२०८३ भाद्र ३१

बाढी र पहिरोले बागमती र कर्णालीका राजमार्ग प्रभावित

काठमाडौं । बाढी, पहिरो तथा सडक क्षतिका कारण बागमती र कर्णाली प्रदेशका विभिन्न राजमार्गमा यातायात प्रभावित भएको छ। केही सडकखण्डमा आवागमन पूर्ण रूपमा रोकिएको छ भने केही स्थानमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ।

काभ्रेपलाञ्चोकको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा अर्को सूचना नभएसम्म यातायात प्रभावित रहने जनाइएको छ। राति ७ बजेदेखि बिहान ४ बजेसम्म केही मालवाहक सवारीसाधनमा रोक लगाइएको छ भने सडकको अवस्थाअनुसार अन्य सवारी सञ्चालन गरिनेछ।

रसुवा र नुवाकोटमा सडक अवरुद्ध

रसुवाको मुख्य राजमार्ग बाढीका कारण पूर्ण रूपमा बन्द रहेको छ। सडक पुनः सञ्चालनबारे अर्को सूचना जारी नभएसम्म आवागमन खुला नहुने जनाइएको छ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि रातिको समयमा सवारी आवागमन रोकिएको छ। शिवपुरी–८ क्षेत्रमा राति १० बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको छ। विदुर–१० सिमटारमा पासाङल्हामु सडकखण्डसमेत पूर्ण रूपमा अवरुद्ध रहेको छ।

धादिङ र चितवनमा एकतर्फी आवागमन

धादिङको पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरोका कारण यातायात प्रभावित भएको छ। केही स्थानमा सडक बन्द रहे पनि कतिपय खण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा सडक भासिने तथा क्षति पुग्ने समस्या देखिएपछि सवारीको चाप र सडकको अवस्थाअनुसार एकतर्फी यातायात सञ्चालन गरिएको छ।

कर्णाली करिडोर पनि अवरुद्ध

कर्णाली प्रदेशको हुम्लास्थित सर्केगाड गाउँपालिका–५ मा कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ।

वर्षा, बाढी र पहिरोको जोखिम कायम रहेकाले सम्बन्धित निकायले सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउनसमेत अनुरोध गरिएको छ।