काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति आरिफ अल्वीले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको भन्दै तत्काल अस्पताल सारेर स्वतन्त्र चिकित्सकको निगरानीमा उपचार गर्न माग गरेका छन्।
सामाजिक सञ्जाल एक्समार्फत अल्वीले खानको मेडिकल रिपोर्ट विशेषज्ञसँग छलफल गरी अध्ययन गरेको उल्लेख गर्दै उच्च तनाव, मुटुको धड्कन र उच्च रक्तचापप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। लामो समयको एकान्तवासले खानको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पारिरहेको उनको दाबी छ।
अल्वीले खानको मुटुको निगरानीका लागि २४ घण्टे होल्टर मोनिटर, नियमित रक्तचाप परीक्षण तथा आवश्यकताअनुसार तनाव परीक्षण, इकोकार्डियोग्राम, कार्डियक एमआरआई र अन्य मुटुसम्बन्धी परीक्षण गर्न सुझाव दिएका छन्।
उनका अनुसार परिवार, चिकित्सक, कानूनी प्रतिनिधि र बाहिरी संसारसँगको लामो दूरी तथा समाचारपत्र र पुस्तकमा सीमित पहुँचले खानको मानसिक तनाव थप बढाएको छ। उनले स्वतन्त्र चिकित्सकको प्यानलमार्फत तत्काल स्वास्थ्य मूल्याङ्कन गर्नुपर्नेमा जोड दिएका छन्।
खानका छोराहरू सुलेमान र कासिम खानले पनि बुबाको स्वास्थ्य तथा परिवार, चिकित्सक र वकिलसँगको पहुँचबारे चिन्ता व्यक्त गर्दै आएका छन्। पीटीआई समर्थकहरूले खान र उनकी पत्नी बुशरा बीबीको रिहाइको माग गर्दै विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन्।
खान सन् २०१८ देखि २०२२ सम्म पाकिस्तानका प्रधानमन्त्री थिए। पदबाट हटाइएपछि उनीविरुद्ध विभिन्न मुद्दा चलेका थिए। भ्रष्टाचारलगायतका मुद्दामा दोषी ठहरिएपछि उनी सन् २०२३ देखि जेलमा छन्। खान र उनका समर्थकहरूले भने उनीविरुद्धका कानूनी कारबाही राजनीतिक उद्देश्यबाट प्रेरित रहेको दाबी गर्दै आएका छन्, जसलाई पाकिस्तानी प्रशासनले अस्वीकार गर्दै आएको छ।




