काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट निर्वाचित ९९ जना केन्द्रीय सदस्यले बुधबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्। पार्टीको निर्वाचन आयोगका अनुसार शपथ ग्रहण कार्यक्रम बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा हुनेछ।
यसअघि सभापति रवि लामिछाने, उपसभापति सोविता गौतम, महामन्त्री विपीन आचार्य तथा सहमहामन्त्रीहरू हरि ढकाल, असिम शाह र निशा डाँगीले पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। अब बाँकी ९९ जना निर्वाचित केन्द्रीय सदस्यलाई सभापति लामिछानेले शपथ गराउनेछन्।
शपथ ग्रहणपछि नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बस्ने कार्यक्रम रहेको छ। बैठकमा सभापति लामिछानेले मनोनीत केन्द्रीय सदस्यहरूको प्रस्ताव प्रस्तुत गर्न सक्ने जनाइएको छ।
रास्वपाको विधानअनुसार सभापतिलाई ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार छ। मनोनयन प्रक्रिया पूरा भएपछि उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, प्रवक्ता तथा तीन सहप्रवक्तासहितका पदाधिकारी पनि मनोनयन गरिने व्यवस्था रहेको छ।




