२०८३ श्रावण ११

फिल्म ‘बलिदान’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । यस बर्षको बहुप्रतिक्षित फिल्म मध्ये एक सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘बलिदान’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

शुक्रबार संविधान दिवसको अवसर पारेर सार्बजनिक ट्रेलरमा फिल्मको मुख्य कथा देखाइएको छ ।  एक छोराले आमा र देशको रक्षाका लागि गरेको संघर्षमा फिल्म बनाइएको ट्रेलरबाट बुझ्न सकिन्छ । 

१२ गाउँ फेम अभिनेता समीर भट्टसहित फिल्ममा अर्पण थापा, सौगात मल्ल, सन्तोष सेन र महेन्द्र बुढाथोकीको प्रमुख अभिनय रहेको छ । फिल्ममा अभिनेत्री ऋचा शर्मा भने समीरकी आमाको भूमिकामा देखिएकी छन् । 

आसुसेन फिल्म्सको ब्यानरमा निर्माण भएको ‘बलिदान’मा प्रेम पुरी, कविता राय, कामेश्वर चौरासिया, जीवन बराल, प्रजल दुलाल लगायतको पनि अभिनय रहेको छ । यो फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् ।

ट्रेलर- https://youtu.be/ZtZSSgDDXrk

Read More

५० बर्षकी अमिषाले खुलाइन् विवाह नगर्नुको कारण

काठमाडौँ । बलिउड अभिनेत्री अमिषा पटेलले ५० बर्षसम्म पनि विवाह नगर्नुको कारण खुलाएकी छन् ।

ऋतिक रोशनसँग फिल्म ‘कहो ना प्यार है’ बाट बलिवुडमा धमाकेदार डेब्यू गरेपछि गदर र गदर-२ जस्ता फिल्ममा काम गरेकी छन् । अहिले ५० वर्षकी भए पनि, अभिनेत्री अविवाहित छिन् र उनले हालै, उनले अहिलेसम्म विवाह नगर्नुको कारण बताएकी छन् ।

अमिषाले हालै एक पोडकास्ट अन्तर्वार्तामा धेरै पुरुषहरूसँग सम्बन्धमा रहे पनि आफुले विवाह र क्यारियरमा क्यारियर रोजेको बताएकी छन् ।

अमिषाले भनेकी छन्- ‘मैले भेटेका धेरैजसो मानिसहरू चाहन्थे, म विवाह पछि घरमै बसूँ र काम नगरूँ। मलाई त्यो मन परेन । म मेरो युवावस्था कसैको श्रीमती भएर बिताउन चाहन्नथें ।’

अमिषाले थप भनिन्- ‘तपाईंलाई माया गर्ने मानिसहरूले तपाईंको करियरलाई फस्टाउन दिनेछन् । मैले मेरो करियरको लागि धेरै गुमाएको छु र प्रेमको लागि धेरै । मैले एकअर्काको खातिर दुवै त्यागेको छु । मलाई लाग्छ मैले दुवैबाट सिकेको छु । फिल्ममा प्रवेश गर्नु अघि, म कसैसँग सम्बन्धमा थिए । ऊ मेरो लागि राम्रो विकल्प थियो । यद्यपि, जब मैले फिल्ममा प्रवेश गर्ने निर्णय गरें, मेरो पार्टनरले मलाई सार्वजनिक नजरमा राख्न चाहँदैनथे । त्यसैले, मैले प्रेम भन्दा करियर रोजें ।’

अमिषाले आफु अहिले विवाहको लागि पूर्ण रूपमा तयार भएको बताउदै सही व्यक्ति भेट्टाएमा विवाह गर्ने बताएकी छन् । 

Read More

फिल्म ‘अञ्जिला’ले ओस्कारमा नेपालको प्रतिनिधित्व गर्ने

काठमाडौँ । फिल्म ‘अञ्जिला’ले ओस्कारमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । अमेरिकामा अर्को वर्ष (सन् २०२६ मा) हुने ९८औं संस्करणको एकेडेमी अवार्ड (ओस्कार अवार्ड) मा फिल्म ‘अञ्जिला’ले नेपालको प्रतिनिधित्व गर्ने भएको हो । 

नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले अञ्जिलालाई ओस्कारका लागि सिफारिस गरेको हो । समितिका अनुसार ‘अञ्जिला’ले अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा प्रतिस्पर्धा गर्नेछ ।

समितिका अध्यक्ष विमल पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ- ]गहन मूल्याङ्कन पश्चात् प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक शिल्पलाई ध्यानमा राखेर ‘अञ्जिला’लाई छनोट गरिएको हो ।’ ओस्कारमा सहभागी हुन ‘अञ्जिला’सँगै ‘गुन्यो चोलो’का निर्माताले पनि आवेदन दिएका थिए ।

मिलन चाम्सको निर्देशनमा बनेको ‘अञ्जिला’ महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवन संघर्षमा आधारित छ । यसमा एञ्जिला स्वयंले आफ्नो भूमिका निर्वाह गरेकी छन् भने उनीसँगै दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुनिल थापा लगायतको पनि अभिनय रहेको छ ।

Read More

मोडल माहिकाको प्रेममा हार्दिक पाण्डेय

काठमाडौँ । अभिनेत्री नताशा स्टान्कोभिकसँगको सम्बन्ध विच्छेद र गायिका जस्मिन वालियासँगको ब्रेकअपपछि, भारतका अलराउन्डर क्रिकेटर हार्दिक पाण्ड्याको नाम मोडेल तथा अभिनेत्री माहिका शर्मासँग जोडिएको छ । सामाजिक सञ्जालमा उनीहरूको नयाँ सम्बन्धको बारेमा चर्चा चलिरहेको छ ।

हार्दिक पाण्ड्या र माहिका शर्माबीचको सम्बन्धको हल्ला त्यति बेला सुरु भयो, जब एक रेडिट थ्रेडले माहिकाको सेल्फीको पृष्ठभूमिमा एक पुरुषलाई देखियो र ति व्यक्ति हार्दिक भएको अनुमान हुन शुरु भयो । यसबाहेक, माहिकाले हालै आफ्नो इन्स्टाग्राम स्टोरीमा एउटा फोटो सेयर गरेकी छिन्, जसमा उनको हातमा ३३ नम्बर लेखिएको स्पष्ट रूपमा देखाइएको छ । फ्यानहरूले यसलाई हार्दिक पाण्ड्याको जर्सी नम्बरसँग जोडेका छन् । 

हार्दिक र माहिकाले पनि इन्स्टाग्राममा एकअर्कालाई फलो गर्छन् । यी साना विवरणहरूले उनीहरूको सम्बन्धको बारेमा अनुमानलाई बढावा दिएका छन् । हार्दिक पाण्ड्या हाल २०२५ को एसिया कपको लागि दुबईमा छन्, र माहिका पनि दुबईमा रहेको बताइएको छ । यद्यपि, दुवैले आफ्नो सम्बन्धको बारेमा कुनै आधिकारिक बयान दिएका छैनन्।

दिल्लीकी २४ वर्षीया माहिका शर्मा एक योग प्रशिक्षक र मोडेल हुन् । धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोहरूमा आफ्नो मोडेलिङ सीप प्रदर्शन गरिसकेकी उनले मनिष मल्होत्रा ​​र तरुण ताहिलियानी जस्ता लोकप्रिय फेसन डिजाइनरहरूको लागि र्‍याम्पमा पनि हिँडेकी छिन् ।

माहिका शर्माले आफ्नो मोडेलिङ करियरमा उल्लेखनीय सफलता हासिल गरेकी छिन्, जसको प्रमाण गत वर्ष इन्डियन फेसन अवार्डमा उनलाई मोडेल अफ द इयर घोषित गरिएको थियो । यसबाहेक, एले पत्रिकाले माहिकालाई इन्डियन मोडेल अफ द इयर पनि घोषित गरेको थियो । मोडलिङसँगै, माहिका शर्माले अभिनयमा पनि हात पारेकी छिन्। उनी धेरै म्युजिक भिडियोहरूमा देखा परेकी छन् र विवेक ओबेरोय अभिनित फिल्म पीएम नरेन्द्र मोदीमा पनि काम गरिसकेकी छिन् ।

