काठमाडौं । पहिरोका कारण एक दिनदेखि अवरुद्ध म्याग्दीको बेनी–दरवाङ सडक आइतबार दिउँसोदेखि सञ्चालनमा आएको छ। फापरखेतमा खसेको पहिरो हटाएपछि पश्चिम म्याग्दीका तीन स्थानीय तहलाई सदरमुकाम बेनीसँग जोड्ने सडकमा यातायात पुनः सुरु भएको हो।
बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा शुक्रबार राति पहिरो खसेपछि २४ किलोमिटर दूरीको सडकमा सिधा आवागमन बन्द भएको थियो। पूर्वाधार विकास कार्यालय म्याग्दीले ब्याकुहोलोडर परिचालन गरी पहिरो पन्छाएपछि सवारीसाधन चल्न थालेका हुन्।
पहिरो हटाउने कामको जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि चक्रलाल पाण्डेका अनुसार सडक तत्कालका लागि मर्मत गरेर सञ्चालनमा ल्याइएको हो। तर, निरन्तर पहिरो खस्ने जोखिम रहेकाले जुनसुकै बेला आवागमन फेरि रोकिन सक्ने उनले बताए।
बेनी–दरवाङ सडक मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने प्रमुख मार्ग हो। फापरखेतमा सडकको मार्ग खोलिएदेखि नै पहिरो नियन्त्रणको प्रयास हुँदै आए पनि समस्या समाधान हुन सकेको छैन।
पछिल्लो समय पहाडको नयाँ स्थानमा ढिस्को चर्किएर पहिरो खस्न थालेपछि सडकमा यात्रा जोखिमपूर्ण बनेको छ। सडक खुले पनि यात्रु तथा चालकलाई सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ।