२०८३ श्रावण ११

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई खरिदमा भ्रष्टाचार, १३ जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारी, तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछानेसमेत १३ जनाविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ ।

अख्तियारले प्रतिष्ठानमा एमआरआई खरिदका क्रममा ६२ लाख ६० हजार ९४६ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विहिबार विशेष अदालत काठमाडौँमा मुद्धा गरेको जनाएको छ ।

अख्तियारले एमआरआई खरिदमा हालसम्म ९ करोड १९ लाख ५३ हजार ७४२ भुक्तानी गरेको भन्दै सोहि बमोजिमको बिगो दाबि गर्दै मुद्धा दायर गरिएको जनाएको छ ।

प्रतिष्ठानमा एमआरआई खरिदमा १२ करोड ७ लाख ६० हजार ९४६ देखाइएकोमा खरिदको लागि ११ लाख ४५ हजार कबोल गरिएको देखिएकाले ६२ लाख ६० हजार रकम आर्थिक भार पुर्याएको आरोप लगाएको छ ।

मुद्धा दायर गरिएकाहरुमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारी, तत्कालीन का.मु. रजिष्ट्रार झन्कार लामिछाने, तत्कालीन फाईन्यान्स मेनेजर कैलाश प्रसाद देव, प्रतिष्ठानका बोयोमेडिकल इन्जिनियर शरद भण्डारी, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगंज, काठमाडौँका बायोमेडिकल ईन्जिनियर अमित कुमार चौधरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मी, प्रतिष्ठानका शाखा अधिकृत छायाँ डि.सी., शाखा अधिकृत श्रीराम चौधरी, आई.टी. अफिसर हिरालाल भण्डारी, तत्कालीन सिभिल इन्जिनियर मदन भण्डारी, तत्कालीन वरिष्ठ सहायक अन्जु शर्मा, तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई र लुम्बिनी हेल्थकेयर प्रा.लि. तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने अध्यक्ष पोष्ट राज ज्ञवाली रहेका छन् ।

Read More

कोल्ड्रिफ कफ सिरप उत्पादन गर्ने कम्पनिका मालिक पक्राउ

काठमाडौँ । भारतको मध्यप्रदेश प्रहरीले चेन्नईस्थित श्रीसन फार्मा कम्पनीका मालिक एस. रंगनाथनलाई पक्राउ गरेको छ । कम्पनीमाथि कोल्ड्रिफ नामक दूषित कफ सिरप उत्पादन गरेको आरोप छ, जसले राज्यमा कम्तिमा २० बालबालिकाको मृत्यु भएको थियो ।

श्रीसन फार्माका मालिक एस. रंगनाथनलाई पक्राउ गरिएको र उनको चेन्नईमा मेडिकल जाँच र थप प्रक्रियाहरू गरेर उनलाई छिन्दवाडा ल्याइने मध्यप्रदेश ल्याइने बताइएको छ ।

छिन्दवाडामा कफ सिरप सेवन गरेपछि र त्यसपछि मिर्गौला फेल भएपछि भएका बालबालिकाको मृत्युको अनुसन्धान गर्न अक्टोबर ५ मा १२ सदस्यीय विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको थियो ।

सेप्टेम्बर ७ देखि परासियामा धेरै बालबालिकाको मृत्यु भइरहेको थियो । छ बालबालिकाको मृत्युपछि प्रशासनले कारबाही शुरु गरेको थियो र सेप्टेम्बर २३ मा अधिकारीहरूले मृत्युको अनुसन्धान सुरु गरेका थिए ।

अनुसन्धानले खोकी सिरप सेवन गरेपछि बालबालिकाको मृगौला फेल भएर मृत्यु भइरहेको पत्ता लगाएको छ । यो सिरप तमिलनाडुको कांचीपुरम जिल्लामा रहेको श्रीसन फार्मास्युटिकल्सद्वारा उत्पादन गरिएको थियो । यो छिन्दवाडा र वरपरका शहरहरूमा बिक्रीको लागि उपलब्ध थियो ।