हार्दिक पाण्ड्याको बारेमा कुरा गर्दा, उनले मे २०२० मा नताशा स्ट्यानकोभिकसँग विवाह गरे र फेब्रुअरी २०२३ मा हिन्दू र ईसाई रीतिरिवाज अनुसार पुनर्विवाह गरेका थिए । यद्यपि, जुलाई २०२४ मा, जोडीले आफ्नो सम्बन्ध विच्छेद गरे । त्यसपछि हार्दिकको नाम ब्रिटिस मोडल जस्मिन वालियासँग जोडिएको थियो तर हाल उनीहरुको ब्रेकअप भइसकेको बताइएको छ । अब, हार्दिकको जीवनमा फेरि एक पटक प्रेम प्रवेश गरेको चर्चा छ । 

Read More

फिल्म ‘बलिदान’ को शीर्ष गीत रिलिज

काठमाडौं । यस बर्षको बहुप्रतिक्षित फिल्म मध्ये एक फिल्म ‘बलिदान’ को शीर्ष गीत रिलिज भएको छ ।  हर्क साउदको शब्द र संगीत र स्वर सुजन चापागाईंको रहेको गीतमा आमा र छोराको बारेमा रहेको छ  । 

फिल्म ‘बलिदान’मा १२ गाउँ फेम अभिनेता समीर भट्टसहित ऋचा शर्मा, सौगात मल्ल, अर्पण थापा,  कविता राय, हेमन्त बुढाथोकी र निर्देशक सेनलगायतका कलाकारको अभिनय छ ।

सन्तोष सेनको निर्देशनमा बनेको फिल्म बलिदान आसुसेन फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको छ भने फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन् । यो फिल्म दसैंको फूलपातीमा प्रदर्शनमा आउदै छ ।

गीतको लिंक- https://youtu.be/xni3_xHan8w

Read More

ऐश्वर्या र अभिषेकपछि करण जोहर पनि अदालतमा

काठमाडौँ । ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन पछि, अब निर्माता-निर्देशक करण जोहरले पनि आफ्नो अनुमति बिना आफ्नो फोटो, आवाज र अन्य व्यक्तिगत प्रतीकहरू प्रयोग नगर्न माग गर्दै दिल्ली उच्च अदालतमा निवेदन दायर गरेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार, करण जोहरले व्यक्तित्व अधिकारको संरक्षणको लागि दिल्ली उच्च अदालतमा निवेदन दायर गरेका हुन् । उनले आफ्नो नाममा अवैध रूपमा सामानहरू बेच्नबाट मानिसहरूलाई रोक्न माग गरेका छन् । करण जोहरले दिल्ली उच्च अदालतको ढोका ढकढक्याएका छन् र आफ्नो पहिचान र प्रचार अधिकारको सुरक्षाको माग गरेका छन् ।

करण जोहरको यो निवेदन न्यायाधीश मनमीत पीएस अरोरा समक्ष सुनुवाइको लागि आएको छ, जसले आफ्ना वकिलबाट केही स्पष्टीकरणहरू मागेका छन् । आफ्नो व्यक्तित्व र प्रचार अधिकारको संरक्षण बाहेक, करण जोहरले अदालतलाई केही वेबसाइटहरू र प्लेटफर्महरूलाई अवैध रूपमा आफ्नो नाम र तस्वीर भएको मग र टी-शर्ट र अन्य सामानहरू बेच्न नदिन निर्देशन दिने आदेश पारित गर्न पनि अनुरोध गरेका छन् ।

ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनलाई पनि यस मामिलामा दिल्ली उच्च अदालतबाट राहत मिलेको थियो । अदालतले अनलाइन प्लेटफर्महरूलाई अभिनेताको नाम, फोटो र आवाज उनको अनुमति बिना प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । साथै, अभिषेकको एआई-जेनेरेटेड तस्बिरहरूको प्रयोगमा पनि प्रतिबन्ध लगाइएको छ ।

