२०८३ भाद्र २

नेपाल ‘ए’ टोली अष्ट्रेलिया प्रस्थान

काठमाडौं। टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान गरेको छ। १५ सदस्यीय नेपाली टोली गएराति अष्ट्रेलियातर्फ प्रस्थान गरेको हो। नेपाल क्रिकेट संघ (क्यान)ले सिरिजका लागि छनोट भएको टोलीलाई आइतबार बिदाइ गरेको थियो। अष्ट्रेलिया भ्रमणका क्रममा नेपाल ‘ए’ टोलीको कप्तानी अनिलकुमार साहले गर्नेछन्।

भदौ ५ गतेदेखि सुरु हुने टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ ले पहिलो खेल नर्दन टेरिटोरी स्ट्राइकसँग खेल्नेछ। त्यसपछि भदौ ६ गते बङ्गलादेश हाई पर्फर्मेन्स, भदौ ८ गते होबार्ट हरिकेन्स एकेडेमी, भदौ १० गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ ११ गते हैदरावाद किङ्समेन एकेडेमी र भदौ १३ गते भिक्टोरिया सीए–११ विरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ।

अष्ट्रेलिया भ्रमणका क्रममा नेपाल ‘ए’ ले टी–२० सिरिजसँगै विभिन्न टोलीसँग एकदिवसीय अभ्यास खेलसमेत खेल्नेछ। क्यानका अनुसार नेपाली टोलीले न्युजिल्यान्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलियाविरुद्ध अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ।

विदेशी टोलीसँग प्रतिस्पर्धा गर्ने अवसरले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव हासिल गर्न तथा आफ्नो क्षमता प्रदर्शन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। अष्ट्रेलिया भ्रमणलाई आगामी प्रतियोगिताका लागि खेलाडीको तयारी तथा प्रदर्शन मूल्याङ्कनका दृष्टिले समेत महत्वपूर्ण मानिएको छ।

Read More

प्रधानाध्यापक पदमा आवेदन खुला

काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा रिक्त रहेका प्रधानाध्यापक पदका लागि दरखास्त आह्वान गरेको छ। महानगरपालिकाले २२ वटा माध्यमिक र १४ वटा आधारभूत सामुदायिक विद्यालयमा रिक्त रहेका तथा प्रधानाध्यापकको पदावधि सकिन एक महिनाभन्दा कम समय बाँकी रहेका पदमा नियुक्तिका लागि आवेदन माग गरेको हो।

शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहित) को नियम ९३ को उपनियम (२) तथा महानगरपालिकाको निर्णयअनुसार तोकिएको योग्यता पुगेका स्थायी शिक्षकले आवेदन दिन सक्नेछन्। इच्छुक उम्मेदवारले भदौ १६ गतेभित्र आवश्यक कागजात र विद्यालय विकास प्रस्तावसहित सम्बन्धित विद्यालयमा रीतपूर्वक दरखास्त पेस गर्नुपर्नेछ।

महानगरपालिकाका अनुसार विज्ञापन गरिएका विद्यालयको नामावली, उम्मेदवारको न्यूनतम शैक्षिक योग्यता, उम्मेदवारीको प्राथमिकता, छनोट प्रक्रिया तथा अन्य आवश्यक विवरण महानगरपालिकाको आधिकारिक वेबसाइट वा शिक्षा विभागबाट प्राप्त गर्न सकिनेछ। दरखास्त फारामको ढाँचासमेत सोही माध्यमबाट उपलब्ध हुने जनाइएको छ।

महानगरपालिकाले तोकिएको समयभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्न योग्य तथा इच्छुक स्थायी शिक्षकलाई आग्रह गरेको छ।

Read More

मकवानपुरमा स्कार्पिओ दुर्घटना, न्यायाधीशसहित ६ जना घाइते

काठमाडौं। मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा स्कार्पिओ दुर्घटना हुँदा उच्च अदालत जनकपुरका न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन्। काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पिओ आज बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

प्राप्त विवरणअनुसार, न्यायाधीश डाँगीसहित चार पुरुष र दुई महिला स्कार्पिओमा सवार थिए। जुरिखेतमा पुगेपछि स्कार्पिओ सडकबाट भिरतर्फ खसेर दुर्घटनाग्रस्त भएको बताइएको छ।

दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएको छ। उनीहरूको उपचार भइरहेको जनाइएको छ। दुर्घटनाको विस्तृत कारणबारे भने थप विवरण आउन बाँकी रहेको छ।

Read More

प्रतिनिधिसभाको बैठक आज, चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ। साथै, विभिन्न विधेयक तथा अन्तर्राष्ट्रिय सम्झौतासम्बन्धी प्रस्ताव अघि बढाउने र संसदीय समितिका बैठकमार्फत समसामयिक विषयमा छलफल गर्ने कार्यक्रमसमेत रहेको छ।

आजको बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा वातावरणमन्त्रीले आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिनेछन्।

बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारू आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ साउनदेखि २०८२ असारसम्म) सदनमा पेस गर्नेछिन्।

त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

मन्त्री गौतमले नै संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रमा सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता पनि सदनमा पेस गर्ने कार्यसूची रहेको छ।

पाँच संसदीय समितिको बैठक पनि बस्दै

प्रतिनिधिसभाको बैठकसँगै आज विभिन्न पाँच वटा संसदीय समितिको बैठकसमेत बस्ने भएका छन्। प्राप्त विवरणअनुसार कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति तथा सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ।

