२०८३ असार १०

ई–पासपोर्ट छपाई अनियमितता प्रकरणमा विशेष अदालतमा बयान जारी

काठमाडौँ । राहदानी विभागको ई–पासपोर्ट छपाई अनियमितता प्रकरणमा विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जनाको विशेष अदालतमा दोस्रो दिन पनि बयान जारी रहेको छ ।

विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा अदालतमा उपस्थित गराइएका प्रतिवादीहरूको बयान चलिरहेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार राहदानी छपाई प्रकरणमा विभागका महानिर्देशक अर्याल, निर्देशक सुनिल कुमार केसी, तत्कालीन लेखाधिकृत तुलसी प्रसाद आचार्य, तत्कालीन शाखा अधिकृत सोमेश थापा, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव (कानुन) राजाराम दाहाल र जर्मनी कम्पनी मुल्हबाउरका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ललाई अदालतमा उपस्थित गराएको थियो।

बयान प्रक्रिया पूरा भएपछि थुनछेक बहस अघि बढ्ने बताइएको छ।

Read More

जुम्लामा वन कार्यालयले ११ महिनामा ६५ लाखभन्दा बढी राजस्व सङ्कलन

काठमाडौं । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११ महिनामा ६५ लाख ४१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका अनुसार सो अवधिमा वन क्षेत्रको रोयल्टीमार्फत ९३ हजार ४०० रुपैयाँ, बेरुजुबाट चार लाख ७५ हजार ५८१ रुपैयाँ, प्रशासनिक सेवाशुल्कबाट नौ हजार १७५ रुपैयाँ र अन्य आयमार्फत ५९ लाख ६३ हजार १५० रुपैयाँ सङ्कलन भएको छ।

वन अधिकृत तेजेन्द्र रावलले कार्यालयले वन संरक्षण तथा अवैध गतिविधि नियन्त्रणमा निरन्तर काम गरिरहेको बताए।

यस अवधिमा वन डढेलो नियन्त्रण नौ पटक गरिएको छ भने एक वटा स्वचालित हाते आरा सूचीकृत गरिएको छ। त्यस्तै, फर्निचर उद्योग अनुगमन तथा नियमन ३३ पटक गरिएको र १९ वटा सामुदायिक वन कार्ययोजना नवीकरण गरिएको कार्यालयले जनाएको छ।

त्यसैगरी करिब ३१ लाख १ हजार ८१३ किलो जडीबुटी जिल्लाबाट निकासी (छोडपुर्जी) गरिएको छ। पाँच हेक्टर वन क्षेत्रको अतिक्रमण रोकथाम गरिएको पनि जनाइएको छ।

सूचना अधिकारी प्रकाश देवकोटाका अनुसार जिल्लाका आठ स्थानीय तहमा ४६ वटा नयाँ वन कार्ययोजना कार्यान्वयनमा छन्।

हाल जुम्लामा २०६ वटा सामुदायिक वन, १२७ कबुलियती वन र ६ वटा निजी वन रहेका छन्।

Read More

डीआरसीमा इबोला प्रकोप तीव्र, मृत्यु र सङ्क्रमण दुवै बढ्दै

काठमाडौं । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा हालसम्म २७७ जनाको मृत्यु भएको र १ हजार ९४ जनामा सङ्क्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

डब्ल्यूएचओका अनुसार हाल ३८७ जना बिरामी उपचाररत छन् भने ११५ जना निको भइसकेका छन्। कङ्गोका अधिकारीहरूले थप ४४ जनाको शङ्कास्पद मृत्यु र १३१ वटा शङ्कास्पद घटनाहरू पनि दर्ता गरेका छन्।

स्वास्थ्य मन्त्रालयको दैनिक प्रतिवेदनमा समुदायमा फैलिएको संक्रमणका कारण साप्ताहिक रूपमा नयाँ केसहरू बढिरहेको देखिएको छ। प्रारम्भिक चरणमा गरिएको सक्रिय परीक्षण, निगरानी र प्रयोगशाला क्षमताको विस्तारले रोग छिटो पहिचान गर्न मद्दत गरेको डब्ल्यूएचओले जनाएको छ।

डब्ल्यूएचओका आपतकालीन कार्यक्रम प्रमुख अब्दिराहमान महामुदका अनुसार अफ्रिकामा पहिलो महिनामै देखिएको यो सबैभन्दा ठूलो इबोला प्रकोप हो। उनका अनुसार हाल उपचार क्षमता विस्तार भई १९ स्वास्थ्य क्षेत्रमा ५०० भन्दा बढी शैय्यामा सेवा उपलब्ध भएको छ।