ऐश्वर्या राय र अभिषेक बच्चनभन्दा पहिले, अभिनेता ज्याकी श्राफ पनि यस वर्ष मे महिनामा अदालत पुगेका थिए । उनले आफ्नो छवि र भिडियो परिवर्तन गरेर अनुमति बिना सामान बेचिएको आरोप लगाएका थिए । त्यतिबेला, अदालतले उनको व्यक्तित्व र प्रचार अधिकारलाई पनि सुरक्षित गरेको थियो ।

सन् २०२३ मा, अदालतले अनिल कपूरको छवि, आवाज र उनको झकास क्याचफ्रेजको दुरुपयोगमा प्रतिबन्ध लगाएको थियो । साथै, नोभेम्बर २०२२ मा, अमिताभ बच्चनको व्यक्तित्व र प्रचार अधिकारलाई पनि सुरक्षित गरिएको थियो । 

Read More

जेनजीलाई समर्थन गर्दा धम्की आयो: दीपक राज गिरी

काठमाडौँ । कलाकार दीपक राज गिरीले जेनजीलाई समर्थन गर्दा लगातार धम्की आएको बताएका छन् ।

सामाजिक सञ्जालमा यसबारेमा जानकारी दिदै गिरीले केहि मानिसहरुले म्यासेज पठाएर र केहिले फोनमै धम्क्याइरहेको जानकारी दिएका हुन् ।

गिरीले हरेक खाले परिवर्तनको आन्दोलनमा सकारात्मक भूमिका निभाएको बताउदै अहिले पनि केहि लोभले यो आन्दोलनलाई समर्थन गरेको नभई भाइ बहिनीहरूको शुसासन र भ्रष्टाचारको मुद्दालाई समर्थन गरेको बताएका छन् ।

उनले भनेका छन्-  
मलाइ आएको धम्किको कुरा… अस्तिको दिन बाट केहि मानिसहरूले मलाइ पनि धम्काउन थालेका छन् । केहिले इनबक्समा त केहिले त कल नै गरेर । उनिहरूको भनाइ थियो जेनजीलाई उकास्ने तॅ ?  कलाकार भएर जेनजी तिर लाग्ने ? एक एक हिसाब राखिन्छ, ती कलहरू मध्य केहि त रेकर्ड पनि गरेर राखेको छू । आन्दोलनको पहिलो दिन भ्रष्टाचारबिरूद्दको आन्दोलनलाई धैरै कलाकार लगायत मैले पनि शुभकामना दिदै भने यो शान्तिपूर्ण होस !!

दोस्रो दिन जब स्कूल ,कलेज जाने साना साना बालकहरूको टाउकोमा गोली लागेर ढलेको तस्बिर देखियो त्यो देखे पछि को नै चूप लागेर बस्न सक्यो होला र ? भोली पल्ट म मात्रै होइन मेरा लगभग सबै कलाकार साथिहरूले स्ट्याटस लेख्यौ , प्रमज्यूलाई थप भ्वाइलेन्स रोक्नका लागि राजीनामा दिन अनुरोध पनि गर्यौ । कति जना त सडकमा नै गयौ, लगभग त्यतिबेला धेरै अभिभावकहरू आफ्नै बच्चा मरेको पिडाबोध गरेर सडकमा आइसकेका थिए , राजिनामा आउन ढिलो भैरहेको थियो । त्यसपछि हिसा झन भडकियो, यसको फाइदा अनेक तत्वले लिन थाले, घुसपैठ भयो, लुटपाट गर्ने, आगो लगाउने मानिसहरू सक्रिय भएको देखियो । अनौठौ भिडमा सरकार बिरोधी पार्टीका कार्यकर्ताको बाहुल्यता धेरै देखियो । त्यसको प्रमाण त अहिले सामाजिक संजालहरूमा देखिन थालि पनि सकेको छ । 

