काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले नेपाललाई युरोपेली संघ (ईयू) को हवाई सुरक्षा सूचीबाट हटाउन कूटनीतिक पहलसँगै प्राविधिक सुधारलाई तीव्रता दिइएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियमन र सेवा प्रदायकका रूपमा छुट्टाछुट्टै विशिष्टीकृत निकायमा विभाजन गर्न आवश्यक विधेयक तयार भइसकेको जानकारी दिए। विधेयक छिट्टै संसदमा पेस गर्ने तयारी रहेको उनले बताए।
मन्त्री पौडेलका अनुसार नेपालले ईयूका राजदूत तथा सदस्य राष्ट्रका नेपालस्थित र गैरआवासीय राजदूतसँग छलफल गरी उड्डयन सुरक्षामा भएका सुधार, सुधारात्मक कार्ययोजनाको कार्यान्वयन र आगामी योजनाबारे जानकारी गराएको छ।
उनले ईयूको सुरक्षा सूचीबाट हट्न कूटनीतिक पहल मात्र पर्याप्त नहुने भन्दै वास्तविक, मापनयोग्य र प्रभावकारी प्राविधिक सुधार आवश्यक रहेको बताए। ईयूबाट प्राप्त सुधारात्मक कार्ययोजनाको समीक्षा नतिजाका आधारमा थप कदम अघि बढाइने उनको भनाइ छ।