प्रयोगशाला परीक्षण क्षमता पनि तीव्र रूपमा बढाइएको छ। पहिले किन्शासामा दैनिक करिब ३० परीक्षण हुने गरेकामा अहिले इटुरी, उत्तरी किवु र दक्षिण किवुमा फैलिएको आठ प्रयोगशालाको सञ्जालमार्फत दैनिक दुई हजारभन्दा बढी परीक्षण सम्भव भएको छ।

राष्ट्रपति फेलिक्स त्सेसेकेदीले इटुरी प्रान्तमा भइरहेको नियन्त्रण तथा प्रतिक्रिया कार्यको अनुगमन गर्ने बताएका छन्। उनले बुरुन्डीका राष्ट्रपति एभारिस्ट नदाइसिमियीसँगको संयुक्त पत्रकार सम्मेलनमा क्षेत्रीय सहयोग बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।

नदाइसिमियीले भने सीमा बन्द नगरी महामारी नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्।

यसैबीच, युगान्डामा पनि इबोला फैलिएको पुष्टि भएको छ। त्यहाँ २० जना संक्रमितमध्ये १४ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ। तीमध्ये १५ वटा केस आयातित रहेको जनाइएको छ।

डीआरसी र युगान्डाले संयुक्त रूपमा निगरानी टोली, मोबाइल प्रयोगशाला र उपचार केन्द्र परिचालन गर्दै सीमापार समन्वय विस्तार गरेका छन्।

डब्ल्यूएचओका अनुसार पूर्वी कङ्गो र पश्चिमी युगान्डाबीचको आवागमनका कारण क्षेत्रीय रूपमा संक्रमण फैलिने जोखिम अझै उच्च रहेको छ।

Read More

काठमाडौँ महानगरपालिकामा सहकारी बचत फिर्ता प्रक्रिया तीव्र, ६ हजार बचतकर्ताको निवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ बचत फिर्ताका लागि करिब ६ हजार बचतकर्ताले निवेदन दिएका छन्।

सहकारी विभागका अनुसार बचत फिर्ता माग गर्ने निवेदकहरूको संख्या हाल लगातार बढ्दै गएको छ। वैशाख १७ देखि हालसम्म विभिन्न सहकारीका बचतकर्ताहरूले आफ्नो रकम फिर्ताका लागि आवेदन दिएका हुन्।

विभाग प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार दैनिक औसत करिब ३० वटा उजुरी दर्ता भइरहेका छन्, जसमा अधिकांश साना बचतकर्ता रहेका छन्। उनीहरूले सामान्यतया १ लाखदेखि ५ लाख रुपैयाँसम्मको बचत गरेको पाइएको छ।

महानगरपालिकाले पछिल्लो समय प्राप्त उजुरीका आधारमा समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाएको छ। केही दिनअघि मात्रै बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमार्फत ३४ जना बचतकर्ताको रकम फिर्ता गरिएको विभागले जनाएको छ, जसअन्तर्गत १ लाख ५० हजार रुपैयाँसम्मका बचतकर्तालाई रकम फिर्ता गरिएको हो।

विभागका अनुसार आगामी एक महिनाभित्र ५ लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताहरूको रकम फिर्ता गर्ने योजना रहेको छ। ठूला बचतकर्ताको हकमा भने ऋण असुली प्रक्रिया अघि बढाउँदै समन्वयमार्फत बचत फिर्ता गर्ने तयारी भइरहेको छ।

सहकारी विभागले उजुरी दर्ता गर्ने, सञ्चालक र बचतकर्ताबीच छलफल तथा मिलापत्र गराउने कार्य गर्दै आएको छ। सहमति हुन नसकेमा आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गरिने विभागले जनाएको छ।

हाल काठमाडौँ महानगरपालिकामा १,९१२ सहकारी संस्था दर्ता रहेका छन्। तीमध्ये करिब ५० प्रतिशत सहकारीले मात्र नियमित वार्षिक साधारणसभा गरी प्रतिवेदन पेस गर्ने गरेको पाइएको छ। नियमित साधारणसभा नगर्ने सहकारीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया पनि अघि बढाइने महानगरले जनाएको छ।

Read More

कर्णाली प्रदेशमा यातायात कार्यालयहरूको राजस्व संकलनमा उल्लेखनीय वृद्धि

काठमाडौं। कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र चौरजहारीस्थित यातायात व्यवस्था कार्यालयहरूले चालु आर्थिक वर्षको ११ महिनामा कुल ३१ करोड २३ लाख ५१ हजार ८७० रुपैयाँ राजस्व संकलन गरेका छन्।

