काठमाडौं । भारतीय दूतावासअन्तर्गत सञ्चालित एक्स-सर्भिसमेन कन्ट्रिब्युटरी हेल्थ स्किम (ECHS) मा विभिन्न पदका लागि रोजगारीको अवसर खुलेको छ।
ECHS ले काठमाडौं, पोखरा, धरान र कोहलपुरस्थित पोलिक्लिनिक तथा क्षेत्रीय केन्द्रका लागि मेडिकल अफिसर, नर्सिङ असिस्टेन्ट, रेडियोग्राफर, रेडियोलोजिस्ट, मेडिकल स्पेसलिस्ट, ड्राइभर र डेन्टल हाइजिनिस्ट पदमा आवेदन माग गरेको हो।
पदअनुसार मासिक पारिश्रमिक ४० हजार ९६० रुपैयाँदेखि २ लाख ८ हजार रुपैयाँसम्म तोकिएको छ। मेडिकल स्पेसलिस्ट र रेडियोलोजिस्टका लागि २ लाख ८ हजार, मेडिकल अफिसरका लागि १ लाख ५२ हजार तथा नर्सिङ असिस्टेन्ट र डेन्टल हाइजिनिस्टका लागि ५८ हजार ४ सय रुपैयाँ मासिक तलब तोकिएको सूचनामा उल्लेख छ।
योग्यता र अनुभव पदअनुसार फरक–फरक तोकिएको छ। अधिकांश पदमा सम्बन्धित विषयको शैक्षिक योग्यता र कम्तीमा पाँच वर्षको कार्यअनुभव माग गरिएको छ। योग्य उम्मेदवारमध्ये भारतीय पूर्वसैनिकलाई प्राथमिकता दिइने दूतावासले जनाएको छ।
छनोटमा परेका उम्मेदवारलाई अन्तर्वार्ताका लागि फोनमार्फत जानकारी दिइनेछ। नियुक्ति एक वर्षका लागि करारमा हुनेछ।
आवेदन बुझाउने अन्तिम मिति १६ अक्टोबर २०२६ तोकिएको छ।