तमिलनाडु औषधि नियन्त्रण विभागको एक रिपोर्टले यस कम्पनीको सिरपको एक ब्याचमा ४८.६ प्रतिशत डाइथिलिन ग्लाइकोल फेला पारेको छ । यो त्यही ‘विषाक्त’ रसायन हो जसले पहिले गाम्बिया, उज्बेकिस्तान र भारतमा बालबालिकाको मृत्यु गराएको छ । यो रिपोर्ट पछि, मध्य प्रदेश औषधि नियन्त्रण विभागले अक्टोबर ४ मा खोकीको सिरपमा प्रतिबन्ध लगाएको थियो ।

प्रहरीले सरकारी डाक्टर प्रवीण सोनी, खोकीको सिरप बनाउने कम्पनी श्रीसन फार्मास्युटिकल्सका सञ्चालकहरू र अन्य विरुद्ध पनि एफआईआर दर्ता गरेको छ ।

Read More

सिभिल अस्पतालमा एमआरलाई प्रतिबन्ध

काठमाडौँ । काठमाडौँको सिभिल अस्पतालले बिभिन्न औषधि कम्पनीका मेडिकल प्रतिनिधि (एमआर) लाई अस्पताल प्रवेशमा रोक लगाएको छ ।

सिभिल अस्पतालले बुधबार एक सुचना प्रकाशित गर्दै एमआरहरुले अस्पतालमा ड्युटीमा रहेका चिकित्सकसँग भेटघाट गर्ने गर्दा उपचाररत् बिरामीहरुलाई असुबिधा पर्न गएको र अस्पताल जस्तो संवेदनशील स्थलको कार्य वातावरणमा समेत नकारात्मक असर परेको भन्दै एमआरलाई अस्पतालमा नआउन आग्रह गरको छ ।

अस्पतालले बिभिन्न औषधि कम्पनीका व्यापारिक प्रतिनिधिहरुले आफ्नो कम्पनीको व्यवसायिक प्रबर्द्धन सम्बन्धी कार्य नगर्नु नगराउन आग्रह गर्दै यस्ता कार्य भएको पाइएमा नियमानुसार कारवाही हुने जानकारी दिएको छ ।

Read More

खोकीको कफ सिरपले भारतमा बालबालिकाको मृत्यु पछि नेपालमा औषधि व्यवस्था बिभागले दियो यस्तो निर्देशन

काठमाडौँ  | भारतका विभिन्न राज्यमा खोकीको औषधि कोल्ड्रीफ काफ सिरपले बालबालिकाको मृत्यु भएको घटनाप्रति औषधि व्यवस्था बिभागले गम्भीर ध्यानाकर्षण भएको जनाउदै नेपालमा सो औषधि दर्ता नभएको जानकारी दिएको छ  |

बिभागले यस्ता प्रकारका घटनाहरु विगतमा पनि भई सकेकोमा सो प्रति विभाग पहिले नै सचेत रही कार्य गर्दै आएको छ । नेपालमा झोल बनावटको औषधि उत्पादन तथा आयात गर्ने सबै उद्योगहरुलाई आफ्नो उत्पादनमा प्रोपाइलिन ग्लाइकोल, पोलिइथिलिन ग्लाइकोल, सोर्बिटोल र ग्लिसेरोल / ग्लिसरीन जस्ता सहायक कच्चा पदार्थ प्रयोग गर्दा तिनीहरूमा इथाइलिन ग्लाइकोल र डाइइथिलिन ग्लाइकोलको मिसावट नभएको सुनिश्चित गर्न आवश्यक गुणस्तर परीक्षण अनिवार्य गर्दै २०७९ मा नै सूचना प्रकाशित गरिएको बताएको छ । 

यस पश्चात गत साउन २१ गते डब्लुएचओ कार्य दस्तावेज बमोजिम मौखिक प्रयोगको लागि तरल तयारीमा इथिलीन ग्लाइकोल र डाइथिलीन ग्लाइकोलको मात्रा परीक्षण गर्न व्यवस्था मिलाउन निर्देशन दिइएको जनाएको छ । 

बिभागले सम्बन्धित सबै पक्षलाई यस विषयमा पुनः सचेत रहन निर्देशन दिदै आवश्यक गुणस्तर परीक्षण गर्न निम्न बमोजिमको निर्देशन पालना गर्न गराउन अनुरोध गरिएको बताएको छ ।

