२०८३ भाद्र २

रास्वपाले भदौ ५ मा केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ ५ गते शुक्रबार केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी सभापतिको निर्देशनअनुसार बैठक बिहान ११ बजे बस्ने भएको हो।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक पार्टीको वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टी घर’मा हुनेछ।

बैठकका लागि छलफलका विषय र कार्यसूची तयार गर्ने काम भइरहेको पार्टीले जनाएको छ। आवश्यक गृहकार्य पूरा भएपछि कार्यसूची सार्वजनिक गरिने बताइएको छ।

पार्टीभित्र संगठनात्मक तथा समसामयिक विषयमा छलफल भइरहेका बेला बोलाइएको बैठकलाई रास्वपाको आगामी राजनीतिक तथा सांगठनिक रणनीति तय गर्ने दृष्टिले महत्त्वपूर्ण मानिएको छ।

Read More

परराष्ट्रमन्त्रीको जवाफप्रति असन्तुष्ट रास्वपा सांसद तामाङले बैठक छाडिन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले परराष्ट्रमन्त्री शिशिर खनालको जवाफप्रति असन्तुष्टि जनाउँदै मंगलबार प्रतिनिधिसभा बैठक बहिष्कार गरेकी छन्।

कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउने विषयमा मन्त्री खनालले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै तामाङले थप प्रश्न गर्न समय मागेकी थिइन्। तर सभामुखले उनलाई बोल्ने अनुमति नदिएपछि उनी बैठकबाट बाहिरिएकी हुन्।

मन्त्रीले जवाफ दिइरहेका बेला तामाङ उठेर आफ्नो प्रश्न राख्न पाउनुपर्ने अडानमा थिइन्। सभामुखले समय नदिएपछि उनलाई बैठकको मर्यादा कायम राख्न निर्देशन दिइएको थियो।

सभामुखको निर्देशनपछि पनि असन्तुष्ट तामाङ झोला लिएर बैठक कक्षबाट बाहिरिएकी हुन्।

Read More

नेप्से १९ अंकले घट्यो, कारोबार रकम पनि खस्कियो

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.३४ अंकले घटेर २,६२२.४८ विन्दुमा बन्द भएको हो।

बजार घटेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा कम भएको छ। मंगलबार ३४७ कम्पनीका १ करोड ५१ लाख ९६ हजार ९८२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार ५ अर्ब ७ करोड ३५ लाख रुपैयाँभन्दा बढीमा सीमित भयो। सोमबार ५ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

कारोबार भएका कम्पनीमध्ये ५६ वटाको सेयर मूल्य बढ्दा २१८ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रह्यो।

सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको सेयर मूल्य १४.९९ प्रतिशत तथा माउन्ट एभरेस्ट डेभलपमेन्टको १४.९८ प्रतिशतले बढ्यो। सगरमाथा जलविद्युत कम्पनीको सेयर मूल्य भने १०.६३ प्रतिशतले घट्दै सबैभन्दा कमजोर प्रदर्शन गर्ने कम्पनी बन्यो।

कारोबार रकमका आधारमा एग्रिकल्चर बोन्ड (९ वर्ष) अगाडि रह्यो। सोलु हाइड्रोपावरको करिब ३९ करोड, खानीखोला हाइड्रोपावरको २५ करोड तथा रिलायन्स स्पिनिङ मिल्स र युनाइटेड मोदी हाइड्रोपावरको करिब १६–१६ करोड रुपैयाँ बराबरको कारोबार भयो।

ट्रेडिङ समूहको उपसूचकबाहेक मंगलबार कारोबारमा आएका अन्य सबै समूहका उपसूचक घटेका छन्।

