काठमाडौं । इरानले अमेरिकासँग निकट भविष्यमा कुनै पनि स्तरको नयाँ वार्ता नहुने स्पष्ट पारेको छ। तेहरानले अहिले नयाँ राजनीतिक संवादभन्दा विद्यमान समझदारी (एमओयू) को कार्यान्वयनलाई प्राथमिकता दिएको जनाएको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईका अनुसार सम्झौताको प्राविधिक पक्षको अनुगमनका लागि इरानी विशेषज्ञ टोली यसै साता कतारको दोहा जानेछ। उनले अमेरिकाले इरानी तेल बिक्रीसँग सम्बन्धित आवश्यक अनुमति जारी गरिसकेको र इरान अहिले सम्झौताअनुसार त्यसको व्यावहारिक कार्यान्वयनमा केन्द्रित रहेको बताए।
बाघाईले अमेरिकी प्रतिनिधिमण्डलको दोहा भ्रमणलाई इरानी टोलीको कामसँग असम्बन्धित रहेको उल्लेख गर्दै हाल नयाँ कूटनीतिक वार्ताको तयारी भइरहेको भन्ने समाचारको पनि खण्डन गरे। उनका अनुसार अन्तिम सम्झौताका लागि औपचारिक वार्ता अझै सुरु भएको छैन।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोहामा इरानसँग उच्चस्तरीय वार्ता हुने बताएका थिए भने अमेरिकी विशेष दूत स्टिभ विटकोफ कतारतर्फ प्रस्थान गरेको समाचार सार्वजनिक भएको थियो।
यसैबीच, इरानी राष्ट्रपति मसूद पेजेस्कियनले अमेरिका सम्झौताप्रति प्रतिबद्ध भए इरानले पनि आफ्ना दायित्व पूर्ण रूपमा कार्यान्वयन गर्ने बताएका छन्।