विभागले औषधि उत्पादकका लागि  कच्चा पदार्थ खरिद गर्दा आधिकारिक आपूर्तिकर्ताहरुबाट फर्माकोपियल स्तरको मात्र खरिद गर्न, उल्लेखित कच्चा पदार्थ तथा सो समिश्रित झोल बनावटको औषधिको निर्धारित विधि बमोजिम बिथिलिन ग्लाइकोल डाइथिलिन ग्लाइकोलको परीक्षण गरे पश्चात मात्र उत्पादन तथा बिक्री वितरण गर्न निर्देशन दिएको छ ।

साथै विभागले औषधि आयातकर्ताका लागि नेपालमा आयात हुने उल्लेखित कच्चा पदार्थ मिश्रित झोल बनावटको औषधिको प्रत्येक व्याचको इथाइलिन ग्लाइकोल डाइइथिलिन ग्लाइकोल मिसावट नभएको सुनिश्चित गरे पश्चात मात्र आयात तथा विक्री वितरण गर्न निर्देशन दिएको छ  । त्यस्तै  फार्मेसीहरूका लागि विभागमा दर्ता भएका औषधिहरु मात्र विक्री वितरण गर्न निर्देशन दिएको छ भने चिकित्सकहरुका लागि विभागमा दर्ता भएका औषधिहरु मात्र विरामीलाई दिन निर्देशन दिएको छ । 

साथै बिभागले दुई वर्ष वा सो भन्दा कम उमेरका बालबालिकाहरुलाई खोकीको औषधि सिफारिस गर्दा वैज्ञानिक प्रमाणको आधारमा मात्र सिफारिस गर्न गराउनु हुन पनि निर्देशन दिएको छ ।  

साथै बिभागले सर्वसाधारणलाई बालबालिकाका लागि प्रयोग गरिने कुनै पनि औषधि चिकित्सकको सल्लाह बमोजिम मात्र प्रयोग गर्न, विभागमा दर्ता भएका औषधिहरु मात्र प्रयोग गर्न, औषधिको लेबलमा उल्लेखित जानकारी वमोजिम मात्र प्रयोग गर्न अनुरोध गरेको छ ।

Read More

आज विश्व मुटु दिवस मनाइदै

काठमाडौँ । आज विश्व मुटु दिवस मनाइदैछ ।  सन् १९९९ मा विश्व मुटु सङ्गठन र विश्व स्वास्थ्य सङ्घको संयुक्त प्रयासमा यो विश्व मुटु दिवस मनाउन सुरु भएको हो ।

विश्व मुटु दिवस पहिलो पटक २७ सेप्टेम्बर २००० मा सुरु भएको हो । सन् २०११ सम्म यो दिवस हरेक सेप्टेम्बर महिनाको अन्तिम आइतबार मनाउने गरिएको थियो भने त्यसपछि सेप्टेम्बरको २९ तारिखको दिन विश्वभरि यो दिवस मनाउने गरिएको छ । यस वर्षको मुटु दिवसको नारा ‘डन् मिस अ बिट (एक कदम पनि नछुटाऔं) भन्ने छ । 

मुटुरोगको महामारीबाट जोगीनको लागि एउटै उपाय छ, यो के हो भने यो रोगबाट बच्ने, यो रोग लाग्नै नदिने । त्यसको लागि सबै जनमानसमा यो रोगको जानकारी जति सक्यो बढाउनुपर्ने हुन्छ ।

मुटुरोगबाट बच्चको लागि अध्याधिक मासु र मादक पदार्थ सेवन गर्न नहुने चिकित्सकहरुको सुझाव छ । जिब्रोका लागिभन्दा जीउ (शरीर)का लागि खाना खान तथा माछा, मासु, मदिरामा भन्दा सागपात, फलफूलमा ध्यान दिएमा मुटुरोगबाट बच्न सकिने विज्ञहरुको भनाई छ ।

खानपानकै कारण मुटुरोग लाग्ने हुदा रोग लाग्न नदिन खानपिनमा सजग भइ नियमित व्यायाम गर्नुपर्ने उनीहरुको सुझाव छ । मुटुरोगको उपचारभन्दा रोग लाग्न नै नदिन विशेष सावधानी अपनाउनु पर्ने विज्ञहरुको सुझाव छ ।

रक्तचाप, मधुमेह, कोलस्टोरलाई नियन्त्रणमा राख्नुपर्ने तथा दिनहुँ व्यायाम गरेमा मुटुरोगबाट बच्न सकिन्छ । मुटुरोग प्राणघातक भए तापनि ८० प्रतिशत हृदयघात रोकथाम गर्न सकिन्छ । विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्सेनि एक करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ । मृत्यु हुनेहरुमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका हुने गरेका छन् ।

Read More

काठमाडौँ महानगरमा डेङ्गी संक्रमणमा उतारचढाव, लार्भा खोजेर नष्ट गर्ने अभियान जारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सन् २०२२ मा २ हजार ९७३ जनामा डेङ्गी संक्रमण देखिएको थियो । यस्तै सन् २०२३ मा ६४३ जनामा संक्रमण देखियो । सन् २०२४ मा २ हजार ८४ जनामा संक्रमण देखियो ।

यस वर्ष अर्थात् गएको पुसदेखि अहिलेसम्म २४८ जनामा संक्रमण देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका अनुसार सन् २०२२ मा ९ हजार ८८६ जना, सन् २०२३ मा १ हजार ७१४ जना सन् २०२४ मा २ हजार ९८४ जना र सन् २०२५ को अहिलेसम्म २२७ जना संक्रमण भएका व्यक्तिको परीक्षण काठमाडौँ जिल्लामा भएको छ । तर, ठेगानामा पालिकाको नाम उल्लेख पाइँदैन । अस्पतालले संक्रमितमध्ये धेरै व्यक्ति काठमाडौँमा बसोबास गर्ने भएको उल्लेख गरेको छ ।

काठमाडौँ महानगरपालिकाका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालले विगत संक्रमणको अवस्था विश्लेषण गर्दै भने, ‘डेङ्गीको संक्रमण कुनै वर्ष घट्ने र कुनै वर्ष बढ्ने गरेको देखिन्छ ।’ भुषालका अनुसार काठमाडौँ महानगरपालिकाभित्र पहिलो पटक २०७५ सालमा चमती क्षेत्रमा एकजना महिलामा यो संक्रमण देखिएको हो । दोस्रो विरामी बालाजु ढुङ्गेधारामा भेटिएका थिए । 

महानगरपालिकाले गएका वर्षहरुको संक्रमण दर हेर्दै अहिले डेङ्गी सार्ने लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने कार्यक्रमलाई तीब्र बनाएको छ । वडा र समुदाय स्तरमा सञ्चालन भएको कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वयमसेविका, स्थानीयहरुको सहभागिता छ । 

नेपालमा २०६१ सालदेखि डेङ्गी देखिन थालेको हो । देशभरि डेङ्गी संक्रमणको तथ्याङ्क हेर्दा सन् २०२४ मा ६ हजार ८३१ जनामा संक्रमण देखिएको थियो । जसमध्ये ४ जनाको मृत्यु भयो । त्यसको अघिल्लो वर्ष अर्थात् सन् २०२३ मा ५२ हजार ७९० जनामा संक्रमण देखिँदा २० जनाको मृत्यु भयो । सन् २०२२ मा पनि डेङ्गीको संक्रमण उच्च थियो । त्यस वर्ष ५४ हजार ७८४ जनामा संक्रमण देखिँदा ८८ जनाको मृत्यु भएको थियो । 

सन् २०२१ मा ५४० जनामा संक्रमण देखिँदा ५ जनाको मृत्यु भयो । सन् २०२० मा ५३० जनामा संक्रमण देखिँदा ४ जनाको मृत्यु भएको थियो । सन् २०१९ मा भने १७ हजार ९९२ जनामा संक्रमण देखिँदा ६ जनाको मृत्यु भएको थियो ।  

सामान्यतयाः बर्खायाममा देखिने यो संक्रमणको वृद्धि दर भदौ, असोज र कार्तिक महिनामा धेरै देखिन थालेको छ । काठमाडौँसहित नेपालका १० जिल्लामा यो संक्रमण प्रकोपका रुपमा देखा परेको छ । 

