२०८३ कार्तिक ९

बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

काठमाडौँ । अहिलेसम्म, बी-कोशिकाहरूलाई शरीरको प्रतिरक्षा प्रणालीको सुरक्षा गार्डको रूपमा हेरिन्थ्यो, बाहिरी रोग पहिचान गर्ने र एन्टिबडीहरू उत्पादन गरेर उनीहरूसँग लड्न मद्दत गर्ने रुपमा हेरिन्थ्यो । यद्यपि, वैज्ञानिक जर्नल सेलमा प्रकाशित एक अध्ययनले बी-कोशिकाहरूको लागि फरक र महत्त्वपूर्ण भूमिका प्रकट गरेको छ । 

चीनको सिंघुआ विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अध्ययनमा यी प्रतिरक्षा कोशिकाहरूले व्यायामको क्रममा मांसपेशीको सहनशीलता र प्रदर्शन कायम राख्न पनि महत्त्वपूर्ण भूमिका खेल्छन् । अनुसन्धानका अनुसार, बी-कोशिकाहरूले, एक विशिष्ट प्रोटीन मार्फत, ग्लुटामेट नामक एमिनो एसिडको स्तरलाई नियमन गर्छन्, जुन मांसपेशीको ऊर्जा प्रणाली र इष्टतम मांसपेशी कार्यको लागि आवश्यक छ ।

सिंघुआ विश्वविद्यालयका प्रमुख अनुसन्धानकर्ता र इम्युनोलोजिस्ट पेङ जियाङले पहिलो पटक बी-कोशिकाहरूको लागि भूमिका पहिचान गरिएको बताएका छन्, जुन प्रतिरक्षा प्रणालीसँग प्रत्यक्ष रूपमा सम्बन्धित छैन । उनले यसलाई हाम्रो प्रारम्भिक अपेक्षाहरूभन्दा बाहिरको रूपमा वर्णन गरेका छन् ।

अनुसन्धानकर्ताहरूले प्रतिरक्षा प्रणाली र व्यायाम क्षमता बीच प्रत्यक्ष सम्बन्ध छ कि छैन भनेर निर्धारण गर्न खोजेको रिपोर्टमा उल्लेख हच । यो गर्न, तिनीहरूले आनुवंशिक रूपमा कम बी-कोशिका संख्या भएका मुसाहरूको अध्ययन गरे । यी मुसाहरूलाई ट्रेडमिलमा दौडन बनाइएको थियो । लगभग १५ मिनेटको अवधिमा नियमित अन्तरालमा मेसिनको गति बढाइएको थियो, र मुसाहरू पूर्ण रूपमा थकित भएपछि परीक्षण रोकिएको थियो । त्यसपछि वैज्ञानिकहरूले दोस्रो समूहमा पनि उही प्रयोग गरेका थिए । 

यो समूहलाई एन्टिबडी थेरापी दिइयो, जुन मानवमा क्यान्सर निम्त्याउने बी-कोशिकाहरूलाई लक्षित गर्न प्रयोग गरिन्छ । यो थेरापीले शरीरमा बी-कोशिकाहरूलाई नष्ट गर्छ । दुवै समूहहरूलाई सामान्य बी-कोशिकाहरू भएको नियन्त्रण समूहसँग तुलना गरिएको थियो । 

अनुसन्धानकर्ताहरूले कम बी-कोशिकाहरू भएका मुसाहरूमा, चाहे आनुवंशिक उत्परिवर्तन वा एन्टिबडी थेरापीको कारणले होस्, सामान्य मुसाहरूको तुलनामा कम सहनशीलता र मांसपेशी बल भएको पत्ता लगाएको छ । यसले बी-कोशिकाहरूले प्रतिरक्षामा मात्र नभई शारीरिक प्रदर्शन कायम राख्न पनि महत्त्वपूर्ण भूमिका खेल्ने रिपोर्टमा उल्लेख छ ।

वैज्ञानिकहरूले बि-कोशिकाहरू नभएका मुसाहरूमा व्यायाम पछि तिनीहरूको मांसपेशीहरूमा ग्लुटामेटको स्तर पनि कम थियो । ग्लुटामेट एक एमिनो एसिड हो जसले कोशिकाहरूमा ऊर्जा उत्पादन सुधार गर्न मद्दत गर्दछ । जब यसको स्तर उच्च हुन्छ, मांसपेशीहरू अधिक कुशल हुन्छन् र थकान ढिलाइ हुन्छ । 

