२०८३ भाद्र २

दैलेखको भाँडेमा एक सातादेखि ज्वरोका बिरामी बढे

काठमाडौं । वर्षा सुरु भएसँगै दैलेखको नौमुले गाउँपालिका–३ भाँडेमा एक सातादेखि ज्वरोका बिरामी बढेका छन्। ८२ घरधुरी रहेको गाउँका कम्तीमा १८ घरधुरीमा ज्वरोका बिरामी रहेको स्थानीयले बताएका छन्।

ठुलो चम्लाए, निर्गा, भावसैनी र भित्री खोलालगायत बस्तीमा ज्वरो फैलिएको स्थानीय अगुवा गंगाराम सापकोटाले बताए। उपचारका लागि नौमुले बजार पुग्न करिब तीन घण्टा र द्वारी स्वास्थ्य चौकी पुग्न झण्डै दुई घण्टा लाग्ने भएकाले वर्षाका कारण थप समस्या भएको स्थानीयको भनाइ छ।

भाँडेमै रहेको कागते स्वास्थ्य इकाइ करिब एक वर्षदेखि बन्द रहेकाले गाउँमा उपचारको सहज सुविधा छैन। अस्थायी स्वास्थ्यकर्मीले सिटामोल वितरण गर्दै आए पनि बिरामी निको नभएको स्थानीयले बताएका छन्।

स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. मनोज विश्वकर्माले ज्वरोका बिरामीबारे जानकारी प्राप्त भएकाले तत्काल स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको बताए। टोलीले बिरामीको अवस्था बुझेर आवश्यक उपचारको व्यवस्था गर्ने उनले जानकारी दिए।

Read More

निजी लगानीको सुरक्षा र प्रवर्द्धनका लागि सरकारको नयाँ रणनीति

काठमाडौं । सरकारले निजी क्षेत्रको लगानी सुरक्षित गर्दै लगानीकर्ताको मनोबल बढाउने उद्देश्यले ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा ल्याएको छ।

रणनीतिले औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको सुरक्षा, लगानी संरक्षण, आर्थिक पुनरुत्थान, कानुनी तथा नियामकीय प्रक्रिया सरलीकरण र युवा उद्यमशीलतालाई प्राथमिकता दिएको छ।

उद्योग–व्यवसायलाई सुरक्षित क्षेत्र बनाउने

आन्दोलन, बन्द, हडताल तथा सामाजिक–राजनीतिक अस्थिरताका कारण उद्योग व्यवसायमा हुने क्षति रोक्न सरकारले औद्योगिक सुरक्षा बल स्थापना गर्ने योजना अघि सारेको छ। औद्योगिक करिडोर, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामलाई ‘शान्ति क्षेत्र’ घोषणा गरी अवाञ्छित गतिविधि रोक्ने रणनीतिमा उल्लेख छ।

उद्योग तथा व्यवसायको जोखिमका आधारमा सुरक्षा व्यवस्था मिलाउने, आवश्यकताअनुसार द्रुत सुरक्षा टोली परिचालन गर्ने र प्रत्येक जिल्लामा सुरक्षा सम्पर्क व्यक्ति तोक्ने व्यवस्था पनि गरिनेछ। प्रतिष्ठानमा हुने आक्रमण, तोडफोड र आगजनीमा शून्य सहनशीलताको नीति अपनाइनेछ।

क्षतिग्रस्त व्यवसायलाई राहत

आन्दोलनका क्रममा क्षति भएका उद्योग तथा व्यवसाय पुनःसञ्चालनका लागि राहत, छुट र सहुलियत उपलब्ध गराउने व्यवस्था गरिएको छ। प्रभावित व्यवसायीलाई नवीकरण शुल्कमा छुट, पुनर्निर्माणका क्रममा नक्सा पास, विद्युत् तथा खानेपानी जडान र एकीकृत सम्पत्ति करमा निश्चित मापदण्डअनुसार सुविधा दिन सकिनेछ।

क्षतिग्रस्त उद्योगको पुनरुत्थानका लागि बैंक तथा वित्तीय संस्थामार्फत सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था पनि रणनीतिमा समेटिएको छ।

लगानी प्रक्रिया सहज बनाउने

उद्योग तथा व्यवसाय दर्तालाई सहज बनाउन उद्योग विभाग, वाणिज्य तथा कम्पनी रजिष्ट्रारको कार्यालयका विद्युतीय प्रणालीबीच अन्तरआबद्धता कायम गर्ने सरकारको योजना छ।