सन् २००४ देखिको तथ्याङ्क हेर्दा सन् २००९ सम्म डेङ्गी संक्रमणका कारण कुनै कसैको पनि मृत्यु भएको देखिँदैन । सन् २०१० मा ९१७ जनामा डेङ्गी देखिँदा ५ जनाको मृत्यु भएको थियो । यसपछिका ४ वर्ष संक्रमणबाट कसैको पनि मृत्यु भएन । सन् २०१५ मा १३५ जनामा डेङ्गीको संक्रमण देखियो । यसमध्ये १ जनाको मृत्यु भयो । सन् २०१६ मा १ हजार ५२७ जनामा डेङ्गी देखियो । सन् २०१७ मा २ हजार १११ जनामा, सन् २०१८ मा ८११ जनामा संक्रमण देखियो । यी वर्षहरुमा क्रमशः १, ३ र ३ जनाको मृत्यु भएको देखिन्छ ।   

यसरी हुने संक्रमण र त्यसबाट हुने मानव मृत्यु घटाउन, महानगरपालिकाको स्वास्थ्य विभागले लार्भा खोज्ने, नष्ट गर्ने र सचेतना अभिवृद्धि गर्ने कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिरहेको छ ।

आम नागरिकका स्वास्थ्य सम्बन्धी गुनासा, जिज्ञासा सुन्न र प्रारम्भिक परामर्शका लागि निःशुल्क महानगरपालिकाले ११८० टेलिफोन नम्बर सञ्चालनमा ल्याएको छ ।

डेङ्गी संक्रमण फैलाउने एडिस जातको लामखुट्टे सफा जमेको पानीमा बस्छ । यसकारण सफा पानी राखिने भाँडाहरुमा पानी भरेर राख्नुहुँदैन । पानी जम्ने सडक, सडक पेटीका खाल्टाखुल्टी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरण्डामा जम्ने पानी लामखुट्टेको संख्या वृद्धि हुने ठाउँ भएकोले यस्ता ठाउँमा पानी जम्न दिनु हुँदैन । यो दायित्व हरेक नागरिकले पूरा गर्न महानगरपालिकाले आग्रह गरेको छ ।

Read More

आज विश्व फार्मासिस्ट दिवस मनाइदै

काठमाडौँ । आज विश्व फार्मासिस्ट दिवस मनाइदैछ ।

प्रत्येक वर्ष २५ सेप्टेम्बरमा यो दिवस समाजमा फार्मासिष्टको महत्वपूर्ण भूमिकालाई उजागर गर्ने उद्देश्यले विश्व फार्मासिस्ट दिवस मनाइने गरिएको छ । यस बर्षको विश्व फार्मासिस्ट दिवसको नारा ‘स्वास्थ्य सोचौं, फार्मासिस्ट सम्झौं’ रहेको छ । 

अन्तर्राष्ट्रिय औषधि महासंघ काउन्सिलको स्थापना सन् १९१२ मा स्थापना भएको थियो, त्यसपछि सन् २००९ मा टर्कीको इस्तानबुलमा भएको वर्ल्ड कंग्रेस अफ फार्मेसी एन्ड फार्मास्युटिकल साइन्समा अन्तर्राष्ट्रिय औषधि महासंघ काउन्सिलले हरेक बर्ष सेप्टेम्बर २५ मा यो दिवस मनाउने घोषणा गरेको थियो ।

विश्व फार्मासिस्ट दिवस मनाउनुको उद्देश्य फार्मासिस्टको महत्वपूर्ण भूमिकालाई उजागर गर्नु र चिकित्सा पेशेवरहरूलाई सम्मान गर्नु रहेको छ । यस दिन प्रत्येक व्यक्तिलाई उचित स्वास्थ्य सेवा प्रदान गर्न फार्मासिष्टहरूले खेल्ने महत्त्वपूर्ण भूमिकाको बारेमा मानिसहरूलाई सचेत गराइन्छ । यस विशेष दिनमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका फार्मासिस्टहरूलाई सम्मान गरिन्छ ।

Read More

स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न नमिल्ने

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी भएको स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न नमिल्ने भएको छ ।