अनुसन्धानका अनुसार, बि-कोषहरूले टिजीएफ-बि-१ भनिने संकेतात्मक प्रोटिन उत्पादन गर्छन् । यो प्रोटिनले कलेजोमा ग्लुटामेट उत्पादन बढाउन मद्दत गर्छ । यदि यो प्रक्रिया अवरुद्ध भयो भने, मांसपेशी र रगतमा ग्लुटामेटको उपलब्धता घट्छ, जसले गर्दा व्यायाम क्षमतामा कमी आउन सक्छ ।

Read More

एमपीएच, एमडी र एमएस इन बेसिक साइन्सेसको शैक्षिक उपाधिलाई निश्चित मापदण्डका आधारमा समकक्ष मान्ने काउन्सिलको निर्णय

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले एमबीबीएस तथा बीडीएसपछि प्राप्त एमपीएच, एमडी र एमएस इन बेसिक साइन्सेसको शैक्षिक उपाधिलाई निश्चित मापदण्डका आधारमा समकक्ष मान्ने निर्णय गरेको छ । काउन्सिलको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको रजिष्ट्रार डा. सतिस कुमार देवले जानकारी दिएका हुन् ।

काउन्सिलका अनुसार एमबीबीएस र बीडीएस दुवै चिकित्साशास्त्रअन्तर्गत समान तहको स्नातक उपाधि मानिन्छ । यी दुवै अध्ययनपछि चिकित्साशास्त्रको स्नातकोत्तर तहमा नन–क्लिनिकल विशेषज्ञता वा एमपीएच, एमडी तथा एमएस अध्ययन गरिने भएकाले ती उपाधिको ज्ञान, सीप र जनस्वास्थ्य तथा स्वास्थ्य व्यवस्थापनमा योगदान समान र विशिष्टीकृत हुने निष्कर्ष निकालिएको छ ।

सम्बन्धित शिक्षण संस्थाको पाठ्यक्रम र अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यानमा राख्दै एमबीबीएस वा बीडीएसपछि प्राप्त एमपीएच, एमडी तथा एमएस इन बेसिक साइन्सेसलाई निश्चित मापदण्ड पूरा गरेपछि समकक्ष मानिने काउन्सिलले जनाएको छ।

Read More

विश्व औलो दिवस आज मनाइदै

काठमाडौँ । विश्व औलो दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

औलो रोगबारे जनचेतना फैलाउने उद्देश्यका साथ प्रत्येक वर्ष अप्रिल २५ का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । विश्व औलो दिवस २०२६ को विषय ‘औलो अन्त्य गर्न प्रेरित: अब हामी सक्छौं । अब हामीले गर्नुपर्छ’ भन्ने रहेको छ ।

‘एनोफिलिज’ नामक लामखुट्टेको टोकाइका कारण औलो रोग फैलिने गर्छ । औलो फैलाउने लामखुट्टे प्रायः फोहोर तथा दूषित पानीमा बस्छ । विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार औलो रोगबाट प्रत्येक वर्ष विश्वमा करिब ५० हजार मानिस प्रभावित हुने गर्छन् । जसमध्ये करिब २७ प्रतिशतको मृत्यु औलो रोगकै कारण हुने गर्छ । औलो रोगका कारण मृत्यु हुनेमा पाँच वर्षमुनिका बालबालिका धेरै छन् ।

यो रोगको जोखिममा मुख्यतया गर्भवती महिला तथा पाँच वर्ष मुनिका बालबालिका रहने गरेका छन् । संसारमा पाइने औलोको परजीविमध्ये दुई परजीवि प्लाज्मोडियम फाल्सिपेरम तथा प्लाज्मोडियम भाइभेक्स जातको परजीविमात्र नेपालमा पाइन्छ । यसमध्ये प्लाज्मोडियम फाल्सिपेरम गराउने औलो रोग बढी कडा तथा खतरनाक हुन्छ ।

स्वास्थ्य संस्था र सरोकारवाला निकायले औलो निवारण गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएपनि नेपालमा औलोको प्रकोप कायमै छ । औलो उन्मूलनका लागि भन्दै करोडौं रकम खर्च गरिएको छ ।

