२०८३ श्रावण ३१

वीरगञ्ज महानगरको नीति तथा कार्यक्रममा पूर्वाधारदेखि कृषि आधुनिकीकरणसम्म प्राथमिकता

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा पूर्वाधार विकास, वन तथा वातावरण, विपद् व्यवस्थापन, आर्थिक तथा सामाजिक विकास र सुशासनलाई प्रमुख प्राथमिकतामा राखेको छ।

महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलमले २०औँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरलाई डिजिटल, सुशासनयुक्त, नागरिक–केन्द्रित सेवा प्रवाह भएको सहरका रूपमा विकास गर्ने लक्ष्य लिइएको बताए। उनले हरित तथा दिगो शहरी संरचना निर्माण गर्दै वीरगञ्जलाई उद्यमशीलता र लगानीको केन्द्र तथा अवसर सिर्जना गर्ने आर्थिक हबका रूपमा रूपान्तरण गर्ने योजना रहेको उल्लेख गरे।

नीति तथा कार्यक्रममा दिगो विकास लक्ष्यको स्थानीयकरण, आधुनिक शहरी पूर्वाधार विस्तार, सुरक्षित तथा व्यवस्थित बस्ती विकास, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, कृषि तथा उद्यम विकास, लगानी र पर्यटन प्रवर्द्धनलाई विशेष प्राथमिकतामा राखिएको छ। साथै सुशासन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सामाजिक सुरक्षा र समावेशी विकासलाई पनि जोड दिइएको छ।

महानगरले आन्तरिक आय वृद्धि, सेवा प्रवाहमा सुधार, प्रविधिमैत्री प्रशासन, नागरिक सहभागितामा आधारित विकास व्यवस्थापन र सार्वजनिक स्रोतको पारदर्शी तथा परिणाममुखी उपयोगलाई समेत प्राथमिकतामा राखेको छ।

कृषि क्षेत्रका सम्बन्धमा बोल्दै प्रमुख आलमले आधुनिक प्रविधिमा आधारित उत्पादनशील कृषि प्रणाली अवलम्बन गरिने बताए। गहुँ उत्पादन वृद्धि गर्न कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत बीउ वितरण कार्यक्रम निरन्तर सञ्चालन गरिने उनले जानकारी दिए।

त्यसैगरी जलवायु परिवर्तन र रासायनिक मलको अत्यधिक प्रयोगका कारण देखिएका कृषि जोखिम न्यूनीकरणका लागि ‘आकस्मिक बाली संरक्षण कार्यक्रम’ सञ्चालन गरिनेछ। कृषकलाई आधुनिक प्रविधिसँग जोड्न वर्षे र हिउँदे मिनीकिट वितरण तथा सहरी क्षेत्रमा च्याउ खेती प्रवर्द्धनका लागि च्याउको बीउ वितरण कार्यक्रमलाई पनि प्राथमिकता दिइएको छ।

शिक्षा क्षेत्रमा दिगो विकास लक्ष्यअनुसार गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सबै बालबालिकालाई विद्यालय पहुँचमा ल्याउने र भर्ना दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिइएको छ। यसका लागि समन्वय, अनुगमन र मूल्याङ्कनलाई थप प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ।

Read More

बजेट असन्तुष्टिका कारण लुम्बिनी प्रदेश सभा बैठक निरन्तर अवरुद्ध

काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठक बजेटप्रति असन्तुष्टि जनाउँदै सत्ता पक्षकै केही सांसदहरूले विरोध गरेपछि लगातार प्रभावित हुँदै आएको छ। सहमति जुट्न नसकेपछि बैठक पुनः बिहीबारसम्मका लागि स्थगित गरिएको छ।

यसअघि बसेको बैठकमा बजेटसम्बन्धी विषयमा सत्ता पक्ष र प्रतिपक्षका केही सांसदहरूले असन्तुष्टि जनाउँदै विरोध जनाएपछि सभामुखले बैठक केही समयका लागि स्थगित गरेका थिए। त्यसपछि पनि बैठक सञ्चालन हुन नसकेपछि अर्को सूचना जारी गरी बैठक सारिएको थियो।

बुधबारका लागि तोकिएको बैठकसमेत दलहरूबीच सहमति नजुटेपछि बस्न नसकेको र अन्ततः स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

यसअघि पनि सांसदहरूले बजेटसम्बन्धी ‘रातो किताब’ समयमै उपलब्ध नभएको भन्दै बैठक सञ्चालनमा अवरोध गरेका थिए, जसका कारण बैठक तालिका पटक–पटक प्रभावित हुँदै आएको छ।