नेपाल इन्जिनियर्स’ एसोसिएसनको विज्ञ टोलीले गरेको अनुगमनपछि मन्त्रालयको भवन प्रयोग गर्न नमिल्ने अवस्थामा रहेको निष्कर्ष निकालेको हो ।

नेपाल इन्जिनियर्स एसोसिएसनका प्राविधिकहरूले आगजनी भएका सार्बजनिक भवनहरुको निशुल्क फिल्ड अस्सेसमेन्ट गरिरहेका छन् ।

एसोसियसनले आगलागीपछि संरचनामा भएको क्षतिको प्रारम्भिक निरीक्षण, जोखिम मूल्याङ्कन र संरचनागत सुरक्षा मूल्याङ्कनको महत्वपूर्ण कार्य गर्दै दिगो पुनर्निर्माण र विपद् व्यवस्थापनमा योगदान पुर्‍याइरहेका छन् ।

Read More

वयस्कको लागि कोरोना खोप सिफारिस नगर्ने पक्षमा अमेरिकी समितिमा मतदान

काठमाडौँ । एक प्रमुख अमेरिकी खोप सल्लाहकार समितिले सबै वयस्कहरूको लागि कोरोना खोप सिफारिस नगर्ने पक्षमा मतदान गरेको छ ।

महामारी सुरु भएदेखि नै यो खोप आधिकारिक रूपमा अधिकांश मानिसहरूले वार्षिक प्रयोगको लागि अनुमोदन गरेको थियो । खोप अभ्यास सम्बन्धी सल्लाहकार समिति (एसीआइपी) ले पनि कोरोना खोप सिफारिस गर्ने पक्षमा साँघुरो मतले मतदान गरेको थियो ।

दुई दिनको बैठकमा, समितीले संयुक्त दादुरा, मम्प्स, रुबेला र चिकेनपक्स खोपमा आफ्ना सिफारिसहरू परिमार्जन गरेको छ भने हेपाटाइटिस बी खोपमा मतदान स्थगित गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ. केनेडी जूनियरले जुनमा समितिका सबै १७ सदस्यहरूलाई बर्खास्त गरेर नयाँ सदस्यहरू नियुक्त गरेका थिए । यो निर्णयले स्वास्थ्यकर्मीहरूमा आक्रोश फैलाएको थियो । रोबर्ट एफ. केनेडी जूनियर कोरोनाविरुद्धको खोपको विरुद्ध बोल्दै आएका थिए ।

प्यानलले शुक्रबार कोरोना खोपको बारेमा छलफल गरेको थियो । अमेरिकामा कोरोनाको खोप फ्लु खोप जस्तै नियमित रूपमा सिफारिस गरिएको थियो ।

समितिले अब खोपको लागि व्यापक सिफारिस समाप्त गर्न मतदान गरेको छ, जसमा ६५ वर्षभन्दा माथिका मानिसहरू पनि समावेश छन् । यद्यपि, प्यानलले मानिसहरूले आफ्नो डाक्टरसँग परामर्श गरेपछि खोपको बारेमा आफ्नै निर्णय लिन सक्ने बताएको छ । गत मे महिनाको सुरुमा, स्वस्थ गर्भवती महिला र बालबालिकाका लागि कोरोना खोपको सिफारिस बन्द गरिएको थियो ।

Read More

सिभिल अस्पतालमा आजका सबै ओपीडी सेवा बन्द

काठमाडौँ । काठमाडौँको सिभिल अस्पतालले आजका सबै ओपीडी सेवाहरू बन्द गरेको छ।

सोमबार जेनजीको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार भइरहेका कारण आज मंगलबार अस्पतालका सबै ओपीडी सेवाहरू बन्द गरिएको अस्पतालले जानकारी दिएको छ । 

अस्पतालले आन्दोलनका क्रममा घाइते भएका सिभिल अस्पतालमा १४१ जनाको उपचार गरिएको र थप उपचारका लागि ४२ जनालाई अन्य अस्पतालमा रेफर गरिएको जानकारी दिएको छ । साथै अस्पतालमा उपचारका क्रममा तीन जनाको निधन भएको जनाएको छ ।

Read More