२०८३ श्रावण ११

ओलीको आरोप : हिंसात्मक घटनालाई वैधानिकता दिन खोजियो

काठमाडौं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएका हिंसा, तोडफोड, हत्या र लुटपाटका घटनालाई अहिले वैधानिकता दिने प्रयास भइरहेको आरोप लगाएका छन्।

मंगलबार काठमाडौंमा आयोजित नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले संवैधानिक प्रक्रियाबाट सरकार परिवर्तन गर्न नसकेपछि केही शक्तिले हिंसात्मक गतिविधिमार्फत सरकार ढाल्ने प्रयास गरेको र त्यही घटनालाई अहिले उचित ठहर्याउने काम भइरहेको दाबी गरे।

उनले आफ्नो नेतृत्वको सरकारले भूकम्प र कोभिड–१९ महामारीपछि प्रभावित अर्थतन्त्रलाई पुनर्जीवित गर्न तथा शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्र सुधारका लागि काम गरेको उल्लेख गर्दै त्यही कारण केही पक्ष असन्तुष्ट बनेको टिप्पणी गरे। न्यायपूर्ण, शान्तिपूर्ण र भयमुक्त समाज निर्माणप्रति एमाले प्रतिबद्ध रहेको उनको भनाइ थियो।

खेलकुदको प्रसंगमा ओलीले नेपालभन्दा साना र हालै विकासशील राष्ट्र बनेका मुलुकले विश्व फुटबलमा उल्लेखनीय सफलता हासिल गरिरहँदा नेपालमा भने सरकारी हस्तक्षेपका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) विवादमा परेको बताए। उनले खेलाडीको शारीरिक विकासका लागि आवश्यक वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै खेलकुद महासंघले सक्षम खेलाडीसँगै जिम्मेवार नागरिक पनि तयार गर्नुपर्ने धारणा राखे।