काठमाडौं, असार ११ – जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश र बागमती प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। गण्डकीका केही भाग र लुम्बिनीको पूर्वी क्षेत्रमा पनि मनसुन सक्रिय रहेको विभागको भनाइ छ।
हाल देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका तराई क्षेत्र तथा मधेश, बागमती र गण्डकीका केही तराई क्षेत्रमा पनि वर्षा हुन सक्ने विभागले जनाएको छ।
यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको प्रभाव कायम रहने सम्भावना छ। बागमती र गण्डकीका केही तराई क्षेत्रमा पनि तातो दिन रहने अनुमान गरिएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशका केही तराई क्षेत्र तथा पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।



