काठमाडौँ । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न नगरसभाको २०औँ अधिवेशनमा महानगरका कार्यवाहक मेयर इम्तियाज आलमको तर्फबाट नगरकार्यपालिका सदस्य जगत साह कानुले आय–व्ययको अनुमानसहित बजेट प्रस्तुत गरेका हुन्।
महानगरले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार उल्लेख्य रूपमा बढाएको छ। विनियोजित बजेटमध्ये चालु खर्चतर्फ कुल बजेटको ५४.३ प्रतिशत, पुँजीगत खर्चतर्फ ४४.६ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १.१ प्रतिशत रकम छुट्याइएको छ।
बजेटका प्रमुख तथ्याङ्क
| विवरण | रकम (रुपैयाँ) |
| कुल बजेट | ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार |
| चालु आर्थिक वर्षको बजेट | ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार |
| चालु खर्च | २ अर्ब ४० करोड ३४ लाख ६९ हजार |
| पुँजीगत खर्च | १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार |
| वित्तीय व्यवस्थापन | ५ करोड |
| संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरण | १ अर्ब ९८ करोड २९ लाख |
| आन्तरिक राजस्व | १ अर्ब ४८ करोड |
| संघीय राजस्व बाँडफाँट | २४ करोड ६८ लाख ८३ हजार |
| प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरण | ५ करोड २८ हजार |
| प्रदेश राजस्व बाँडफाँट | १ करोड ६७ लाख १४ हजार |
| घरजग्गा रजिष्ट्रेशन शुल्क | ४५ करोड |
| गत वर्षको नगद मौज्दात | ४ करोड ६९ लाख ४४ हजार |
| नगर विकास कोष | १५ करोड |
महानगरले आगामी आर्थिक वर्षको खर्च व्यवस्थापनका लागि संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आम्दानी, घरजग्गा रजिष्ट्रेशन शुल्क, गत वर्षको मौज्दात रकम तथा नगर विकास कोषलाई प्रमुख स्रोतका रूपमा उपयोग गर्ने जनाएको छ।
बजेट प्रस्तुत गर्दै कानुले शिक्षा, स्वास्थ्य सेवा, सरसफाइ व्यवस्थापन, वन तथा वातावरण संरक्षण, कृषि, पर्यटन तथा उद्योग प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको बताए। साथै गुणस्तरीय भौतिक पूर्वाधार विकास र प्रविधिमा आधारित सेवा प्रवाहलाई समेत विशेष महत्व दिइएको उनले जानकारी दिए।
यसअघि नगरसभामा कार्यवाहक मेयर आलमले आगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहरा, नगरकार्यपालिका सदस्य, ३२ वटै वडाका जनप्रतिनिधि तथा महानगरका कर्मचारीहरूको सहभागिता रहेको थियो।




