाएको छ।

Read More

अर्थ मन्त्रालयद्वारा नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरेको छ। मन्त्रालयले बिहीबार सूचना जारी गर्दै योग्य तथा इच्छुक नेपाली नागरिकहरूलाई आवेदन दिन आह्वान गरेको हो।

सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अर्थात् २०८३ असार ३१ गते कार्यालय समयभित्र अर्थ मन्त्रालय, सिंहदरबारस्थित वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य सिलबन्दी आवेदन पेस गर्नुपर्नेछ।

आवेदनका लागि नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२(१) बमोजिम तोकिएको योग्यता र अनुभव अनिवार्य हुने मन्त्रालयले जनाएको छ। साथै, उम्मेदवारहरूले शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपि, वैयक्तिक विवरण तथा दुई प्रति पासपोर्ट साइज फोटोसमेत पेस गर्नुपर्नेछ।

त्यसैगरी, ५ हजार शब्द नबढ्ने गरी तयार गरिएको व्यावसायिक कार्ययोजना पनि अनिवार्य रूपमा सिलबन्दी गरी बुझाउनुपर्नेछ। छनोट प्रक्रियामा परेका उम्मेदवारहरूले उक्त कार्ययोजनाको प्रस्तुतीकरण समेत गर्नुपर्ने व्यवस्था रहेको मन्त्रालयले स्पष्ट पारेको छ।

Read More

कर्णाली करिडोरमा भीरबाट खसेको ढुङ्गा लागेर डोजर चालकको मृत्यु

काठमाडौं ।कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–१ स्थित शान्तिघाट–आम्तडा सडक खण्डमा भीरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार भीरबाट खसेको ढुङ्गा लागेर रास्कोट नगरपालिका–८ निवासी १८ वर्षीय बाबुराम टमटाको घटनास्थलमै मृत्यु भएको हो। उनी उक्त सडक खण्डमा डोजर सञ्चालन गरिरहेका थिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Read More

नेप्से परिसूचक पुनः घट्यो, कारोबार करिब २ अर्ब ८४ करोडमा सीमित

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.५० अङ्कले घटेर २,६५१.५२ विन्दुमा झरेको हो।

त्यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.६४ अङ्कले घटेर ४५८.२३ मा सीमित भएको छ। कुल ३३८ कम्पनीका ६४ लाख ८० हजार ५९९ कित्ता शेयर २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार ४११ रुपैयाँ बराबरमा कारोबार भएको नेप्सेले जनाएको छ।

कारोबार रकमका आधारमा सोपान फर्मास्युटिकल्स शीर्ष स्थानमा रह्यो। त्यसपछि रिलायन्स स्पिनिङ मिल्स, सप्तकोशी डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत् कम्पनी र नेपाल एसबीआई बैंक शीर्ष पाँच कारोबार भएका कम्पनीमा परेका छन्।

आज टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बालिङ हाइड्रोपावर, कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले नाफा आर्जन गरेका छन्। यता भुजुङ हाइड्रोपावर, सिवाइसी नेपाल लघुवित्त, भगवती हाइड्रोपावर, सानिमा डिबेञ्चर र थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले भने घाटा व्यहोरेका छन्।

Read More

प्रधानमन्त्री सचिवालयको पहलपछि चिया उद्योग पुनः सञ्चालन, निर्यात समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल गठन

काठमाडौं । नेपाल चिया उत्पादक संघले असार १ र ४ गतेदेखि बन्द गर्दै आएको चिया उद्योगहरू पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयको पहलपछि चिया निर्यातमा देखिएको समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने तथा आवश्यक कदम चाल्ने आश्वासन प्राप्त भएपछि उद्योग सञ्चालन पुनः सुरु गर्ने निर्णय गरिएको हो। सोअनुसार बिहीबारदेखि झापाका ३० वटा सीटीसी चिया उद्योगहरू पुनः सञ्चालनमा आउने भएका छन्।