Read More

रास्वपाको महिला उपसभापतिमा लिमा अधिकारीको चर्चा, सर्वसम्मत चयनको प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महिला उपसभापति पदका लागि लिमा अधिकारीको नाम अगाडि आएको छ। प्रतिनिधिसभा सदस्य तथा हाल पार्टी कोषाध्यक्ष रहेकी अधिकारीलाई उक्त पदमा दाबीका रूपमा हेरिएको छ।

पार्टी संरचनाअनुसार केन्द्रीय सदस्यमा निर्वाचित भएपछि मात्र पदाधिकारी पदमा उम्मेदवारी दिन पाइने व्यवस्था भए पनि महिला उपसभापति पदका लागि अधिकारीको नाम महाधिवेशनमा चर्चामा रहेको छ।

महाधिवेशनमार्फत उनलाई सर्वसम्मत रूपमा उपसभापति चयन गर्ने प्रयास भइरहेको स्रोतहरूले जनाएका छन्। पार्टीभित्र संगठन व्यवस्थापन, आर्थिक अनुशासन र नीति निर्माणमा सक्रिय भूमिकाका कारण उनको नाम अघि सारिएको बताइन्छ।

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारी रास्वपाको स्थापनाकालदेखि नै संगठन निर्माण र आर्थिक व्यवस्थापनमा सक्रिय रहँदै आएकी छन्। कोषाध्यक्षका रूपमा उनले पार्टीको आर्थिक पारदर्शिता र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ।

Read More

नेप्से परिसूचक लगातार दबाबमा, कारोबार रकममा सामान्य सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज पनि घटेर बन्द भएको छ। कारोबार सुरु भएदेखि नै ओरालो लागेको बजार अन्त्यमा दोहोरो अंकले घट्दै २६ सय विन्दु आसपासमा झरेको हो।

यसअघि पनि बजार लगातार घट्ने क्रममै देखिएको थियो र अघिल्ला दुई कारोबार दिनमा समेत परिसूचक घटेर २६ सयको माथिल्लो दायरामै बन्द भएको थियो।

बजार घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य रूपमा बढेको छ।

आजको दिन ३३८ वटा कम्पनीका सेयर कारोबार भएका छन् भने १ करोडभन्दा बढी कित्ता सेयर किनबेच भएको छ। बजारमा ६२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २०० भन्दा बढी कम्पनीको घटेको छ। बाँकी केही कम्पनीहरूको मूल्य स्थिर रहेको छ।

आजको कारोबारमा केही हाइड्रोपावर कम्पनीहरूको सेयरमा उल्लेखनीय वृद्धि देखिएको छ। टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलको वृद्धि भएको छ भने भुजुङ्ग हाइड्रोपावर पनि उच्च दरमा बढेको छ।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो। त्यसपछि औषधि क्षेत्रको सोपान फर्मास्युटिकल्स र अन्य जलविद्युत तथा बैंकिङ क्षेत्रका कम्पनीहरू उच्च कारोबारमा रहे।

समग्रमा बजारमा फाइनान्स र ट्रेडिङ समूहबाहेक अधिकांश उपसूचकहरू दबाबमा रहेका देखिएका छन्।

Read More

काठमाडौं उपत्यकाका सम्पदास्थलमा वार्म लाइट जडान गर्ने तयारी

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका सम्पदास्थलहरूमा हाल प्रयोग भइरहेका एलईडी र सिएफएल बत्ती हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको छ।

ऊर्जा मन्त्रालयका अनुसार विश्व सम्पदा सूचीमा परेका पर्यटकीय तथा सांस्कृतिक क्षेत्रहरूको सौन्दर्यीकरण र संरक्षणलाई ध्यानमा राख्दै सम्पदा सुहाउँदो प्रकाश व्यवस्था गर्न लागिएको हो। मन्त्रालयले धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा सामाजिक महत्वका स्थानहरूको संरक्षण गर्ने राष्ट्रिय नीति अनुसार यो योजना अघि बढाइएको जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले हाल प्रयोग भइरहेको सेतो उज्यालो दिने बत्तीले सम्पदाको मौलिक सौन्दर्य प्रस्ट नदेखिएको भन्दै त्यसलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। उनका अनुसार सम्पदा क्षेत्रको स्वरूपसँग मेल खाने पहेँलो तथा न्यानो उज्यालो दिने वार्म लाइट जडान गरिनेछ।