राजीनामा आएपछि पनि नरोकिएको त्यो बबंडरबिरूद्द हामिले लगातार सामाजिक संजालमा पोष्ट गर्न थाल्यौ । विध्वंस रोक्न कलाकारहरू र केहि राजनीतिकर्मीहरू मिलेर लगातार अनुरोध गरिरह्यौ । थुप्रै सकारात्मक पोष्टहरू गर्यौ तर त्यो रोकिएन, जेनजी को त्यो आन्दोलनले अर्कै मोड लियो, स्वार्थ समूह छिरे पछि जे भयो त्यो हामि सबैले देख्यौ, जेनजी आन्दोलन सफल त भयो तर त्यो बिध्वंसले कोहि खुशि भएनन, मन भारी भैरह्यो । सायद कोहि नेपाली निदाएनन होला त्यो रात…यसमा सबै पक्षको केहि न केहि गल्ति भएको छ, तर सरकार पक्षिय भनेका केहि मानिसहरू यस्को आडमा आफ्नो गल्ति महसूस गर्न छोडेर एक एक लाइ छोडिने छैन , बदला लिइनेछ भनेर स्ट्याटस नै ठोक्न थालेको देखे,  मलाई आएको कलको र म्यासेजको कुरा त गरिहाले, 

जहाँसम्म मेरो कुरा छ , २०४६ सालको ठूलो आन्दोलनमा तपाइहरूसंगै आन्दोलनमा सडकमा नै थिए म , ६२/६३ मा पनि  आफ्नो पेशा नै धरापमा राखेर तपाइहरूकै माग लाइ समर्थन गरेर तपाइहरूकै कित्तामा उभिएकै हो । हरेक खाले परिबर्तनको सबालमा तपाइहरू संगै उभिएर केहि राजनीतिक लाभ नलिइकन सकारात्मक भूमिका नै निभाएको हूं । अहिले पनि केहि लोभले यो आन्दोलन लाइ  समर्थन गरेको होइन , भाइ बहिनीहरू ले शुसासन र भ्रष्टाचारको मुद्दा उठाउनुभो त्यसमा समर्थन जनाइयो, जुन स्वभाबिकै थियो ,सरकारलाइ दवाव पनि दिइयो यदि यो गर्नु अपराध हो भने मबाट पनि अपराध भएकै छ । 

अस्तिको आन्दोलनमा पनि सबै दोषि मात्रै दन्डित भएनन कति निर्दोष मान्छेहरू पनि भिक्टिम हुन पुगेको देखेको छू , यदि तपाइहरूले धम्कि दिए जस्तै भयो भने म पनि त्यो त्यहि सूचिमा थपिनेछू भनेर चित्त बुझाउनु बाहक मसंग अर्को बिकल्प छैन ! होइन भने यहाँबाट सबैले आ आफ्नो गल्ति महसूस गरेर क्रान्ति प्रतिक्रान्ति र बदलाका कुरा छोडेर एकजूट भइ  पुन : मूलूक निर्माणको बारेमा सोच्नु पर्ने हो कि ?  जय आमा नेपाल !

Read More

राजेश पायल राईको जेनजीसँग माग: मलाई सञ्चार वा विदेशमन्त्री सम्हाल्न दिनुस्

काठमाडौँ । गायक राजेश पायल राईले आफुलाई सञ्चार वा विदेश मन्त्री बनाउन जेनजी समुहलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै गायक राईले आफुले प्रधनमन्त्री नमागेको बताउदै आफुले पर्यटन मन्त्रालय समेत सम्हाल्न सक्ने दाबी गरेका छन् ।

उनले म भन्दा धेरै विदेश कोही पुगेको प्रमाण छ भने ल्याउन र आफ्नो पासपोर्ट चेक गर्न समेत चुनौती दिएका छन् ।साथै उनले आफुलाई पर्यटन र संगीतको विकास गर्ने बारे थाहा भएको दाबि गरेका छन् ।