Read More

वैदेशिक रोजगारी ठगीबारे संसदीय छानबिन समिति बनाउन ज्ञानेन्द्र शाहीको माग

काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वैदेशिक रोजगारीको नाममा बढ्दै गएको ठगी र विदेशमा नेपाली श्रमिक अलपत्र पर्ने समस्या छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले वैदेशिक रोजगारीसम्बन्धी ठगीलाई राष्ट्रिय समस्याका रूपमा लिएर सत्तापक्ष र प्रतिपक्ष सबै मिलेर समाधान खोज्नुपर्ने बताए।

उनका अनुसार रोजगारीका लागि विदेश जाने युवाको संख्या ठूलो रहे पनि भिसा र रोजगारी दिलाउने भन्दै सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट संगठित रूपमा ठगी भइरहेको छ। उनले प्रत्येक वर्ष करिब ७ लाख युवा विदेश जाने र तीमध्ये ठूलो संख्यामा ठगीमा पर्ने गरेको दाबी गरे।

शाहीले ठगीमा संलग्नलाई प्रभावकारी रूपमा कारबाही गर्न विद्यमान कानुन पर्याप्त नभए तत्काल संशोधन गर्नुपर्नेमा जोड दिए। वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न राज्यले थप प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ छ।

Read More

विद्युत् महसुलको भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

काठमाडौं । विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गर्दै उज्यालो नेपाल पार्टीले जनदबाब अभियान अघि बढाएको छ। पार्टीले मंगलबार बाराको सिमराबाट हस्ताक्षर संकलन सुरु गरेको जनाएको छ।

विद्युत् उपभोगलाई सस्तो र सहज बनाउन कर हटाउनुपर्ने पार्टीको माग छ। उज्यालो नेपालले डेडिकेटेड तथा ट्रंक लाइनको लामो समयदेखि बाँकी रहेको बक्यौता रकम तत्काल उठाउन पनि सरकारसँग माग गरेको छ।

पार्टीका अनुसार विद्युत् केवल राजस्वको स्रोत नभई उद्योग, रोजगारी र आर्थिक विकासको महत्वपूर्ण आधार भएकाले यसको उपभोग बढाउने नीति आवश्यक छ। स्वदेशी विद्युत् खपतलाई प्रोत्साहन गर्न इन्डक्सन चुलोको प्रयोग बढाउने तथा ग्यास आपूर्ति सहज बनाउनेतर्फ पनि सरकारले ध्यान दिनुपर्ने उसको भनाइ छ।

सरकारले विद्युत् खपत प्रोत्साहन गर्नुपर्नेमा उपभोक्तामाथि अतिरिक्त करको भार थपेको आरोप लगाउँदै पार्टीले हस्ताक्षरमार्फत जनमत एकत्रित गर्न खोजेको जनाएको छ।

अभियानमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अर्जुन शर्मा, केन्द्रीय सदस्य रोशन अधिकारी, मधेस प्रदेश अध्यक्ष राम सिंह (पराग) लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

Read More

नेपाललाई ईयूको हवाई सुरक्षा सूचीबाट हटाउन सरकारको पहल तीव्र

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले नेपाललाई युरोपेली संघ (ईयू) को हवाई सुरक्षा सूचीबाट हटाउन कूटनीतिक पहलसँगै प्राविधिक सुधारलाई तीव्रता दिइएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियमन र सेवा प्रदायकका रूपमा छुट्टाछुट्टै विशिष्टीकृत निकायमा विभाजन गर्न आवश्यक विधेयक तयार भइसकेको जानकारी दिए। विधेयक छिट्टै संसदमा पेस गर्ने तयारी रहेको उनले बताए।

मन्त्री पौडेलका अनुसार नेपालले ईयूका राजदूत तथा सदस्य राष्ट्रका नेपालस्थित र गैरआवासीय राजदूतसँग छलफल गरी उड्डयन सुरक्षामा भएका सुधार, सुधारात्मक कार्ययोजनाको कार्यान्वयन र आगामी योजनाबारे जानकारी गराएको छ।

