२०८३ भाद्र १

सुकुम्बासी व्यवस्थापनको माग गर्दै दाङमा प्रदर्शन

काठमाडौं । दाङमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको पक्षमा बृहत् प्रदर्शन गरिएको छ। ‘बस्न दे सरकार, बाँच्न दे सरकार’ अभियानअन्तर्गत आयोजित प्रदर्शनमा सहभागीहरूले वैकल्पिक व्यवस्था नगरी बस्ती हटाउने सरकारी कदमको विरोध गरेका छन्।

नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिको आयोजनामा भएको प्रदर्शनमा सरकारले विभिन्न स्थानमा सञ्चालन गरिरहेको विस्थापन अभियान र डोजर प्रयोगप्रति असन्तुष्टि व्यक्त गरिएको थियो। प्रदर्शनकारीहरूले भूमिहीन नागरिकहरूको स्थायी व्यवस्थापन तथा लालपुर्जा वितरणको मागसमेत गरेका छन्।

आन्दोलनकारीहरूले काठमाडौँस्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूलाई उचित आवासको व्यवस्था नगरी हटाउने निर्णय फिर्ता लिन आग्रह गरेका छन्। माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी पनि दिइएको छ।

यस अभियानप्रति स्वतन्त्र नागरिक अभियान नेपालले समेत ऐक्यबद्धता जनाएको छ।

Read More

दाङका १० स्थानीय तहको कुल बजेट १० अर्बभन्दा बढी, शिक्षा र पूर्वाधारमा विशेष जोड

काठमाडौं । दाङ जिल्लाका १० वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। दुई उपमहानगरपालिका, एक नगरपालिका तथा सात गाउँपालिकाले गरी कुल रु १० अर्ब १६ करोड ६८ लाख ६१ हजार ४५४ बराबरको बजेट प्रस्तुत गरेका हुन्।

सार्वजनिक बजेटअनुसार तुलसीपुर उपमहानगरपालिकाले सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ भने घोराही उपमहानगरपालिका दोस्रो स्थानमा रहेको छ।

स्थानीय तहअनुसार बजेट विवरण

स्थानीय तहबजेट (रु)
तुलसीपुर उपमहानगरपालिका२ अर्ब ४४ करोड ९५ लाख ९१ हजार
घोराही उपमहानगरपालिका२ अर्ब ३७ करोड ९५ लाख २२ हजार
लमही नगरपालिका९८ करोड १३ लाख ३७ हजार ४५४
गढवा गाउँपालिका८२ करोड ५४ हजार
राप्ती गाउँपालिका७५ करोड ४ लाख ९६ हजार
बंगलाचुली गाउँपालिका६२ करोड ८१ लाख ३३ हजार
राजपुर गाउँपालिका६१ करोड १ लाख ९० हजार
बबई गाउँपालिका५६ करोड ४ लाख ४३ हजार
शान्तिनगर गाउँपालिका५२ करोड २५ लाख ४७ हजार
दंगीशरण गाउँपालिका४६ करोड ४५ लाख ४८ हजार

बजेट निर्माणका क्रममा स्थानीय तहहरूले शिक्षा, स्वास्थ्य सेवा विस्तार, कृषि आधुनिकीकरण, भौतिक पूर्वाधार विकास तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेका छन्। यसका साथै सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउने योजनाहरू पनि समेटिएका छन्।

स्थानीय तहहरूको बजेटको प्रमुख स्रोतका रूपमा सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक तथा विशेष अनुदानका साथै आन्तरिक राजस्वलाई आधार बनाइएको छ।

Read More

नाम हटाइएको भन्दै सांसद संग्रौलाद्वारा निर्वाचन आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला संग्रौलाले पार्टीको प्रथम महाधिवेशनअन्तर्गत भएको निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गरेकी छन्।

संग्रौलाका अनुसार मतदान प्रणालीमा उनको नामबाट ‘ज्वाला’ शब्द हटाइएकाले मतदाताहरूलाई उम्मेदवार पहिचान गर्न कठिनाइ भएको थियो। उनले आफ्नो नामको पछाडि कोष्ठकमा उल्लेख गरिएको ‘ज्वाला’ मतदानका क्रममा प्रयोग गरिएको प्रणालीमा समावेश नगरिएको दाबी गरेकी छन्।

उनले यस विषयलाई सामान्य प्राविधिक त्रुटा नभई नामसँग जोडिएको राजनीतिक व्यवहारको रूपमा व्याख्या गरेकी छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले पार्टीको केन्द्रीय समिति, महाधिवेशन प्रतिनिधि तथा उम्मेदवार मनोनयनका सबै चरणमा आफ्नो नाम एउटै रहेको भए पनि मतदान मेसिनमा भने ‘ज्वाला’ उल्लेख नभएको बताएकी छन्।

उनले मतदाताहरूले ‘ज्वाला’ नाम खोजिरहँदा मतदानको समय सकिएको उल्लेख गर्दै उक्त विषयमा निष्पक्ष छानबिनको मागसहित निर्वाचन आयोगको ध्यानाकर्षण गराएको जानकारी दिएकी छन्।