प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीका अनुसार सो अवधिमा सबैभन्दा बढी राजस्व यातायात व्यवस्था कार्यालय सुर्खेतले संकलन गरेको छ। सुर्खेत कार्यालयले मात्र २६ करोड ७० लाख १५ हजार ३४४ रुपैयाँ राजस्व संकलन गरेको उनले जानकारी दिए।

त्यसैगरी, रुकुम–पश्चिमको चौरजहारीस्थित यातायात व्यवस्था सेवा कार्यालयले ३ करोड ५ लाख ६३ हजार ३२१ रुपैयाँ तथा जुम्लास्थित यातायात व्यवस्था सेवा कार्यालयले १ करोड ४७ लाख ७३ हजार २०५ रुपैयाँ राजस्व संकलन गरेको प्रवक्ता सुवेदीले बताए।

कर्णाली प्रदेशमा यातायात क्षेत्रलाई प्रमुख राजस्व स्रोतका रूपमा लिइँदै आएको छ, जसमा कुल राजस्वको झण्डै ८० प्रतिशत हिस्सा सवारीसाधन करबाट संकलन हुने गरेको छ।

सवारीसाधन करतर्फ मात्रै जेठ मसान्तसम्म २४ करोड ९७ लाख रुपैयाँ संकलन भएको छ। सो अवधिमा सुर्खेत कार्यालयले २१ करोड ५६ लाख ९३ हजार, चौरजहारीले २ करोड ६६ लाख ५१ हजार र जुम्लाले ७३ लाख ६५ हजार रुपैयाँ सवारीसाधन कर संकलन गरेका छन्।

Read More

सुनचाँदीको मूल्य लगातार घट्दै, आज पनि तोलामा गिरावट

काठमाडौं। स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। लगातार दोस्रो दिन गिरावट आउँदा सुन तथा चाँदी दुवैको दरमा उल्लेखनीय कमी देखिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले घटेर २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य पनि १०५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो मंगलबार सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँ र चाँदी ४ हजार ५९० रुपैयाँमा कारोबार भएको थियो। सोमबार भने सुन २ लाख ८८ हजार ७०० रुपैयाँ र चाँदी ४ हजार ७३० रुपैयाँमा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ६४ अमेरिकी डलर र चाँदी ६१ अमेरिकी डलरमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

एचआईभी/एड्स नियन्त्रणमा उल्लेखनीय प्रगति भए पनि चुनौती कायमै : संयुक्त राष्ट्रसंघको चेतावनी

काठमाडौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले एचआईभी/एड्स महामारी अन्त्य गर्न विश्वव्यापी रूपमा अझ सुदृढ राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।

संयुक्त राष्ट्रसंघको महासभाअन्तर्गत आयोजित एचआईभी/एड्ससम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले महामारीविरुद्धका प्रयासलाई तीव्र बनाउनुपर्नेमा जोड दिएका हुन्।

महासचिवको तर्फबाट उद्घाटन सत्रमा उपमहासचिव अमिना मोहम्मदले प्रस्तुत गरेको तथ्याङ्कअनुसार पछिल्ला वर्षहरूमा एड्ससम्बन्धी मृत्यु दर उल्लेखनीय रूपमा घटेको छ। सन् २००४ को तुलनामा मृत्यु ७० प्रतिशतले र सन् २०१० को तुलनामा ५४ प्रतिशतले घटेको छ।

त्यसैगरी नयाँ संक्रमणदर ४० प्रतिशतले कमी आएको तथा हाल विश्वभर ३ करोड २० लाखभन्दा बढी संक्रमितले जीवनरक्षक एन्टिरेट्रोभाइरल उपचार पाइरहेका छन्।

यद्यपि संयुक्त राष्ट्रसंघले एचआईभी/एड्सको चुनौती अझै अन्त्य नभएको भन्दै सतर्क रहन आग्रह गरेको छ। सामाजिक असमानता, डर र विभेदले नियन्त्रण प्रयासलाई अझै कठिन बनाइरहेको उल्लेख गरिएको छ।

महासचिवको सन्देशमा स्थानीयदेखि विश्वव्यापी तहसम्म समन्वित प्रयासमार्फत मात्र दीर्घकालीन रूपमा महामारी अन्त्य सम्भव हुने स्पष्ट पारिएको छ।

Read More

रास्वपा महाधिवेशनमा बालेन निकट सल्लाहकारहरूको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनमा प्रधानमन्त्री तथा पार्टी वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निकट सल्लाहकार तथा सचिवालयका सदस्यहरूले पनि उम्मेदवारी दिएका छन्।

प्रमुख राजनीतिक सल्लाहकार असिम साहले खुला मुस्लिम समावेशी तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्। उनले पार्टीभित्र कुनै गुट नरहेको सन्देश दिन र समावेशी सहभागिता मजबुत बनाउन आफूले उम्मेदवारी दिएको बताएका छन्।