उनले ईयूको सुरक्षा सूचीबाट हट्न कूटनीतिक पहल मात्र पर्याप्त नहुने भन्दै वास्तविक, मापनयोग्य र प्रभावकारी प्राविधिक सुधार आवश्यक रहेको बताए। ईयूबाट प्राप्त सुधारात्मक कार्ययोजनाको समीक्षा नतिजाका आधारमा थप कदम अघि बढाइने उनको भनाइ छ।

Read More

राष्ट्रसेवक कर्मचारीलाई अब अर्धमासिक तलबभत्ता भुक्तानी गर्न निर्देशन

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले संघीय सरकारअन्तर्गत कार्यरत राष्ट्रसेवक कर्मचारीलाई प्रत्येक १५ दिनपछि अर्धमासिक रूपमा तलबभत्ता भुक्तानी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

कार्यालयले सोमबार कोष तथा लेखा नियन्त्रक कार्यालय, सबै निवृत्तभरण व्यवस्थापन कार्यालय तथा कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्राचार गर्दै यस्तो व्यवस्था कार्यान्वयन गर्न अनुरोध गरेको हो।

अर्थमन्त्रीस्तरको २०८३ वैशाख ४ गतेको नीतिगत मार्गदर्शनअनुसार कर्मचारीले १५ दिन काम गरेपछि तलबभत्ता उपलब्ध गराउन भनिएको छ।

यस्तै, बजेट वक्तव्य २०८३/८४ अनुसार कर्मचारी प्रोत्साहन भत्तासमेत भुक्तानी गर्न तथा संघीय सरकारी निकायबाट भुक्तानीका लागि निकासा माग भएमा सोहीअनुसार रकम उपलब्ध गराउन महालेखा नियन्त्रक कार्यालयले निर्देशन दिएको छ।

Read More

इमरान खानको स्वास्थ्यप्रति अल्वी चिन्तित, तत्काल अस्पताल सार्न माग

काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति आरिफ अल्वीले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको भन्दै तत्काल अस्पताल सारेर स्वतन्त्र चिकित्सकको निगरानीमा उपचार गर्न माग गरेका छन्।

सामाजिक सञ्जाल एक्समार्फत अल्वीले खानको मेडिकल रिपोर्ट विशेषज्ञसँग छलफल गरी अध्ययन गरेको उल्लेख गर्दै उच्च तनाव, मुटुको धड्कन र उच्च रक्तचापप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। लामो समयको एकान्तवासले खानको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पारिरहेको उनको दाबी छ।

अल्वीले खानको मुटुको निगरानीका लागि २४ घण्टे होल्टर मोनिटर, नियमित रक्तचाप परीक्षण तथा आवश्यकताअनुसार तनाव परीक्षण, इकोकार्डियोग्राम, कार्डियक एमआरआई र अन्य मुटुसम्बन्धी परीक्षण गर्न सुझाव दिएका छन्।

उनका अनुसार परिवार, चिकित्सक, कानूनी प्रतिनिधि र बाहिरी संसारसँगको लामो दूरी तथा समाचारपत्र र पुस्तकमा सीमित पहुँचले खानको मानसिक तनाव थप बढाएको छ। उनले स्वतन्त्र चिकित्सकको प्यानलमार्फत तत्काल स्वास्थ्य मूल्याङ्कन गर्नुपर्नेमा जोड दिएका छन्।

खानका छोराहरू सुलेमान र कासिम खानले पनि बुबाको स्वास्थ्य तथा परिवार, चिकित्सक र वकिलसँगको पहुँचबारे चिन्ता व्यक्त गर्दै आएका छन्। पीटीआई समर्थकहरूले खान र उनकी पत्नी बुशरा बीबीको रिहाइको माग गर्दै विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन्।

