२०८३ असार ११

फिफा विश्वकप : इङ्ल्याण्ड र घानाबीच गोलरहित बराबरी

काठमाडौं। फिफा विश्वकपअन्तर्गत समूह ‘एल’ मा इङ्ल्याण्ड र घानाबीच भएको रोमाञ्चक प्रतिस्पर्धा गोलरहित बराबरीमा टुङ्गिएको छ। दुवै टोलीले खेलभर गोल गर्ने अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भएका हुन्।

समूह चरणको दोस्रो खेलमा मैदान उत्रिएका इङ्ल्याण्ड र घानाले सशक्त प्रदर्शन गरे पनि निर्धारित ९० मिनेटको खेलमा कुनै टोलीले जाली चुमाउन सकेन। परिणामस्वरूप दुवैले एक–एक अंक प्राप्त गरेका छन्।

यसअघि समूह चरणको पहिलो खेलमा इङ्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो भने घानाले पानामामाथि १–० गोलको कठिन जित निकालेको थियो। दोस्रो खेलको बराबरीसँगै दुवै टोलीले नकआउट चरणको सम्भावना बलियो बनाएका छन्।

विश्वकपअन्तर्गत गएराति सम्पन्न अर्को खेलमा पोर्चुगलले उज्वेकिस्तानमाथि ५–० गोलको शानदार जित दर्ता गरेको थियो। स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै पोर्चुगलको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

समूह चरणका बाँकी खेलहरू अझै निर्णायक हुने भएकाले समूह ‘एल’ मा शीर्ष स्थानको प्रतिस्पर्धा थप रोचक बनेको छ।