उनले भनेका छन्- 
जेनजी भाईहरु मलाइ सञ्चार र विदेश मन्त्रालय सम्हाल्न दिनुस् । प्रधानमन्त्री मागेको छैन किनकि म सन्चार र पर्यटन स्म्हाल्न सक्छु । यदि मभन्दा धेरै विदेश कोही पुगेको प्रमाण ल्याउ मेरो पासपोर्ट र तिम्रो पासपोर्ट चेक गरु यो मेरो दावा हो । मलाई थाहा छ पर्यटन र संगीतको विकास ! आँट गर्नै हो भने असम्भब कही छैन ।

Read More

जेनजी पुस्ताको आन्दोलनप्रति अनमोल केसीको पनि समर्थन

काठमाडौँ । अभिनेता अनमोल केसीले सोमबार हुने जेनजी पुस्ताको आन्दोलनलाई समर्थन गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै अनमोलले सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति र हाम्रो आवाजलाई दबाउन खोजिन्छ भने हामी अझ ठूलो आवाजमा उठ्ने बताएका छन् ।

अनमोलले नेपाली नागरिकहरू चुप लागेर नबस्ने बताउदै हाम्रो अधिकारलाई कसैले रोक्न नसक्ने बताएका हुन् ।

उनले भनेका छन्- सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति र हाम्रो आवाजलाई दबाउन खोजिन्छ भने हामी अझ ठूलो आवाजमा उठ्छौं । हाम्रो अधिकार कोही रोक्न सक्दैन । हाम्रो आवाज दबिँदैन ।

यस अघि अभिनेता पल शाहले पनि सोमबार हुने आन्दोलनप्रति आफ्नो समर्थन व्यक्त गरेका थिए ।

Read More

जेनजी पुस्ताको आन्दोलनप्रति पल शाहको समर्थन

काठमाडौँ । अभिनेता पल शाहले सोमबार हुने जेनजी पुस्ताको आन्दोलनप्रति समर्थन जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अभिनेता शाहले देश दिन प्रतिदिन बढ्दो भ्रष्टाचारले समृद्धि मात्र हैन, आम जनताको भरोसा र आशा समेत समाप्त पारिरहेको उल्लेख गर्दै जेनजीद्वारा आयोजना गरिएको आन्दोलन शान्तिपूर्ण विरोध प्रदर्शन हुनुपर्ने र कुनै नागरिकलाई पनि चोट पटक नलागोस्, नागरिकका कुरा सुनियोस् भन्ने अपेक्षा गरेको उल्लेख गरेका छन् ।

अभिनेता शाहले अहिले अभिव्यक्ति स्वतन्त्रता खोस्ने, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयहरूले स्थिति झन गम्भीर बनाएको उल्लेख गर्दै आफुले सबै नेपाली खुशी र सुरक्षित जीवन जिउन सकून् भन्ने चाहेको बताएका छन् ।  

उनले भनेका छन्- 
नेपालमा दिन प्रतिदिन बढ्दो भ्रष्टाचारले देशको समृद्धि मात्र हैन, आम जनताको भरोसा र आशा समेत समाप्त पार्दैछ । गरिब, दुःखी र असहायहरू झनझन पीडित भइरहेका छन् उनीहरूको आवाज सुनिनु त परै जाओस्, दबाउने काम भइरहेको छ । यस्तो अवस्थामा अभिव्यक्ति स्वतन्त्रता खोस्ने, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयहरूले स्थिति झन गम्भीर बनाएको छ। हामी हाम्रो देश राम्रो बनोस्, सबै नेपाली खुशी र सुरक्षित जीवन जिउन सकून् भन्ने चाहन्छौं । तसर्थ भोलि ८ सेप्टेम्बरमा जेनजीद्वारा आयोजना गरिएको आन्दोलन शान्तिपूर्ण विरोध प्रदर्शन होस् । जति पनि सहभागी हुनुहुनेछ, सबै जना सुरक्षीत तरिकाले आन्दोलन गर्नुहोला। कुनै नागरिकलाई पनि चोट पटक नलागोस्, नागरिकका कुरा सुनियोस् भन्ने अपेक्षासहित।

Read More