काठमाडौं । मनसुनका कारण हुन सक्ने बाढी, पहिरो र डुबानजस्ता विपद्लाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले देशभर ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ। उद्धार टोली पुग्न समय लाग्न सक्ने जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरी ती स्थानमा आवश्यक जनशक्ति तथा स्रोतसाधन तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रदेशगत रूपमा कोशीमा ६, मधेशमा ११, बागमतीमा १६, गण्डकीमा ४, लुम्बिनीमा ७, कर्णालीमा २ तथा सुदूरपश्चिममा ८ अस्थायी बेस सञ्चालनमा ल्याइएको छ। यसका अतिरिक्त देशका १६ जिल्लामा स्थायी विपद् व्यवस्थापन बेससमेत सक्रिय रहेका छन्।
मुख्य तयारीहरू
- विपद् प्रतिकार्यका लागि ८ हजार १८० सशस्त्र प्रहरी कर्मचारी २४सै घण्टा तयारी अवस्थामा।
- बाढी तथा डुबान उद्धारका लागि ८२ र्याफ्ट बोट र ५३ मोटर बोट तयारी अवस्थामा।
- ४ हजार ७१० जना विशेष तालिमप्राप्त उद्धारकर्मी तथा १३४ गोताखोर परिचालनका लागि तयार।
- जोखिमयुक्त ११ स्थानमा उद्धार सामग्रीसहित विशेष टोली तैनाथ।
- एक लाख ६८ हजारभन्दा बढी सदस्य आबद्ध ‘विपद् सूचक सञ्जाल’ निर्माण।
सशस्त्र प्रहरीका अनुसार विपद्सम्बन्धी सूचना छिटो प्राप्त गर्न ‘एपीएफ–कम्युनिटी अलर्ट सिस्टम’ सञ्चालनमा ल्याइएको छ। यस प्रणालीमार्फत प्राप्त सूचनाका आधारमा तत्काल उद्धार टोली परिचालन गर्न सकिने व्यवस्था गरिएको छ।
उता, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष औसतभन्दा कम वर्षाको अनुमान गरे पनि मनसुनजन्य विपद्बाट करिब २ लाख २६ हजारभन्दा बढी नागरिक प्रभावित हुन सक्ने प्रक्षेपण गरेको छ। सबैभन्दा बढी प्रभाव लुम्बिनी प्रदेशमा पर्ने अनुमान गरिएको छ।
सशस्त्र प्रहरीले मनसुन अवधिभर उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन जनशक्ति, उपकरण र सूचना संयन्त्रलाई उच्च सतर्कतामा राखिएको जनाएको छ।