मन्त्री श्रेष्ठले सम्पदा क्षेत्रको सौन्दर्य व्यवस्थापनमा नेपाल विद्युत् प्राधिकरणले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै उपयुक्त प्रकाश प्रणालीले पर्यटक आकर्षणमा पनि सकारात्मक प्रभाव पार्ने बताए।

Read More

केन्द्रीय सदस्य निर्वाचनअघि रास्वपा महाधिवेशनमा प्रचार अभियान तीव्र

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढेसँगै महाधिवेशनस्थलमा चुनावी गतिविधि तीव्र बनेको छ। उम्मेदवारी दिएका नेता, तिनका समर्थक तथा शुभेच्छुकहरू बिहानैदेखि प्रतिनिधिहरूसँग भेटघाट गर्दै मत माग्न सक्रिय देखिएका छन्।

महाधिवेशनस्थल वरपर प्रचारप्रसारको चहलपहल बढेको छ। उम्मेदवारहरूले आफ्ना पक्षमा मत आकर्षित गर्न विभिन्न माध्यमबाट प्रचार अभियान सञ्चालन गरिरहेका छन्। अत्यधिक गर्मीका बाबजुद मन्त्री, सांसद तथा पार्टीका अन्य नेताहरू पनि चुनावी दौडधुपमा व्यस्त छन्।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरिनसकेकाले प्रतिस्पर्धामा कति मन्त्री सहभागी छन् भन्ने यकिन नभए पनि केही मन्त्रीहरू प्रतिनिधिहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेर मत मागिरहेका छन्। उम्मेदवारका समर्थकहरूले प्रचार सामग्री वितरण गर्दै आफ्नो पक्षमा माहोल बनाउन प्रयास गरिरहेका छन्।

रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरूले केही दिनयता निरन्तर प्रचार अभियान चलाइरहेका छन्। उनका अनुसार निर्वाचनका बेला नेताहरूले फोनमार्फत समेत मत माग्नु सामान्य प्रक्रिया हो। उनले महाधिवेशन परिसरभित्र पर्चा तथा पम्प्लेटजस्ता प्रचार सामग्री प्रयोगमा रोक लगाइएको भए पनि अन्य माध्यमबाट प्रचार जारी रहेको बताए।

रास्वपाको विधानअनुसार सभापति र केन्द्रीय सदस्यका लागि पहिलो चरणमा निर्वाचन हुने व्यवस्था छ। निर्वाचित केन्द्रीय सदस्यहरूले मात्र दोस्रो चरणका अन्य पदमा उम्मेदवारी दिन पाउने भएकाले केन्द्रीय सदस्यको निर्वाचनलाई विशेष महत्वका साथ हेरिएको रास्वपा चितवनका सचिव तेजेन्द्र पौडेलले बताए।

महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधिले मतदान गर्ने अपेक्षा गरिएको छ। ९९ निर्वाचित केन्द्रीय सदस्य पदका लागि ४०० भन्दा बढी उम्मेदवारी परेकाले प्रतिस्पर्धा निकै कडा हुने देखिएको छ। विद्युतीय मतदान प्रणालीमार्फत निर्वाचन हुने र विभिन्न क्लस्टरका आधारमा सदस्य चयन गरिने व्यवस्थाका कारण परिणाम अझ रोचक र पेचिलो बन्ने विश्लेषण गरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार पार्टीका प्रदेशस्तरीय निर्वाचनमा यसअघि केही चर्चित नेता तथा सांसदसमेत पराजित भएका कारण यसपटक पदमा रहेका नेताहरू चुनावी प्रचारमा बढी सक्रिय देखिएका हुन्।

Read More

प्रतिनिधि सभाको बिहीबारको बैठक स्थगित, अब शुक्रबार बस्ने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बिहीबारका लागि तय गरिएको बैठक स्थगित गरिएको छ।

संसद सचिवालयले बुधबार सूचना जारी गर्दै बिहान ११ बजे बस्ने कार्यतालिका रहेको बैठक विशेष कारणले सो समयमा सञ्चालन हुन नसक्ने जनाएको हो।

सचिवालयका अनुसार प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी समय निर्धारण गरिएको छ।

Read More

आगामी वर्षका लागि वीरगन्ज महानगरको ४ अर्ब ४२ करोड बजेट, कृषि, स्वास्थ्य र शिक्षामा प्राथमिकता

काठमाडौँ । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न नगरसभाको २०औँ अधिवेशनमा महानगरका कार्यवाहक मेयर इम्तियाज आलमको तर्फबाट नगरकार्यपालिका सदस्य जगत साह कानुले आय–व्ययको अनुमानसहित बजेट प्रस्तुत गरेका हुन्।

