काठमाडौं। नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले सेवा प्रवाहलाई थप पारदर्शी, छरितो र प्रविधिमैत्री बनाउन नयाँ डिजिटल प्रणाली ‘हेलो एनएमसी’ सञ्चालनमा ल्याएको छ। यस प्रणालीमार्फत जिज्ञासा, गुनासो, उजुरी तथा सुझावहरू अनलाइनमै दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।
काउन्सिलका अनुसार अब सेवाग्राही तथा दर्तावाला चिकित्सकहरूले कार्यालयमा उपस्थित नभई नै डिजिटल माध्यमबाट आफ्ना समस्या वा सुझावहरू पठाउन सक्नेछन्। यसले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
सेवा पहुँचका माध्यमहरू
- दर्तावाला चिकित्सकले doctor.nmc.org.np मा आफ्नो व्यक्तिगत एकाउन्टमार्फत गुनासो दर्ता गर्न सक्ने
- सर्वसाधारणले www.nmc.org.np मा रहेको ‘हेलो एनएमसी’ पोर्टल प्रयोग गर्न सक्ने
- काउन्सिलको आधिकारिक QR कोड स्क्यान गरी उजुरी पठाउन सकिने
- nmc@nmc.org.np मा इमेलमार्फत पनि गुनासो तथा कागजात पठाउन सकिने व्यवस्था
एनएमसीले यस प्रणालीले सेवा प्रवाहलाई अझ उत्तरदायी, पारदर्शी र डिजिटल रूपमा सहज बनाउने विश्वास व्यक्त गरेको छ।