औलो रोग लाग्न नदिनु लामखुट्टेको टोकाईबाट जोगिनु नै हो । त्यसको लागि लामखुट्टेको विकास र जीवनचक्र नाश गर्नु नै सबैभन्दा उत्तम उपाय हो । पानी जम्ने स्थानहरू कम गर्ने, बासस्थान नष्ट गर्ने, लामखुट्टेको लार्भा नाश गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने, राति सुत्दा सधैं झुल प्रयोग गर्नुपर्दछ । शरीरका खुला अंगहरूमा लामखुट्टेबाट बच्न सकिने मलम लगाउने उपयोगी स्प्रे, लिक्विड, म्याट आदि पनि प्रयोग गर्न सकिन्छ ।

Read More

नेपाली नागरिकता त्यागेका १७ डाक्टरको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्यागेका १७ डाक्टरको लाइसेन्स खारेज गरेको छ । 

शुक्रबार काउन्सिलले नेपाली नागरिकता त्यागी विदेशी नागरिकता लिएका १७ जना डाक्टरको नाम नेपाल मेडिकल काउन्सिलको दर्ता कितावबाट खारेज गरेको जानकारी गराएको छ ।

काउन्सिलले नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २४, नेपाल नागरिकता ऐन २०६३, नेपाल मेडिकल काउन्सिलको निर्णयअनुसार  उनीहरुको नाम खारेज गरिएको बताएको छ । 

यसरी नाम खारेज हुनेहरुमा हङकङ नागरिक डा. शर्मिला गुरुङ, अस्ट्रेलियन नागरिक डा. रोशन भुषाल, ब्रिटिस नागरिक डा. मोती गुरुङ, अस्ट्रेलियन नागरिक डा. देवराज रेग्मी, ब्रिटिस नागरिक डा. मेरिना गुरुङ, अमेरिकी नागरिक डा. निरन्जनदेव पाण्डे, ब्रिटिस नागरिक डा. रोजन केसी, ब्रिटिस नागरिक डा. ममता गुरुङ, पोर्चुगाली नागरिक डा. राजीव हमाल, ब्रिटिस नागरिक डा. सलुजासिंह थारु, अमेकिी नागरिक डा. सुजना केसी, ब्रिटिस नागरिक डा. जोस्ना शाही, अमेरिकी नागरिक डा. मनिपा हमाल, क्यानेडियन नागरिक डा. सुप्रिया शाक्य, क्यानेडियन नागरिक डा. इच्छा न्यौपाने, अमेरिकी नागरिक डा. दिपेन ढकाल र भारतीय नागरिक डा. तुपार सरवजना रहेका छन् ।

Read More

विश्व खोप सप्ताह आजदेखि सुरु

काठमाडौँ । अप्रिल महिनाको अन्तिम हप्तालाई विश्वभरी खोप सप्ताहको रुपमा मनाइन्छ भने नेपालमा बैशाख महिनालाई नै खोप महिनाको रुपमा मनाउने गरिन्छ । 

यस बर्षको खोप सप्ताहको विषयवस्तु ‘प्रत्येक पुस्ताको लागि, खोपले काम गर्छ’ भन्ने रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विगत ५० वर्षमा खोपका १५ करोड ४० लाख जीवन जोगिएको छ । शिशुको बाँच्ने अवस्थामा ४० प्रतिशतले योगदान पुगेको तथा बचाइएका जीवनको ६० प्रतिशत हिस्सा दादुरा खोपले ओगटेको छ ।

बालकदेखि वृद्धसम्मलाई रोगप्रतिरोधात्मक क्षमतायुक्त बनाउने विभिन्न खोपले औलो, इन्फ्लुएन्जा, गर्भवतीहरूलाई टिटानस किशोरीहरुलाई एचपिभीबाट जोगाउँछ ।

यो सप्ताहमा पाँच वर्षमुनिका बालबालिकाले कुनै खोप लगाउन छुट भएकालाई  गाउँ टोलमा सोध खोज गरेर खोप लगाउन छुट भएका बालबालिका पहिचान गरिन्छ र छुट खोप लगाउने गरिन्छ ।

Read More

काठमाडौँमा प्रदुषण बढ्यो, एयर क्वालिटी इन्डेक्समा विश्वकै प्रदुषित शहर

काठमाडौँ । काठमाडौँ उपत्यकामा मौसममा आएको परिवर्तनसँगै प्रदुषणको मात्र पनि बढेको छ । विहिबार  काठमाडौँ विश्वको सबैभन्दा प्रदुषित शहर बनेको छ ।

वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले (दिउसो ४: १५ बजे) काठमाडौँ विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको शहर बनेको छ । अहिले काठमाडौँको एयर क्वालिटी इन्डेक्स  २०४ रहेको छ । जसलाई  अति कमजोर मानिन्छ । काठमाडौँ पछि पाकिस्तानको लाहोरको एयर क्वालिटी इन्डेक्स १५१ रहेको छ ।  

वायु गुणस्तर सूचक शून्य देखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० सम्म अति कमजोर र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।

Read More

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति चिकित्सक संघको आपत्ति

काठमाडौँ । नेपाल चिकित्सक संघले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले क्यान्टिनमा खाजा खाँदै गरेका चिकित्सकमाथि आफूलाई युवा अभियन्ता बताउने व्यक्तिले दुर्व्यवहार गर्नुका साथै आक्रमणको धम्की दिएको र उक्त घटनाको भिडियो बनाएर सामाजिक सञ्जालमार्फत अफवाह फैलाइएको आरोप लगाएको छ ।

संघले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि तथ्यहीन आरोप लगाई समाजमा भ्रम सिर्जना गर्ने कार्यको कडा निन्दा गरेको छ । यस्ता गतिविधिले नागरिक र स्वास्थ्यकर्मीबीच दूरी बढाउने तथा सेवा प्रवाहमा समेत असर पार्ने संघको भनाइ छ ।

घटनामा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न र चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित निकायसँग संघले माग गरेको छ । साथै यस्ता घटना पुनः दोहोरिन नदिन आवश्यक कानुनी कदम चाल्न सरकारसँग आग्रह गरिएको छ ।

Read More

बेलायतमा २००८ पछि जन्मिएकाले सुर्तीजन्य पदार्थ किन्न नपाउने

काठमाडौँ । बेलायतले धूम्रपान नियन्त्रणका लागि निकै कडा र ऐतिहासिक कदम चालेको छ ।

अब सन् २००८ पछि जन्मिएका व्यक्तिले जीवनभर सुर्तीजन्य पदार्थ किन्न नपाउने व्यवस्था गर्न लागिएको छ । सरकारले ‘सुर्तीजन्य तथा वेपसम्बन्धी विधेयक’ पारित गरिसकेको छ । संसदबाट पास भइसकेको यो विधेयक अब राजाबाट औपचारिक स्वीकृति पाएपछि कानुन बन्नेछ । यो व्यवस्था इङल्याण्ड, स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डमा लागू हुनेछ ।

सरकारका अनुसार सन् २०२७ जनवरी १ देखि यो कानुन कार्यान्वयनमा आउनेछ । त्यसपछि हरेक वर्ष सुर्ती किन्न पाउने न्यूनतम उमेर एक वर्षका दरले बढ्दै जानेछ । यस आधारमा सन् २००९ वा त्यसपछि जन्मिएका व्यक्तिले कानुनी रूपमा कहिल्यै चुरोट वा सुर्तीजन्य पदार्थ किन्न पाउने छैनन् ।

नयाँ व्यवस्थाअनुसार पसलहरूले ग्राहकको उमेर अनिवार्य जाँच गर्नुपर्नेछ । कम उमेरका व्यक्तिलाई सुर्ती बेचिएमा जरिवाना लाग्नेछ । साथै सुर्ती बिक्री गर्ने व्यवसायीले अनिवार्य दर्ता गर्नुपर्नेछ र यसको विज्ञापन तथा प्रचारमा कडाइ गरिनेछ ।

इलेक्ट्रोनिक चुरोट (वेप) मा पनि कडा नियम लागू गरिने भएको छ । विद्यालय, अस्पताल र बालबालिकाले प्रयोग गर्ने स्थानमा धूम्रपान पूर्ण रूपमा निषेध हुनेछ भने धेरै भित्री स्थानमा वेप प्रयोग गर्न पनि रोक लगाइनेछ ।

स्वास्थ्य अधिकारीहरूले यसलाई भविष्यका लागि ‘धूम्रपानरहित पुस्ता’ तयार गर्ने ऐतिहासिक कदमका रूपमा लिएका छन् । उनीहरूका अनुसार रोग लागेपछि उपचार गर्नु भन्दा सुरुमा नै रोकथाम गर्नु प्रभावकारी हुन्छ ।

सरकारी तथ्यांकअनुसार बेलायतमा हरेक वर्ष करिब ७६ हजार मानिस सुर्तीजन्य रोगका कारण ज्यान गुमाउछन् । क्यान्सर, मुटुरोग र फोक्सोसम्बन्धी समस्या यसको प्रमुख कारण हुन् ।