हालै भारतीय चिया बोर्डले जारी गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (SOP) का कारण नेपाली चियाको भारततर्फ निर्यातमा अवरोध उत्पन्न भएको थियो। निर्यात प्रक्रिया अवरुद्ध भएपछि झापा र इलामका चिया उद्योगहरू गम्भीर संकटमा परेका थिए।

सरकारले समयमै आवश्यक पहल नगरेको भन्दै असन्तुष्टि जनाउँदै संघले बाध्यतावश उद्योग बन्द गर्ने निर्णय गरेको थियो। तर पछिल्लो समय प्रधानमन्त्रीको सचिवालयमार्फत गरिएको पहलपछि चिया निर्यातसँग सम्बन्धित प्राविधिक समस्या समाधान र अन्तर्राष्ट्रिय बजार विस्तारका लागि विशेष कार्यदल गठन भएपछि व्यवसायीहरू सकारात्मक बनेका छन्।

Read More

रास्वपा महाधिवेशनमा पदाधिकारी चयन प्रक्रिया अघि बढ्दै, एक महामन्त्री पदका लागि पाँच दाबेदार

काठमाडौं । गत आइतबारदेखि चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएको छ। केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएसँगै अब पदाधिकारी चयन प्रक्रियातर्फ ध्यान केन्द्रित भएको छ।

पार्टी संरचनाअनुसार दुईमध्ये एक महामन्त्री मनोनीत हुने व्यवस्था रहेकाले बाँकी एक महामन्त्री पदका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। उक्त पदका लागि हाल पाँच जना नेताहरूले दाबी प्रस्तुत गरेका छन्।

महामन्त्री पदका दाबेदारहरूमा वर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी, शिशिर खनाल, विपिन आचार्य, गणेश पराजुली र मनिष झा रहेका छन्, जसले आ–आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास गरिरहेका छन्।

पार्टी पदाधिकारीलाई सहमतिमार्फत चयन गर्ने विषयमा नेतृत्व तहमा छलफल भइरहेको स्रोतले जनाएको छ। सहमति कायम हुन नसके मतदान प्रक्रियाबाट पदाधिकारी चयन गर्ने विकल्प अन्तिम उपायका रूपमा रहने नेताहरूले बताएका छन्।

Read More

एनएमसीले सेवा प्रवाह डिजिटल बनाउन ‘हेलो एनएमसी’ पोर्टल सुरु

काठमाडौं। नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले सेवा प्रवाहलाई थप पारदर्शी, छरितो र प्रविधिमैत्री बनाउन नयाँ डिजिटल प्रणाली ‘हेलो एनएमसी’ सञ्चालनमा ल्याएको छ। यस प्रणालीमार्फत जिज्ञासा, गुनासो, उजुरी तथा सुझावहरू अनलाइनमै दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

काउन्सिलका अनुसार अब सेवाग्राही तथा दर्तावाला चिकित्सकहरूले कार्यालयमा उपस्थित नभई नै डिजिटल माध्यमबाट आफ्ना समस्या वा सुझावहरू पठाउन सक्नेछन्। यसले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सेवा पहुँचका माध्यमहरू

  • दर्तावाला चिकित्सकले doctor.nmc.org.np मा आफ्नो व्यक्तिगत एकाउन्टमार्फत गुनासो दर्ता गर्न सक्ने
  • सर्वसाधारणले www.nmc.org.np मा रहेको ‘हेलो एनएमसी’ पोर्टल प्रयोग गर्न सक्ने
  • काउन्सिलको आधिकारिक QR कोड स्क्यान गरी उजुरी पठाउन सकिने
  • nmc@nmc.org.np मा इमेलमार्फत पनि गुनासो तथा कागजात पठाउन सकिने व्यवस्था

एनएमसीले यस प्रणालीले सेवा प्रवाहलाई अझ उत्तरदायी, पारदर्शी र डिजिटल रूपमा सहज बनाउने विश्वास व्यक्त गरेको छ।

Read More

रास्वपा केन्द्रीय समिति निर्वाचनमा मतगणना अघि विवाद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति निर्वाचन सम्पन्न भए पनि मतगणना प्रक्रिया विवादका कारण प्रभावित भएको छ। विशेषगरी प्रवास कमिटीका प्रतिनिधिहरूको मतदान विधिलाई लिएर पार्टीभित्र मतभेद देखिएको हो।