यी समितिहरूले आ–आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय प्रक्रिया अघि बढाउनेछन्।

Read More

मौसम पूर्वानुमान

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थान आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा उत्तरतर्फ, नेपालको नजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी प्रणालीको प्रभावका कारण विशेषगरी पश्चिम नेपालका विभिन्न स्थानमा वर्षा भइरहेको छ। आज देशका अधिकांश भू–भागमा बदली रहने तथा कोशीदेखि सुदूरपश्चिमसम्मका पहाडी क्षेत्रमा केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले यात्रा तथा दैनिक कामकाज गर्दा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

कोशी प्रदेश

आज दिउँसो प्रदेशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिएको छ। तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ। रातिको समयमा पनि पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुनसक्नेछ।

मधेस प्रदेश

दिउँसो प्रदेशका केही स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने देखिन्छ। राति प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

बागमती प्रदेश

दिउँसो प्रदेशभर सामान्यतया बदली रहनेछ। पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति पनि पहाडी भू–भागका केही स्थानमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुनसक्नेछ।

गण्डकी प्रदेश

प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा दिउँसो मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले नदी तथा खोलानाला आसपासका बासिन्दा सचेत रहनुपर्ने देखिन्छ। राति पनि पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेश

दिउँसो प्रदेशका पहाडी भू–भागमा धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति प्रदेशका तराई भू–भागका केही स्थानमा समेत मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

कर्णाली प्रदेश

दिउँसो प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिएको छ। हिमाली भू–भागका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ। राति पनि वर्षा तथा हिमपातको सम्भावना कायम रहनेछ।

सुदूरपश्चिम प्रदेश

दिउँसो पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ। राति प्रदेशका तराई भू–भागका केही स्थानमा समेत मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली क्षेत्रमा वर्षासँगै हिमपात हुनसक्नेछ।

हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

Read More

आजको राशिफल

२०८३ भदौ २ गते (१८ अगस्ट २०२६) मंगलवार: श्रावण शुक्लपक्ष षष्ठी तिथि। चित्रा नक्षत्र, बिहान ७ः५० बजेपछि स्वाती नक्षत्र। चन्द्रराशि तुला।

आजको दिन विभिन्न राशिका जातकका लागि फरक–फरक प्रभाव र सम्भावना लिएर आएको छ। ग्रह–नक्षत्रको प्रभावअनुसार कसैका लागि प्रेम, मित्रता, व्यवसाय, आर्थिक लाभ तथा नयाँ अवसरको समय रहनेछ भने केही राशिले खर्च, स्वास्थ्य, सम्बन्ध तथा कामका क्रममा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ। मेहनत, संयम र सही निर्णयका साथ अघि बढेमा चुनौतीपूर्ण परिस्थितिलाई समेत अनुकूल बनाउन सकिनेछ। आजको राशिफल उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)का अनुसार प्रस्तुत गरिएको छ।

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। शुभचिन्तकहरूले काममा सहयोग जुटाउनेछन्। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। नयाँ व्यावसायिक काम थाल्ने समय छ। घरमा प्रियजनको आगमन हुन सक्छ।

वृष – Taurus

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

मिहिनेतीहरूका लागि समय उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। मिहिनेतले प्रतिद्वन्द्वी परास्त हुनेछन्। आर्थिक लाभ हुने विशेष काम शुभारम्भ गर्ने समय छ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

मिथुन – Gemini

का, कि, कु, घ, ङ, छ, के, को, हा

प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन्। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।

कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अवसर प्राप्त भए पनि तत्काल फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। मिहिनेतले समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। कृषि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला। महत्त्वाकांक्षी योजना प्रारम्भ हुने समय छ।

सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

परिस्थिति अनुकूल हुनेछ र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। व्यापारमा फाइदा हुनेछ।

कन्या – Virgo

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

सेयर तथा लगानीबाट लाभ मिल्नेछ। बौद्धिक कार्यबाट पनि दिगो फाइदा उठाउन सकिनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। दिगो काम प्रारम्भ गर्ने समय छ। प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। व्यवसायमा मनग्य धनलाभ हुनेछ।

तुला – Libra

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

रमाइलो भेटघाट तथा खानपानको आनन्द प्राप्त हुनेछ। तारिफयोग्य कामले प्रशंसा एवं ख्याति बढ्नेछ। सफलताको अनुभवले थप उत्साहित भइनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले हौसला जगाउनेछन्। पहिलेका कमजोरी सुधार गर्दै पछिका लागि योजना बनाउने समय छ। नयाँ पहिरनले व्यक्तित्व निखार्ने अवसर पनि प्राप्त हुनेछ।

बृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। बेहोसीले नोक्सान पुर्याउन सक्छ। नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्छ।

धनु – Sagittarius

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल–अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ।

मकर – Capricorn

भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

कर्मका प्रेरक र सहयोगी बढ्नाले कर्मसाधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। महत्त्वपूर्ण कामको जग बसाउने समय छ। समाजमा तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ।

मीन – Pisces

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। स्वास्थ्यमा निकै ध्यान पुर्याउनुहोला। सानातिना काममा अल्झनुपर्दा ठूलो काम रोकिन सक्छ। आशा देखाउनेहरूको भर पर्दा धोका पाइएला। खर्च बढ्नाले अर्थ अभाव महसुस हुनेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला।

Read More