काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा कानूनमन्त्री सोविता गौतमले पार्टीले अघि सारेको शासकीय स्वरूपसम्बन्धी प्रस्तावमा अन्य राजनीतिक दलहरूसँग प्रारम्भिक छलफल भएको जानकारी दिएकी छन्।
चितवनमा आयोजित पार्टीको प्रथम महाधिवेशनका क्रममा उनले संविधान संशोधन आवश्यक पर्ने विषयहरूमा व्यापक बहस र राजनीतिक सहमति अपरिहार्य रहेको बताइन्। रास्वपाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको शासकीय मोडेल र प्रदेश संरचनाबारे वैकल्पिक प्रस्ताव प्रस्तुत गरेको छ।
उनले पार्टीको प्रस्ताव अन्ततः राजनीतिक दलहरूबीच हुने संवाद र सहमतिमा निर्भर रहने उल्लेख गरिन्। साथै, महाधिवेशनको कार्यतालिका केही प्रभावित भए पनि पदाधिकारी निर्वाचन सम्पन्न भएपछि कार्यक्रमलाई निष्कर्षमा पुर्याउने तयारी भइरहेको जानकारी दिइन्।
गौतमले पहिलो महाधिवेशन भएकाले व्यवस्थापन र प्रक्रियागत अनुभवलाई सकारात्मक रूपमा लिइएको बताउँदै आगामी निर्वाचन प्रक्रियामा आफू पनि सहभागी हुने संकेत दिइन्। यद्यपि, आफूले कुन पदका लागि उम्मेदवारी दिने भन्नेबारे भने औपचारिक मनोनयनपछि मात्रै जानकारी गराउने उनले स्पष्ट पारिन्।




