काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्मले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न नसकेको बताए। सरकार संसद्प्रति र संसद् जनताप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्ने उनको भनाइ थियो।
उनले सीमा सुरक्षा, शान्ति–सुरक्षा, अत्यावश्यक वस्तुको आपूर्ति, रोजगारी सिर्जना तथा महँगी नियन्त्रणजस्ता आधारभूत विषयमा सरकार कमजोर देखिएको आरोप लगाए। जनताका प्रश्नको प्रधानमन्त्रीले संसद्मार्फत स्पष्ट जवाफ दिनुपर्ने उनले माग गरे।
साम्पाङले सहकारी पीडितले बचत फिर्ता पाउन नसकेको, न्यायालय र स्वास्थ्य क्षेत्रमा समेत नागरिकले अपेक्षित सेवा नपाएको बताए।
सुनसरीको रामधुनी–७ मा ६४ बिघा जग्गा भूमाफियाले आफ्नो नाममा पारेको विषयमा छानबिन गरी स्थानीयलाई न्याय दिन उनले सरकारको ध्यानाकर्षण गराए। धरानस्थित बराह बचत तथा ऋण सहकारीका बचतकर्ताको अर्बौं रुपैयाँ जोखिममा परेको भन्दै रकम फिर्ताका लागि तत्काल पहल गर्न पनि उनले माग गरे।