त्यस्तै, प्रधानमन्त्री बालेनका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र स्वकीय उपसचिव प्रकृति ढकालले पनि केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धा गरेका छन्।

महाधिवेशनमा निकट सहयोगीहरूको समेत सक्रिय सहभागिताले रास्वपाभित्रको आन्तरिक प्रतिस्पर्धा थप चासोको विषय बनेको छ।

Read More

४९ अर्ब ८३ करोड रुपैयाँ बराबर  मल आयात

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालले करिब ४९ अर्ब ८३ करोड रुपैयाँ बराबरको रासायनिक मल आयात गरेको छ। युरिया, डिएपी र पोटास गरी ठूलो परिमाणमा मल भित्रिए पनि धान रोपाइँको मुख्य सिजनमै किसानहरूले पर्याप्त मल पाउन नसकेको गुनासो कायमै रहेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशमा वार्षिक करिब ७ लाख मेट्रिक टन मल आवश्यक पर्ने गर्छ। यस वर्ष आयातित मलमध्ये युरियाको हिस्सा सबैभन्दा बढी रहेको छ।

सरकारले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमार्फत अनुदानमा मल वितरण गर्दै आए पनि खरिद प्रक्रिया, ढुवानी ढिलाइ, वितरण व्यवस्थापनको कमजोरी तथा माग–आपूर्तिबीचको असन्तुलनका कारण हरेक वर्षजस्तै यसपटक पनि किसानले समयमै मल पाउन सकेका छैनन्।

विशेषज्ञहरूका अनुसार आयातमा अर्बौं रुपैयाँ खर्च भए पनि प्रभावकारी वितरण प्रणालीको अभावले कृषि उत्पादनमै असर पर्ने जोखिम बढाएको छ। उता, स्वदेशमै मल उद्योग स्थापना गर्ने चर्चा वर्षौंदेखि चल्दै आए पनि उच्च लागत, कच्चा पदार्थ र ऊर्जा स्रोतको चुनौतीका कारण योजना अझै कार्यान्वयनमा आउन सकेको छैन।

Read More

बर्ड फ्लु फैलावटले ११ जिल्ला प्रभावित : ८२ स्थानमा संक्रमण, लाखौं पन्छी नष्ट : उच्च सतर्कता जारी

काठमाडौं । देशभर चरा तथा पन्छीहरूमा देखिने अत्यन्त संक्रामक भाइरल रोग ‘बर्ड फ्लु’ को फैलावट चिन्ताजनक बन्दै गएको छ। पशु सेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ भन्दा बढी स्थानमा संक्रमण पुष्टि भइसकेको छ, जसले पशुपन्छी क्षेत्रमै गम्भीर जोखिम उत्पन्न गरेको छ।

विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार गत चैत ४ गते मोरङमा पहिलोपटक देखिएको संक्रमण क्रमशः फैलिँदै अहिले झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लासम्म पुगेको छ।

संक्रमण नियन्त्रणका लागि हालसम्म प्रभावित क्षेत्रमा ठूलो मात्रामा पन्छी तथा उत्पादन नष्ट गरिएको छ। विभागका अनुसार ५ लाख ६९ हजार ८ सय ५८ वटा पन्छी, ९ लाख ८९ हजार ३ सय १३ वटा अन्डा तथा १ लाख ९५ हजार ४ सय ८५ किलो दाना नष्ट गरिएको छ, जसले आर्थिक क्षति समेत बढाएको छ।

कोशी प्रदेशमा संक्रमण नियन्त्रणका लागि एक महिनासम्म पन्छी ओसारपसारमा रोक लगाइएको थियो। हाल रोग नियन्त्रणमा आएको भन्दै उक्त प्रतिबन्ध केही खुकुलो बनाइएको छ। यद्यपि अवैध रूपमा भित्र्याइएका शंकास्पद पन्छी नष्ट गर्न पशु क्वारेन्टाइन कार्यालयले गस्ती तथा निगरानी कडा बनाएको जनाएको छ।

हाल झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आएको बताइए पनि काठमाडौं उपत्यकाका तीन जिल्लासहित काभ्रेका केही स्थानमा अझै पनि संक्रमण देखिएको छ।

पशु स्वास्थ्य विज्ञहरूले बर्ड फ्लु पुनः फैलिन सक्ने जोखिम कायम रहेकाले कुखुरा पालन, ओसारपसार र बजार व्यवस्थापनमा अत्यधिक सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै, संक्रमण रोकथामका लागि तत्काल प्रभावकारी नियन्त्रण र निरन्तर निगरानी अपरिहार्य रहेको बताएका छन्।

Read More