काठमाडौं । एसीसी यू–१९ वुमन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपाल यूएईसँग पराजित भएको छ। शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयको खेल बराबरी भएपछि सुपर ओभरबाट नतिजा निकालिएको थियो, जसमा नेपाल पराजित भयो।
वायुमास क्रिकेट ओभलमा भएको खेलमा दुवै टोलीले २० ओभरमा समान १०० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा नेपालले ६ रनको लक्ष्य प्रस्तुत गरे पनि यूएईले तीन बलमै आवश्यक रन पूरा गर्दै जित हात पार्यो।
यसअघि टसपछि ब्याटिङ गरेको यूएईले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १०० रन बनाएको थियो। यूएईका लागि मेहुल कुलकर्णीले ३० रनको योगदान दिइन् भने लावन्या केनीले २५ रन बनाइन्। नेहा कुमारीले अविजित १९ रन जोडिन्। अन्य ब्याटरले भने उल्लेख्य योगदान दिन सकेनन्।
नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै यूएईलाई सामान्य योगफलमा रोक्ने प्रयास गरेका थिए। रिया शर्मा र अनु कडायतले समान तीन विकेट लिए भने कप्तान सोनी पाख्रिनले दुई तथा मनिषा उपाध्यायले एक विकेट हात पारिन्।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले पनि निर्धारित २० ओभरमा १०० रन बनाउँदै सबै विकेट गुमायो। नेपालका लागि अनु कडायतले सर्वाधिक २० रन बनाइन्। साना प्रवीण र एलिसा यादवले समान १७ रनको योगदान दिए। यूएईकी वैष्णवी माहेशले तीन विकेट लिँदा साइ निखिलले दुई तथा मेहक ठाकुर र जननी थिरुकुमारनले समान एक विकेट लिए।
यूएईले प्रतियोगिताको उपाधिका लागि थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने नेपालले तेस्रो स्थानका लागि इन्डोनेसियाको सामना गर्नेछ। दुवै खेल शनिबार हुनेछन्। यसअघि नेपालले एसिया कपका लागि स्थान सुरक्षित गरिसकेको छ।




