२०८३ श्रावण १०

चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरियो, पाराग्वे पेनाल्टीमा विजयी हुँदै अन्तिम १६ मा

काठमाडौं । चार पटकको विश्वविजेता जर्मनीको फिफा विश्वकप २०२६ यात्रा अप्रत्याशित रूपमा अन्तिम ३२ मै टुंगिएको छ। जर्मनीले १९५४, १९७४, १९९० र २०१४ मा विश्वकप उपाधि जितेको थियो। तर त्यसयता टोलीले लगातार निराशाजनक प्रदर्शन गर्दै २०१८ र २०२२ मा समूह चरणबाट तथा २०२६ मा अन्तिम ३२ बाटै बाहिरिन पुगेको छ।

अमेरिकाको बोस्टनमा आज बिहान सम्पन्न खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदै जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो। यस जितसँगै पाराग्वे अन्तिम १६ मा प्रवेश गरेको छ।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि नतिजा पेनाल्टी सुटआउटबाट तय गरिएको थियो। जारी विश्वकपमा पेनाल्टी सुटआउटबाट निर्णय भएको यो पहिलो खेल पनि बनेको छ।

सुरुआती पाँच–पाँच पेनाल्टीमा दुवै टोलीले दुई–दुई प्रहार गुमाउँदा स्कोर ३–३ को बराबरीमा पुगेको थियो। त्यसपछि जर्मनीका जोनाथन टाहको छैटौं प्रहार बारमाथिबाट बाहिरिएपछि पाराग्वेका जोसे कानालेले निर्णायक पेनाल्टी गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए।

त्यसअघि ४२औँ मिनेटमा जुलियो इनसिसोले गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए। जर्मनीका काई हाभार्ट्जले ५४औँ मिनेटमा बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसक्दा विजेता पेनाल्टी सुटआउटबाट टुंगिएको हो।

पाराग्वेले अब अन्तिम १६ मा फ्रान्स र स्वीडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।