२०८३ श्रावण ११

मधेसमा ७८ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न

काठमाडौं । मधेस प्रदेशमा यस वर्ष धान रोपाइँले तीव्रता पाएको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन ७ गतेसम्म प्रदेशभर ७८ दशमलव ५९ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ।

निर्देशनालयका अनुसार हालसम्म तीन लाख ५८० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। जिल्लागत रूपमा सिरहामा सबैभन्दा बढी ९४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने महोत्तरीमा सबैभन्दा कम ५५ प्रतिशत मात्र भएको छ।

पर्याप्त वर्षा भएकाले यस वर्ष किसान उत्साहित भएर रोपाइँमा सहभागी भएको निर्देशनालयले जनाएको छ। किसानहरूले उन्नत जातका धानका बिउ प्रयोग गर्नुका साथै रासायनिक तथा प्राङ्गारिक मल व्यवस्थापनमा समेत ध्यान दिएको बागवानी विकास अधिकृत किरण विश्वकर्माले बताए।

यद्यपि, केही स्थानका किसानले सिँचाइ पूर्वाधार र मलको उपलब्धतामा समस्या रहेको गुनासो गरेका छन्।