संग्रौलाले नामसम्बन्धी यो विवादले निर्वाचन प्रक्रियाको पारदर्शिता र निष्पक्षतामाथि प्रश्न उठाएको भन्दै आवश्यक कारबाहीको अपेक्षा व्यक्त गरेकी छन्।

Read More

एन्टि–रेबिज खोपको मौज्दात पर्याप्त, थप खोप आपूर्तिको प्रक्रिया अघि बढ्दै

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभर रेबिज रोकथाम तथा उपचार सेवाको निरन्तरता सुनिश्चित गर्न आवश्यक पहलहरू अगाडि बढाएको जनाएको छ। मन्त्रालयका अनुसार हाल केन्द्रीय, प्रादेशिक तथा जिल्लास्तरीय अस्पतालहरूको भण्डारमा गरी कुल १० हजार ११ भायल एन्टि–रेबिज खोप मौज्दात रहेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा दुई हजार ५०० भायल एन्टि–रेबिज खोप प्राप्त भइसकेको जानकारी दिँदै थप चार हजार ५०० भायल खोप आगामी केही दिनभित्र उपलब्ध हुने सुनिश्चित भएको बताए।

उनका अनुसार उपलब्ध खोपको प्रभावकारी वितरण र व्यवस्थापनका लागि मन्त्रालयले सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गरिरहेको छ। साथै, आवश्यक सेवामा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले रेबिज रोकथाम तथा उपचार कार्यक्रमलाई निरन्तरता दिन आवश्यक कदम चालिएको छ।

मन्त्रालयले स्थानीय तहहरूलाई कुकुर तथा अन्य जनावरको टोकाइसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा आवश्यक खोप सेवाको सहज पहुँच सुनिश्चित गर्न आग्रहसमेत गरेको छ।

सहप्रवक्ता डा. अधिकारीका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा मात्रै करिब ४० दिनका लागि पुग्ने एन्टि–रेबिज खोप मौज्दात रहेको छ। साथै, स्वास्थ्य सेवा विभागमार्फत भइरहेको नियमित खरिद प्रक्रिया सम्पन्न भएपछि खोप आपूर्ति प्रणाली पूर्ण रूपमा नियमित हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

Read More

शासकीय प्रणालीमा परिवर्तनसम्बन्धी प्रस्तावमा राजनीतिक सहमति खोज्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा कानूनमन्त्री सोविता गौतमले पार्टीले अघि सारेको शासकीय स्वरूपसम्बन्धी प्रस्तावमा अन्य राजनीतिक दलहरूसँग प्रारम्भिक छलफल भएको जानकारी दिएकी छन्।

चितवनमा आयोजित पार्टीको प्रथम महाधिवेशनका क्रममा उनले संविधान संशोधन आवश्यक पर्ने विषयहरूमा व्यापक बहस र राजनीतिक सहमति अपरिहार्य रहेको बताइन्। रास्वपाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको शासकीय मोडेल र प्रदेश संरचनाबारे वैकल्पिक प्रस्ताव प्रस्तुत गरेको छ।

उनले पार्टीको प्रस्ताव अन्ततः राजनीतिक दलहरूबीच हुने संवाद र सहमतिमा निर्भर रहने उल्लेख गरिन्। साथै, महाधिवेशनको कार्यतालिका केही प्रभावित भए पनि पदाधिकारी निर्वाचन सम्पन्न भएपछि कार्यक्रमलाई निष्कर्षमा पुर्‍याउने तयारी भइरहेको जानकारी दिइन्।

गौतमले पहिलो महाधिवेशन भएकाले व्यवस्थापन र प्रक्रियागत अनुभवलाई सकारात्मक रूपमा लिइएको बताउँदै आगामी निर्वाचन प्रक्रियामा आफू पनि सहभागी हुने संकेत दिइन्। यद्यपि, आफूले कुन पदका लागि उम्मेदवारी दिने भन्नेबारे भने औपचारिक मनोनयनपछि मात्रै जानकारी गराउने उनले स्पष्ट पारिन्।

Read More

सर्वोच्चले विष्णु पौडेलको पक्राउबारे सरकारसँग स्पष्टीकरण माग्यो

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको पक्राउ सम्बन्धमा सर्वोच्च अदालतले सरकारलाई कारण खुलाउन आदेश दिएको छ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले बिहीबार सरकारका सम्बन्धित निकायलाई पौडेललाई हिरासतमा राख्नुपरेको आधार र कानुनी कारणबारे जानकारी दिन निर्देशन दिएको हो।

पौडेलकी पत्नी दोमाया पौडेलले उनका पति गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेपछि अदालतले प्रारम्भिक सुनुवाइ गर्दै उक्त आदेश जारी गरेको हो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई अनुसन्धानका लागि अदालतबाट केही दिन हिरासतमा राख्ने अनुमति प्राप्त भएको छ। हाल उनी काठमाडौंस्थित प्रहरी हिरासतमा रहेका छन्।