औद्योगिकीकरण र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्न औद्योगिक कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दरमा फरक कायम गर्ने तथा करसम्बन्धी छुट र सहुलियतलाई कम्तीमा पाँच वर्ष स्थिर राख्ने व्यवस्था प्रस्ताव गरिएको छ।

स्टार्टअप र साना उद्योगलाई प्राथमिकता

सरकारले लघु, घरेलु तथा साना उद्योग र स्टार्टअपलाई समेत रणनीतिको महत्वपूर्ण हिस्सा बनाएको छ। सीप तथा उद्यमशीलता विकास, प्रविधि हस्तान्तरण र स्थानीय उत्पादन प्रवर्द्धनका कार्यक्रम विस्तार गरिनेछ।

युवालाई लक्षित स्टार्टअप कर्जाको सीमा र दायरा विस्तार गर्ने तथा स्थानीय तहमा उद्यमशीलता र रोजगारी सिर्जनाका कार्यक्रम तीन तहका सरकारको लागत साझेदारीमा सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ।

यसैगरी रुग्ण उद्योगको पहिचान र वर्गीकरण गरी पुनःसञ्चालन हुनसक्ने उद्योगलाई पुनरुत्थान, पुनर्निर्माण तथा व्यवस्थापनका लागि कानुनअनुसार छुट, सुविधा र सहुलियत उपलब्ध गराउने सरकारको नीति छ।

सरकारले १३ चैत २०८२ मा स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत यो रणनीति ल्याएको हो। रणनीतिको कार्यान्वयनबाट निजी क्षेत्रको लगानी सुरक्षित हुनुका साथै औद्योगिक विकास, रोजगारी सिर्जना र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने सरकारको अपेक्षा छ।

Read More

भारतीय स्थल सेनाध्यक्ष सेठले प्रधानमन्त्री शाहसँग भेट गर्ने

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले प्रधानमन्त्री बालेन शाहसँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सेठ र प्रधानमन्त्री शाहबीच मंगलबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता हुने कार्यक्रम तय भएको छ।

प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष सेठ चारदिने भ्रमणका क्रममा आइतबार काठमाडौं आएका हुन्। भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

सोमबार नै सेठले प्रधानसेनापति सिग्देलसँग भेटवार्ता गरेका थिए। भेटका क्रममा नेपाल र भारतका सेनाबीचको आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

प्रधानमन्त्री शाहसँगको भेटपछि भारतीय स्थल सेनाध्यक्ष सेठ बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

Read More

जेनजी आन्दोलनको वार्षिकोत्सवमा प्रधानमन्त्रीको सम्बोधन माग

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले ‘जेनजी’ आन्दोलनको एक वर्ष पूरा हुने अवसरमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने माग गरेकी छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद खतिवडाले आगामी भदौ २३ गते जेनजी आन्दोलनको एक वर्ष पूरा हुन लागेको स्मरण गराउँदै प्रधानमन्त्रीबाट विशेष सम्बोधन हुनुपर्ने बताइन्।

उनले भ्रष्टाचार अन्त्य, सुशासन र सुरक्षित भविष्यका लागि युवाहरूले आन्दोलनमार्फत गरेको बलिदानको सम्मान गर्नुपर्ने बताइन्। भदौ २३ गते सहिदहरूको सम्मानमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने अपेक्षा आफूले राखेको उनले उल्लेख गरिन्।

खतिवडाले आन्दोलनका क्रममा उठाइएका मागमध्ये कति पूरा भए र कति बाँकी छन् भन्नेबारे सरकारले स्पष्ट पार्नुपर्ने बताइन्। साथै भ्रष्टाचारमा संलग्नलाई कारबाही हुने वा नहुने, सरकारलाई प्रभावकारी काम गर्न कसले रोकिरहेको छ तथा सहिद परिवार र घाइतेहरूले कहिले न्याय पाउने भन्ने प्रश्नको जवाफ दिनुपर्ने उनको माग छ।

Read More

मुलुकीसंहिता समयअनुकूल संशोधन गर्न आवश्यक : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मुलुकीसंहितालाई समयअनुकूल संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन्।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘संहिता दिवस–२०८३’ का अवसरमा आयोजना गरेको समारोहमा मन्त्री गौतमले मुलुकीसंहितालाई न्यायमुखी, नागरिकमैत्री र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिने गरी संशोधन गर्नुपर्ने बताइन्।

