काठमाडौं । भारतमा स्नातक तहको अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि भारतीय दूतावासले छात्रवृत्तिको अवसर खुलाएको छ।
दूतावासले COMPEX–2026 छात्रवृत्ति योजनाअन्तर्गत शैक्षिक सत्र २०२६–२७ का लागि इन्जिनियरिङ, फार्मेसी, कृषि, फुड टेक्नोलोजी र बीएस्सी नर्सिङ अध्ययनका लागि नेपाली विद्यार्थीबाट आवेदन माग गरेको हो।
यसका लागि कक्षा १२ उत्तीर्ण गरेका वा २०२६ मा कक्षा १२ को परीक्षा दिइरहेका विद्यार्थीले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । पाठ्यक्रम अनुसार कक्षा १२ मा न्यूनतम ६० प्रतिशत समग्र अंक तथा सम्बन्धित विषयमा आवश्यक अंक प्राप्त गरेको हुनुपर्नेछ।
भारतीय दूतावासले सञ्चालन गर्ने प्रतिस्पर्धात्मक कम्प्युटरमा आधारित परीक्षा (CBT) मार्फत छनोट गरिने सूचनामा उल्लेख छ। आवेदनका लागि न्यूनतम उमेर १६ वर्ष र अधिकतम २३ वर्ष तोकिएको छ ।
दूतावासका अनुसार आवेदन अनलाइनमार्फत बुझाउनुपर्ने र त्यसका लागि नेपाल एसबीआई बैंकमा ४ सय रुपैयाँ आवेदन शुल्क बुझाउनुपर्ने व्यवस्था छ । आवेदन प्रक्रिया २७ अगस्टबाट सुरु भई सेप्टेम्बर १६, २०२६ सम्म पूरा गर्नुपर्ने छ ।
दूतावासले छात्रवृत्तिका लागि आवेदन आफैँ बुझाउन विद्यार्थीलाई आग्रह गर्दै कुनै पनि शैक्षिक कन्सल्टेन्सी, बिचौलिया वा एजेन्सीमार्फत प्राप्त आवेदन स्वीकार नगर्ने स्पष्ट पारेको छ ।