पार्टीको विधानअनुसार प्रवास कमिटीमा रहेका महाधिवेशन प्रतिनिधिहरूले मोबाइल एपमार्फत मतदान गर्न सक्ने व्यवस्था छ। सो कमिटीमा १६३ जना मतदानयोग्य प्रतिनिधि रहेको जनाइएको छ। तर प्रदेश नेतृत्वले उक्त प्रणालीप्रति असन्तुष्टि जनाउँदै आपत्ति उठाएको छ।

सातै प्रदेशका सभापतिहरूले प्रवास कमिटीको मतदान प्रक्रियाबारे प्रश्न उठाएपछि निर्वाचन सम्पन्न भए पनि मतगणना तत्काल सुरु हुन नसकेको निर्वाचन व्यवस्थापनमा संलग्न स्रोतले जनाएको छ।

रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत पहिलो चरणमा ९९ सदस्यीय केन्द्रीय समितिका लागि मतदान भएको थियो। निर्वाचनमा कुल २ हजार ९५९ प्रतिनिधिले आफ्नो मताधिकार प्रयोग गरेका छन्।

Read More

मनसुनजन्य विपद् सामना गर्न सशस्त्र प्रहरीको विशेष तयारी, ५४ स्थानमा अस्थायी बेस स्थापना

काठमाडौं । मनसुनका कारण हुन सक्ने बाढी, पहिरो र डुबानजस्ता विपद्लाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले देशभर ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ। उद्धार टोली पुग्न समय लाग्न सक्ने जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरी ती स्थानमा आवश्यक जनशक्ति तथा स्रोतसाधन तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रदेशगत रूपमा कोशीमा ६, मधेशमा ११, बागमतीमा १६, गण्डकीमा ४, लुम्बिनीमा ७, कर्णालीमा २ तथा सुदूरपश्चिममा ८ अस्थायी बेस सञ्चालनमा ल्याइएको छ। यसका अतिरिक्त देशका १६ जिल्लामा स्थायी विपद् व्यवस्थापन बेससमेत सक्रिय रहेका छन्।

मुख्य तयारीहरू

  • विपद् प्रतिकार्यका लागि ८ हजार १८० सशस्त्र प्रहरी कर्मचारी २४सै घण्टा तयारी अवस्थामा।
  • बाढी तथा डुबान उद्धारका लागि ८२ र्‍याफ्ट बोट र ५३ मोटर बोट तयारी अवस्थामा।
  • ४ हजार ७१० जना विशेष तालिमप्राप्त उद्धारकर्मी तथा १३४ गोताखोर परिचालनका लागि तयार।
  • जोखिमयुक्त ११ स्थानमा उद्धार सामग्रीसहित विशेष टोली तैनाथ।
  • एक लाख ६८ हजारभन्दा बढी सदस्य आबद्ध ‘विपद् सूचक सञ्जाल’ निर्माण।

सशस्त्र प्रहरीका अनुसार विपद्सम्बन्धी सूचना छिटो प्राप्त गर्न ‘एपीएफ–कम्युनिटी अलर्ट सिस्टम’ सञ्चालनमा ल्याइएको छ। यस प्रणालीमार्फत प्राप्त सूचनाका आधारमा तत्काल उद्धार टोली परिचालन गर्न सकिने व्यवस्था गरिएको छ।

उता, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष औसतभन्दा कम वर्षाको अनुमान गरे पनि मनसुनजन्य विपद्बाट करिब २ लाख २६ हजारभन्दा बढी नागरिक प्रभावित हुन सक्ने प्रक्षेपण गरेको छ। सबैभन्दा बढी प्रभाव लुम्बिनी प्रदेशमा पर्ने अनुमान गरिएको छ।

सशस्त्र प्रहरीले मनसुन अवधिभर उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन जनशक्ति, उपकरण र सूचना संयन्त्रलाई उच्च सतर्कतामा राखिएको जनाएको छ।

Read More