उनले संहिता दिवसले नागरिकको विश्वास जित्ने र उनीहरूप्रति उत्तरदायी राज्य निर्माण गर्ने साझा सङ्कल्प गर्नुपर्ने बताइन्। कृत्रिम बुद्धिमत्ता, साइबर अपराध, डिजिटल कारोबार, नयाँ प्रकृतिका आर्थिक अपराध, वातावरणीय संकट, बदलिँदो सामाजिक सम्बन्ध तथा रोजगारीका नयाँ स्वरूपले कानुनका क्षेत्रमा नयाँ चुनौती र प्रश्नहरू खडा गरिरहेको उनको भनाइ थियो।

मन्त्री गौतमले कानुन आयोगलाई थप सक्षम, अनुसन्धानमुखी र प्रभावकारी संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन्। कानुन निर्माणमा संलग्न कानुन अधिकृतहरूको क्षमता विकास, अनुभव आदानप्रदान तथा व्यावसायिक दक्षता अभिवृद्धिका लागि कानुन अधिकृत सम्मेलनलाई पनि थप प्रभावकारी बनाउनुपर्ने उनले बताइन्।

कानुन आयोग सरकारका लागि कानुनी मस्यौदा तयार गर्ने निकाय भएकाले आयोगको अध्यक्षमा कानुनमन्त्री रहने व्यवस्था सहजता र अपनत्वका लागि गरिएको मन्त्री गौतमले स्पष्ट पारिन्।

कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले मुलुकीसंहितामा सुधार गर्नुपर्ने विषय धेरै रहेको भन्दै आवश्यक संशोधनमार्फत नागरिकलाई न्याय दिनुपर्ने बताए। उनले मुलुकमा समस्या कानुनमा भन्दा त्यसको व्यवहारिक कार्यान्वयनमा रहेको उल्लेख गर्दै कानुनी भाषामा समेत सुधार आवश्यक रहेको बताए।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले संहिता जारी भएको आठ वर्ष पुगेको अवसरमा दिवस मनाइरहँदा संहितासम्बन्धी संशोधन विधेयक संसद्मा लैजाने तयारी भइरहेको जानकारी दिए।

विसं १९१० मा मुलुकी ऐन जारी भएको थियो। त्यसकै परिस्कृत रूपका रूपमा मुलुकीसंहिता, २०७४ भदौ १ गते जारी भएको थियो भने २०७५ भदौ १ गतेदेखि कार्यान्वयनमा आएको हो।

Read More

प्रधानमन्त्री शाह र गण्डकी प्रदेश मुख्यमन्त्री पाण्डेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार भएको भेटमा संघीय र प्रदेश सरकारबीचको सहकार्य तथा समन्वयका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन्।

भेटका क्रममा संघीयता कार्यान्वयनका क्रममा देखिएका चुनौती, तिनको समाधानका उपाय तथा संघ र प्रदेशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।

Read More

सर्पको डसाइबाट ताप्लेजुङमा किशोरीको मृत्यु

काठमाडौं। सर्पले डस्दा ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङदेवाकी एक किशोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा जनता माध्यमिक विद्यालय हाङदेवामा कक्षा १२ मा अध्ययनरत युना मादेन रहेकी छन्। उनी पोष्ट मादेन र सीता इजम मादेनकी छोरी हुन्।

वडाका लक्षुमन गुरुङका अनुसार युनालाई सोमबार घरमै सर्पले डसेको थियो। उनको मंगलबार बिहान मृत्यु भएको हो।

गुरुङका अनुसार युनाको घरमा बिरालोले सर्प बोकेर ल्याएको थियो। बिरालोले सर्प बोकेको देखेपछि युनाले आत्तिएर सर्पलाई छुटाउने प्रयास गर्दा उनलाई सर्पले डसेको हुनसक्ने अनुमान गरिएको छ।

Read More

मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा मुख्यमन्त्री भट्ट रहेका छन्।

यसअघि बुधबार नै विश्वासको मत लिने तयारी भए पनि अन्ततः बिहीबारका लागि प्रदेश सभा बैठक आह्वान गर्ने तयारी गरिएको छ। आज नेकपा संसदीय दलको बैठक बस्ने र त्यसपछि प्रदेश सभा बैठक आह्वान गर्ने तयारी रहेको जनाइएको छ।

नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेको गठबन्धनमा मुख्यमन्त्री नियुक्त भएकै दिन भट्टले नेकपाबाट तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री नियुक्त गरेका थिए। तर नेकपाबाट मन्त्री बन्ने व्यक्तिहरूको टुंगो लाग्न नसक्दा मुख्यमन्त्री भट्टले आफ्नो दलको भागमा परेका मन्त्रालयमा अझै मन्त्री नियुक्त गर्न सकेका छैनन्।