महानगरले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार उल्लेख्य रूपमा बढाएको छ। विनियोजित बजेटमध्ये चालु खर्चतर्फ कुल बजेटको ५४.३ प्रतिशत, पुँजीगत खर्चतर्फ ४४.६ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १.१ प्रतिशत रकम छुट्याइएको छ।

बजेटका प्रमुख तथ्याङ्क

विवरणरकम (रुपैयाँ)
कुल बजेट४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार
चालु आर्थिक वर्षको बजेट३ अर्ब २२ करोड ४८ लाख ४९ हजार
चालु खर्च२ अर्ब ४० करोड ३४ लाख ६९ हजार
पुँजीगत खर्च१ अर्ब ९६ करोड ९९ लाख ८४ हजार
वित्तीय व्यवस्थापन५ करोड
संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरण१ अर्ब ९८ करोड २९ लाख
आन्तरिक राजस्व१ अर्ब ४८ करोड
संघीय राजस्व बाँडफाँट२४ करोड ६८ लाख ८३ हजार
प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरण५ करोड २८ हजार
प्रदेश राजस्व बाँडफाँट१ करोड ६७ लाख १४ हजार
घरजग्गा रजिष्ट्रेशन शुल्क४५ करोड
गत वर्षको नगद मौज्दात४ करोड ६९ लाख ४४ हजार
नगर विकास कोष१५ करोड

महानगरले आगामी आर्थिक वर्षको खर्च व्यवस्थापनका लागि संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आम्दानी, घरजग्गा रजिष्ट्रेशन शुल्क, गत वर्षको मौज्दात रकम तथा नगर विकास कोषलाई प्रमुख स्रोतका रूपमा उपयोग गर्ने जनाएको छ।

बजेट प्रस्तुत गर्दै कानुले शिक्षा, स्वास्थ्य सेवा, सरसफाइ व्यवस्थापन, वन तथा वातावरण संरक्षण, कृषि, पर्यटन तथा उद्योग प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको बताए। साथै गुणस्तरीय भौतिक पूर्वाधार विकास र प्रविधिमा आधारित सेवा प्रवाहलाई समेत विशेष महत्व दिइएको उनले जानकारी दिए।

यसअघि नगरसभामा कार्यवाहक मेयर आलमले आगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहरा, नगरकार्यपालिका सदस्य, ३२ वटै वडाका जनप्रतिनिधि तथा महानगरका कर्मचारीहरूको सहभागिता रहेको थियो।

Read More

रास्वपा महाधिवेशनमा आज मतदान हुँदै, दाबी–विरोधको प्रक्रिया जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा जारी छ । आज केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ ।

अहिले महाधिवेशनस्थलमा दाबी–विरोधको काम भइरहेको पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार मतदान प्रक्रिया सुरु हुन केही समय लाग्नेछ ।

९९ केन्द्रीय सदस्यका लागि करिब ४०० जनाको उम्मेदवारी दर्ता भएको छ । मतदानका लागि ८० वटा मेसिन तयारी अवस्थामा राखिएको छ ।

Read More

धनगढी उपमहानगरको २ अर्ब ६४ करोड ६४ लाखको बजेट सार्वजनिक

काठमाडौं । धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ६४ करोड ६४ लाख ६४ हजार ४६४ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरसभाको १५औँ अधिवेशनमा उपप्रमुख कन्दकला कुमारी रानाले आय–व्यय विवरण प्रस्तुत गरेकी हुन्।

उपमहानगरले चालु तथा पुँजीगत खर्चसँगै आन्तरिक स्रोत र संघ–प्रदेशबाट प्राप्त हुने रकम समेटेर बजेट संरचना तयार गरेको छ।

बजेट तथा स्रोत विवरण

शीर्षकरकम
कुल बजेटरु २,६४,६४,६४,४६४
चालु खर्चरु १,४३,६३,८७,७८१
पुँजीगत खर्चरु १,२३,७६,६८३
आन्तरिक स्रोतरु ५५ करोड १० लाख
राजस्व बाँडफाँटरु ६० करोड ४५ लाख
संघीय सरकार अनुदानरु १ अर्ब ६ करोड
प्रदेश सरकार अनुदानरु १४ करोड २२ लाख

अपुग रकम चालु आर्थिक वर्षको बचतबाट व्यवस्थापन गरिने उपमहानगरले जनाएको छ।

बजेटमा नगर बस सेवा विस्तार, नगर गौरवका आयोजना, पूर्वाधार विकास, सडक बत्ती, रात्रिकालीन पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण संरक्षण र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको छ।

Read More