उनीमाथि भइरहेको अनुसन्धान एक व्यावसायिक कम्पनीको सेयर खरिद–बिक्रीसँग सम्बन्धित कारोबारसँग जोडिएको बताइएको छ। अनुसन्धान निकायले उक्त कारोबारमा लगानीको स्रोत, स्वामित्व संरचना तथा आर्थिक लेनदेनका विभिन्न पक्षबारे छानबिन गरिरहेको जनाएको छ।

अनुसन्धानको क्रममा संकलित केही बयान र आर्थिक कारोबारसम्बन्धी विवरणका आधारमा पौडेललाई अनुसन्धानको दायरामा ल्याइएको स्रोतहरूको भनाइ छ। यद्यपि, उनीमाथि लगाइएका आरोपहरूबारे अन्तिम निष्कर्ष भने अनुसन्धान प्रक्रिया पूरा भएपछि मात्र स्पष्ट हुने जनाइएको छ।

यस विषयमा सर्वोच्च अदालतले सरकारको जवाफ मागेपछि पक्राउ प्रक्रिया र अनुसन्धानको कानुनी आधारबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ।

Read More

रास्वपाको नेतृत्व चयन निर्वाचन: पहिलो चरणको मतदान सम्पन्न

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान सम्पन्न भएको छ।

विद्युतीय मतदान सेवा प्रदायक रामलक्ष्मण इनोभेसनका प्रतिनिधि रामप्रसाद रिमालका अनुसार कुल ४,३११ प्रतिनिधिमध्ये २,९५९ जनाले मतदान गरेका छन्।

रास्वपा केन्द्रीय सदस्य चयनका लागि भएको मतदान केहीबेर अघि सम्पन्न भएको हो। निर्वाचन आयोग स्रोतका अनुसार हाल मुचुल्का तयार गर्ने काम भइरहेको छ र त्यसपछि मतगणना सुरु गरिनेछ।

९९ केन्द्रीय सदस्य पदका लागि ३८४ उम्मेदवार प्रतिस्पर्धामा थिए। यस क्रममा १,३५२ प्रतिनिधिले मतदानमा सहभागिता जनाएनन्।

Read More

रास्वपाको प्रथम महाधिवेशन: पदाधिकारी निर्वाचन मतदान समय तय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मतदानको समय तय गरिएको छ।

रास्वपा नेता मनिष झाका अनुसार पदाधिकारीका लागि मतदान आज अपराह्न ४ बजेबाट सुरु हुनेछ। यसअघि पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।

यसैबीच, ९९ केन्द्रीय सदस्य चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भइसकेको छ। प्राप्त जानकारीअनुसार मतगणना केहीबेरमा सुरु हुने बताइएको छ।

Read More

राजा चार्ल्सद्वारा कर विवरण सार्वजनिक गर्ने तयारी


काठमाडौं । बेलायती राजा चार्ल्स तृतीयले आफ्नो व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने तयारी गरेका छन्, जसलाई राजतन्त्रमा पारदर्शिता बढाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

बकिङ्घम दरबारले सार्वभौम अनुदानसम्बन्धी वार्षिक प्रतिवेदनसँगै उक्त विवरण सार्वजनिक गर्ने तयारी गरेको हो। यससँगै राजा चार्ल्स व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने पहिलो बेलायती राजा बन्ने अपेक्षा गरिएको छ।

गत वर्ष दरबारले ८ करोड ६३ लाख पाउन्ड खर्च विवरणसहित १५९ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको थियो। राजपरिवारका आर्थिक गतिविधिमा पारदर्शिताको माग बढ्दै गएको सन्दर्भमा यो निर्णय आएको बताइएको छ।

राजा चार्ल्सले वेल्सका राजकुमार रहँदा पनि कर विवरण सार्वजनिक गर्दै आएका थिए। करिब ६८ करोड पाउन्ड सम्पत्तिका मालिक मानिने उनी कानुनी रूपमा कर तिर्न बाध्य नभए पनि स्वेच्छिक रूपमा कर तिर्दै आएका छन्।

यो कदमलाई बेलायती राजतन्त्रलाई अझ पारदर्शी र जवाफदेही बनाउने प्रयासका रूपमा लिइएको छ।

Read More

रास्वपा केन्द्रीय सदस्य निर्वाचनको मतदान सम्पन्न, नतिजा छिट्टै सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य चयनका लागि भएको मतदान सम्पन्न भएको छ।

पार्टीले पहिलो चरणमा केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया अन्तर्गत मतदान सम्पन्न गरेको हो। निर्वाचन समितिका नेता गणेश पराजुलीका अनुसार करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।

गत असार ७ गतेदेखि सुरु भएको रास्वपाको महाधिवेशन चितवनको भरतपुरमा जारी छ। सोही महाधिवेशन अन्तर्गत सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।

पार्टी विधानअनुसार रास्वपामा कुल १५८ केन्द्रीय सदस्य रहने व्यवस्था छ। जसमध्ये ९९ जना निर्वाचित हुनेछन् भने ५१ जना सदस्य सभापति लामिछानेले मनोनीत गर्ने प्रावधान रहेको छ।

मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्र अन्तिम परिणाम सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ।

Read More