नयाँ सत्ता समीकरणअनुसार नेकपाले मुख्यमन्त्रीसहित तीन मन्त्रालय र नेकपा एमालेले तीन मन्त्रालय पाउने सहमति भएको छ। नेकपा एमालेको भागमा परेको अर्थ मन्त्रालय, सामाजिक विकास मन्त्रालय तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन्।

Read More

सात निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सरकारले जिम्मेवारीअनुसार काम नगरेको भन्दै सातवटा निर्माण कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसका आधारमा ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो।

कालोसूचीमा पर्ने कम्पनीमा अमृता महरा मुख्य व्यक्ति रहेको बझाङको नमादेउ निर्माण सेवा, शंकरबहादुर प्याकुरेल मुख्य व्यक्ति रहेको एम/एस बागेश्वरी मल्टिप्रपोज निर्माण सेवा, रामेछाप कन्स्ट्रक्सन र सन्तोषी निर्माण सेवा रहेका छन्। नमादेउ निर्माण सेवालाई डोटीको खत्याडी माध्यमिक विद्यालयले कारबाहीका लागि सिफारिस गरेको थियो।

त्यसैगरी, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र पूर्वाधार विकास निर्देशनालय, सुर्खेतको सिफारिसमा बागेश्वरी मल्टिप्रपोज निर्माण सेवा, रामेछाप कन्स्ट्रक्सन र सन्तोषी निर्माण सेवालाई कालोसूचीमा राखिएको हो।

पवन पासवान मुख्य व्यक्ति रहेको धनुषाको रमन कन्स्ट्रक्सन, श्यामकिशोर साह मुख्य व्यक्ति रहेको धनुषाकै सगुन निर्माण सेवा र उद्धव भट्टराई मुख्य व्यक्ति रहेको ललितपुरको ओम इन्फ्राटेक पनि कालोसूचीमा परेका छन्।

यी तीन कम्पनीलाई सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना तथा सडक विभागअन्तर्गत सन्धिखर्क, अर्घाखाँचीले कालोसूचीमा राख्न सिफारिस गरेको थियो।

कालोसूचीमा परेका सातैवटा निर्माण कम्पनीले तीन वर्षको अवधिभर कुनै पनि सार्वजनिक निकायले सञ्चालन गर्ने सार्वजनिक खरिदसम्बन्धी प्रक्रियामा सहभागी हुन पाउने छैनन्। यस अवधिमा उनीहरूलाई सरकारी तथा सार्वजनिक निकायका खरिद प्रक्रियामा बोलपत्र वा अन्य माध्यमबाट सहभागी हुन रोक लगाइएको छ।

Read More

पत्रकार श्रेष्ठ थुनामुक्त

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट मुक्त भएका वरिष्ठ पत्रकार किशोर श्रेष्ठले सत्य नहरेको र कलम नहारेको प्रतिक्रिया दिएका छन्। थुनामुक्त भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफूलाई हिरासतमा राखिएको घटनाप्रति धारणा सार्वजनिक गरेका हुन्।

श्रेष्ठले पन्छीका लागि पिँजडाभन्दा खुला आकाश प्रिय हुने उल्लेख गर्दै ढिलो भए पनि भ्रमको पर्दा च्यातिने बताएका छन्। उनले सत्य नहरेको र कलम नहारेको उल्लेख गर्दै सबैलाई बधाई तथा शुभकामना दिएका छन्।

एक युवतीको तस्बिरसहित जनआस्थामा प्रकाशित सामग्रीलाई लिएर श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयता उल्लङ्घन गरेको आरोपमा जाहेरी परेको थियो। जाहेरीपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो।

समाचार प्रकाशित गरेकै आधारमा सम्पादक वा प्रकाशकलाई थुनामा राख्नुपर्ने अवस्था नदेखिएको भन्दै सर्वोच्च अदालतले आइतबार श्रेष्ठलाई हिरासतबाट मुक्त गर्न आदेश दिएको थियो।

सर्वोच्चले सामाजिक सञ्जालमा व्यक्तिले आफैँ सार्वजनिक गरेको सामग्री सञ्चारमाध्यमले पुनः प्रकाशन गरेको मात्र आधारमा त्यसलाई फौजदारी कसुरको रूप दिन र सम्पादकलाई थुनामा राख्न उचित नहुने व्याख्या गरेको छ। यद्यपि, श्रेष्ठलाई हाजिर जमानी वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन अदालतले निर्देशन दिएको छ।

श्रेणी: Politics / राजनीति
उपश्रेणी: Law & Justice / कानुन तथा न्याय

Read More