काठमाडौं। टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान गरेको छ। १५ सदस्यीय नेपाली टोली गएराति अष्ट्रेलियातर्फ प्रस्थान गरेको हो। नेपाल क्रिकेट संघ (क्यान)ले सिरिजका लागि छनोट भएको टोलीलाई आइतबार बिदाइ गरेको थियो। अष्ट्रेलिया भ्रमणका क्रममा नेपाल ‘ए’ टोलीको कप्तानी अनिलकुमार साहले गर्नेछन्।
भदौ ५ गतेदेखि सुरु हुने टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ ले पहिलो खेल नर्दन टेरिटोरी स्ट्राइकसँग खेल्नेछ। त्यसपछि भदौ ६ गते बङ्गलादेश हाई पर्फर्मेन्स, भदौ ८ गते होबार्ट हरिकेन्स एकेडेमी, भदौ १० गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ ११ गते हैदरावाद किङ्समेन एकेडेमी र भदौ १३ गते भिक्टोरिया सीए–११ विरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ।
अष्ट्रेलिया भ्रमणका क्रममा नेपाल ‘ए’ ले टी–२० सिरिजसँगै विभिन्न टोलीसँग एकदिवसीय अभ्यास खेलसमेत खेल्नेछ। क्यानका अनुसार नेपाली टोलीले न्युजिल्यान्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलियाविरुद्ध अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ।
विदेशी टोलीसँग प्रतिस्पर्धा गर्ने अवसरले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव हासिल गर्न तथा आफ्नो क्षमता प्रदर्शन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। अष्ट्रेलिया भ्रमणलाई आगामी प्रतियोगिताका लागि खेलाडीको तयारी तथा प्रदर्शन मूल्याङ्कनका दृष्टिले समेत महत्वपूर्ण मानिएको छ।




