काठमाडौं । आज ज्येष्ठ शुक्ल पक्षको निर्जला एकादशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। भगवान् विष्णुप्रति समर्पित यस एकादशीलाई वर्षभरिका एकादशीमध्ये अत्यन्त पुण्यदायी र फलदायी व्रतका रूपमा मानिन्छ।
धार्मिक मान्यताअनुसार आज गङ्गालगायत पवित्र नदीमा स्नान गरी निर्जल व्रत बस्ने तथा जल वा सर्बतले भरिएको घडा दान गर्ने परम्परा रहेको छ। यसो गर्नाले भगवान् विष्णुको विशेष कृपा प्राप्त हुने विश्वास गरिन्छ।
निर्जला एकादशी धार्मिक आस्थासँगै आत्मसंयम, अनुशासन र सांस्कृतिक जीवनशैलीसँग पनि जोडिएको पर्व मानिन्छ। आज तुलसीको दल सुरक्षित राखी हरिशयनी एकादशीका दिन तुलसीको मठमा रोप्ने र हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँग तुलसी विवाह गराउने परम्परा समेत रहेको छ।



