काठमाडौं। रसुवाको भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पहिचानका लागि चितवनमा डीएनए नमुना संकलन सुरु गरिएको छ । भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग संघ परिसरमा मंगलबारदेखि बेपत्ता व्यक्तिका आफन्तबाट रगतको नमुना लिन थालिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवन, बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुरको सेवा इकाइ चितवन र जनस्वास्थ्य कार्यालय चितवनको समन्वयमा नमुना संकलन भइरहेको छ । संकलित नमुना परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइने जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेले बताए ।
नेपाल प्रहरीका अनुसार पहिचान नभएका शवबाट दाँत र हड्डीको नमुना लिएर डीएनए प्रोफाइल तयार गरिनेछ । त्यसपछि बेपत्ता व्यक्तिका आफन्तबाट संकलित नमुनासँग सफ्टवेयरमार्फत मिलान गरी पहिचान गरिनेछ ।
पहिचानका लागि पहिलो प्राथमिकतामा बुबा–आमा वा छोराछोरीजस्ता पहिलो तहका आफन्तको डीएनए नमुना आवश्यक पर्ने प्रहरी निरीक्षक सन्देशकुमार पोखरेलले बताए । त्यस्ता आफन्त उपलब्ध नभए दाजुभाइ वा दिदीबहिनीको नमुनाबाट पनि परीक्षण गर्न सकिने उनले जानकारी दिए ।
चितवनबाहिर रहेका आफन्तले पायक पर्ने जिल्ला प्रहरी कार्यालय वा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जको प्याथोलोजी ल्याबमा फोटोसहित सम्पर्क गरी रगतको नमुना दिन सक्ने प्रहरीले जनाएको छ । विदेशमा रहेका आफन्तले सम्बन्धित नेपाली दूतावास वा कूटनीतिक नियोगमार्फत डीएनए प्रोफाइल तयार गरी नेपाल प्रहरीलाई उपलब्ध गराउन सक्नेछन् ।




