काठमाडौं। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४.६३ अंकले घटेर २,६०८.३३ विन्दुमा कायम भएको छ। परिसूचक ओरालो लागे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
यसदिन ३६५ कम्पनीका ८७ लाख ३७ हजार ३९२ कित्ता सेयर ३ अर्ब २५ करोड ८७ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएका छन्। सोमबार २ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
मंगलबार स्नो रिभर्स लिमिटेडको सेयर मूल्य १४.९९ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको थियो भने टक्सार पिखुवा खोला हाइड्रोपावरको सेयर १४.०३ प्रतिशतले घटेर सबैभन्दा धेरै गुमाउने कम्पनी बन्यो।
कारोबार रकमका आधारमा सिद्धार्थ बैंक १३ करोड ३९ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित अग्रस्थानमा रह्यो। त्यसपछि टक्सार पिखुवा खोला हाइड्रोपावर, आँखु खोला जलविद्युत कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको उच्च कारोबार भएको छ।
कारोबारमा सहभागी ३६५ कम्पनीमध्ये ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको घट्यो भने पाँच कम्पनीको मूल्य स्थिर रह्यो। यसदिन कारोबारमा रहेका सबै १३ उपसमूहका सूचक पनि ओरालो लागेका छन्।
