काठमाडौं । एसिसी प्रिमियर कपको दोस्रो खेलमा मलेसियाले नेपालसामु १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ । बाङ्गीस्थित यूकेएम वाईएसडी ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमा अलआउट भएको हो ।
मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका अनुभवी तीव्र गतिका बलर करण केसीले उत्कृष्ट प्रदर्शन गरे । उनले ७.३ ओभरमा २ मेडनसहित २३ रन खर्चेर ४ विकेट लिए ।
मलेसियाका लागि कप्तान सैद अजिजले सर्वाधिक ३० रन बनाए । उनले ४९ बलमा २ चौका र २ छक्का प्रहार गरे । ओपनर सैफउल्लाह मलिक ९ र नाज्मुस सकिब ३ रनमै आउट भए । अकिल वहिदले २४, मोहम्मद सदाकतले १३ तथा विरनदिप सिंहले १४ रन बनाए ।
नेपालका लागि ललित राजवंशीले २ विकेट लिए भने हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान १ विकेट लिए ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो ।