खान सन् २०१८ देखि २०२२ सम्म पाकिस्तानका प्रधानमन्त्री थिए। पदबाट हटाइएपछि उनीविरुद्ध विभिन्न मुद्दा चलेका थिए। भ्रष्टाचारलगायतका मुद्दामा दोषी ठहरिएपछि उनी सन् २०२३ देखि जेलमा छन्। खान र उनका समर्थकहरूले भने उनीविरुद्धका कानूनी कारबाही राजनीतिक उद्देश्यबाट प्रेरित रहेको दाबी गर्दै आएका छन्, जसलाई पाकिस्तानी प्रशासनले अस्वीकार गर्दै आएको छ।

Read More

सरकार जनताको अपेक्षाअनुसार काम गर्न असफल : साम्पाङ

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्मले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न नसकेको बताए। सरकार संसद्प्रति र संसद् जनताप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्ने उनको भनाइ थियो।

उनले सीमा सुरक्षा, शान्ति–सुरक्षा, अत्यावश्यक वस्तुको आपूर्ति, रोजगारी सिर्जना तथा महँगी नियन्त्रणजस्ता आधारभूत विषयमा सरकार कमजोर देखिएको आरोप लगाए। जनताका प्रश्नको प्रधानमन्त्रीले संसद्मार्फत स्पष्ट जवाफ दिनुपर्ने उनले माग गरे।

साम्पाङले सहकारी पीडितले बचत फिर्ता पाउन नसकेको, न्यायालय र स्वास्थ्य क्षेत्रमा समेत नागरिकले अपेक्षित सेवा नपाएको बताए।

सुनसरीको रामधुनी–७ मा ६४ बिघा जग्गा भूमाफियाले आफ्नो नाममा पारेको विषयमा छानबिन गरी स्थानीयलाई न्याय दिन उनले सरकारको ध्यानाकर्षण गराए। धरानस्थित बराह बचत तथा ऋण सहकारीका बचतकर्ताको अर्बौं रुपैयाँ जोखिममा परेको भन्दै रकम फिर्ताका लागि तत्काल पहल गर्न पनि उनले माग गरे।

Read More

४२० मेगावाटको तिला–२ जलविद्युत् आयोजनामा ५२ अर्ब ५५ करोड ऋण लगानी

काठमाडौं। कालीकोटमा निर्माण हुने ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत् आयोजनाका लागि एभरेस्ट बैंकको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग लगानी सम्झौता भएको छ।

मातिला पावर कम्पनीद्वारा प्रवर्द्धित आयोजनामा सानिमा बैंक सहअगुवा तथा प्राइम कमर्सियल, एनआईसी एसिया र ग्लोबल आईएमई बैंक लिड बैंकका रूपमा सहभागी छन्। सिद्धार्थ, नबिल, नेपाल इन्फ्रास्ट्रक्चर, कृषि विकास, मुक्तिनाथ विकास र कामना सेवा विकास बैंक पनि लगानीकर्ताका रूपमा छन्।

आयोजनाको अनुमानित लागत ७० अर्ब ७ करोड रुपैयाँ रहेको छ। यसको ७५ प्रतिशत अर्थात् ५२ अर्ब ५५ करोड रुपैयाँ ऋण र बाँकी २५ प्रतिशत अर्थात् १७ अर्ब ५२ करोड रुपैयाँ स्वपूँजीबाट जुटाइनेछ।

तिलागुफा नगरपालिकामा बाँध र खाँडाचक्र नगरपालिकामा विद्युत्गृह निर्माण हुने आयोजना चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। आयोजनाबाट वार्षिक २ हजार ३१८.७९ गिगावाट आवर विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।

आयोजनाले २०७५ भदौ ७ गते विद्युत् उत्पादन अनुमति पाएको थियो भने २०८१ कात्तिक ७ गते नेपाल विद्युत् प्राधिकरणसँग २९६.७४ मेगावाट क्षमताका लागि विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको छ।

आयोजनामा प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि २० प्रतिशत सेयर छुट्याइएको छ। वित्तीय व्यवस्थापन पूरा भएसँगै आयोजना निर्माणको महत्वपूर्ण चरण अघि बढेको कम्पनीले जनाएको छ।

Read More