यद्यपि, केही व्यवसायी र आलोचकहरूले भने यस्तो कडा नीति भन्दा जनचेतना बढाउनु बढी प्रभावकारी हुने तर्क गरेका छन् । तर सरकार भने नयाँ पुस्तालाई सुरुदेखि नै सुर्तीबाट टाढा राख्न कडा कानुन आवश्यक रहेकोमा अडिग देखिएको छ ।

Read More

११४ महिला सहित १५१ ले लिए महानगरको प्राथमिक उपचार तालिम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका वडाहरुमा सञ्चालन गरिएको प्राथमिक उपचार तालिममा १५१ जना प्रशिक्षित हुँदा ११४ जना महिला रेहका छन् ।

हरेक वडामा २५ जनालाई तालिम दिने लक्ष्यसहित चैत १५ गतेदेखि थालिएको तालिमअन्तर्गत अहिलेसम्म वडा नं. १, ९, १२, १४, १५ र २६ गरी ६ वटा वडामा सम्पन्न भएको छ । तालिम नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखासँगको सहकार्यमा गरिएको हो । यसका लागि २०८२ चैत ५ गते सम्झौता गरिएको थियो । 

सोसाइटीले ६ वटा वडामा सम्पन्न गरेको तालिमको समीक्षा गरेको छ । यस क्रममा रेडक्रस काठमाडौँका सभापति श्यामकाजी डोटेलले, तालिमका लागि ज्येष्ठ नागरिकहरुको बढी चासो आएको उल्लेख गरे ।

शाखाका कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधरले, तालिम प्रभावकारी रुपमा सञ्चालन भएको जानकारी दिँदै यसअघिका तालिमभन्दा यसपटकको तालिम बढी प्रभावकारी रहेको महसुस भएको उल्लेख गरिन् । महानगरपालिकाका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालका अनुसार यो सेवा आपतकाल व्यवस्थापनका लागि उपयोगी हुनेछ । 

समीक्षात्मक वैठकमा प्रशिक्षकहरु राजाराम श्रेष्ठ, पार्वती पुडासैनी, अमृता रिजाल, राजेन्द्र श्रेष्ठले अनुभव सुनाउँदै भने- ‘प्रशिक्षार्थीहरु कसैलाई पनि समयमा आउनु भन्नु परेको छैन । समय नसकिँदै जान कसैले हतार गर्नुहुन्न । धेरै गृहिणी हुनुहुन्छ । कोही पनि घरको काम वितेको छ भनेर हतारिनु हुन्न । जनप्रतिनिधिहरु पनि पूरा समय दिएर सिकिरहनु भएको छ ।’ यो सबैभन्दा सवल पक्ष हो । 

यसरी लिएको तालिमबाट प्राप्त गरेको प्रमाण पत्र नेपाल सहित १९२ देशमा मान्य हुनेछ । तालिममा दुर्घटना, चोटपटक वा स्वास्थ्यजन्य आपतकालीन परिपस्थितिमा आफू नजिक रहेका साधन तथा वस्तुको उपयोग अवस्था विग्रिन नदिने, स्थिर बनाउने र सुधार गराउने सिप सिकाइन्छ ।

दुर्घटना, चोटपटक, अचानक विरामी पर्ने अवस्था जस्ता स्वास्थ्यजन्य आपतकालीन परिस्थितिमा विरामीलाई अस्पताल पुर्‍याउनु अघि अवस्था थप विग्रिन नदिनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो । यसका लागि घटना स्थल वरपर जे सामान तथा वस्तु पाइन्छ, त्यसैलाई प्रयोग गरेर जीवन बचाउने तथा अवस्था थप विग्रिन नदिने वा उपचारका लागि अस्पताल लैजाने विधि सिकाइन्छ । 

यसमा दुर्घटना स्थलमा आफ्नो र घाइतेको सुरक्षा, घाइतेको अवस्था प्रारम्भिक जाँच, मुटुको धड्कन वा श्वासप्रश्वास बन्द भएको व्यक्तिलाई छाती थिचेर र कृतिम श्वास दिएर पुनर्जीवित गराउने विधि (सीपीआर), रक्तश्राव नियन्त्रण गर्ने तरिका सिकाइन्छ ।

सरीरबाट रगत बग्दा, नाकबाट रगत बग्दा नियन्त्रण गर्ने, हड्डी भाँचिएको वा मर्किएको थाहा पाउने, घाँटीमा केही अड्किएको निकाल्ने, आगो, तातो पानी वा कुनै रसायनले पोल्दा गर्नुपर्ने पहिलो रोकथाम र बचावट, सर्प, कुकर, विच्छीजस्ता विषालु जीव वा किराले टोकेपछि गरिने रोकथाम, वेहोस भएका व्यक्तिलाई थप समस्याबाट बचाउने उपाय, विषाक्तताबाट बचाउने सिप, पानीमा डुवेको, करेन्ट लागेको अवस्थाबाट बचाउने, घाइते वा विरामीलाई ओसार्ने विधिको सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरिन्छ ।

Read More

आज अटिजम जागरुकता दिवस विश्वभर मनाइँदै

काठमाडौँ । आज अटिजम जागरुकता दिवस विश्वभर मनाइँदैछ । अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिंदै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाइने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

यस बर्ष यस दिवसको नारा ‘अटिजम र मानवता- हरेक जीवनको मूल्य हुन्छ’ भन्ने रहेको छ । अटिजम भएका व्यक्तिहरूको जीवनको बारेमा गलत जानकारी र प्रतिगामी बयानबाजी पुन: देखा परिरहेको समयमा, यस वर्षको भर्चुअल कार्यक्रम सीमित कथाहरूभन्दा बाहिर जान र प्रत्येक अटिजम भएका व्यक्तिको अन्तर्निहित मर्यादा, समान अधिकार र निःशर्त मूल्यलाई पहिचान गर्ने कार्य गर्ने आव्हान भएको बताइएको छ ।

यो दिवस पहिलो पटक २००८ मा मनाइएको थियो । नोभेम्बर १, २००७ मा, संयुक्त राष्ट्र संघले प्रत्येक वर्ष एक दिनलाई विश्व अटिज्म दिवसको रूपमा घोषणा गर्न भनेको थियो । सोही अनुरुप डिसेम्बर १, २००७ मा संयुक्त राष्ट्र साधारण सभाले अप्रिल २ लाई विश्व अटिज्म जनचेतना दिवस भनेर तोकेको हो । त्यस यता हरेक वर्ष विश्वमा ओटिज्म भएका व्यक्तिको अधिकार र पहिचान सुनिश्चित एवं चेतनाको अभिवृद्धी गर्ने उद्देश्यले विश्व ओटिजम जनचेतना दिवस मनाउने गरिएको हो ।

अटिजम भन्नाले कुनै पनि मानिसमा भएको सामाजिक कौशलताका चुनौती, दोहोरिने व्यवहार, आफ्नो मनको भावनालाई बोलेर व्यक्त गर्न नसक्ने समस्या भन्ने बुझिन्छ । अटिजम जेनेटिक र वातावरणीय प्रभावका कारण हुने गर्दछ ।

पछिल्लो समय विश्वमा अटिजम चुनौतीपूर्ण स्वास्थ्य समस्याको रुपमा बढीरहेको छ । नेपालमा अटिजमबाट गुज्रिरहेकाको यकिन तथ्यांक भने छैन । अटिजमको समस्याबाट गुज्रिरहेकाहरुको उपचार र नियन्त्रणका लागि त्यसको तथ्यांक राख्न आवश्यक छ । स्पेक्ट्रम डीसअर्डरका रुपमा लिइने यो स्वास्थ्य समस्याको खतर केटी भन्दा केटाहरुमा ४ गुणाले बढी हुने गरेको पाइएको छ । आमा बुवाको उमेर धेरै भएपछि जन्मिएका बच्चाहरुमा अटिजमको खतरा हुने गरेको छ । अटिजम विकासात्मक विकारको अवस्था हो र यो जीवनभर नै रहने एक अपाङ्गता हो । यो समस्या कुनै पनि जाती, वर्ग र आर्थिक सामाजिक अवस्थाको व्यक्तिहरुमा पनि देखिन सक्छ ।

अटिजम भएका व्यक्तिहरुलाई साधारण सञ्चार र सामाजिक कठिनाईदेखि जीवन यापनमा सदा अरुको सहायतामा जीउनु पर्ने अवस्था हुन्छ । यो समस्या जति ढिलो थाहा हुन्छ उनीहरुको उपचारमा पनि झन् ढिलो हुनुको साथै अवस्था जटिल हुँदै जान्छ । यस कारण यो समस्या समयमा पहिचान गर्न सकियो भने जटिलता हुनबाट बचाउन सकिन्छ ।

Read More