दाङ । वर्षौंदेखि जग्गाको स्वामित्वविहीन अवस्थामा रहेका दाङका आठ भूमिहीन दलित परिवारले जग्गाधनी पुर्जा पाएका छन्। जिल्ला भूमि समस्या समाधान समितिले जिल्लाका विभिन्न स्थानीय तहमा बसोबास गर्दै आएका परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो।
समितिका अनुसार गढवा गाउँपालिका–३ का पाँच परिवार, लमही नगरपालिका–३ का दुई परिवार र राप्ती गाउँपालिका–१ का एक परिवारले पुर्जा प्राप्त गरेका छन्।
साविक गोबरडिया गाविस वडा नं. ६ ख, सोनपुर ५क र लालमटिया ३त क्षेत्रमा पर्ने परिवारलाई सम्बन्धित स्थानको अभिलेखका आधारमा पुर्जा उपलब्ध गराइएको समितिले जनाएको छ।
जग्गाधनी पुर्जा पाएसँगै ती परिवारले आफ्नो जग्गामाथि कानुनी स्वामित्व स्थापित गर्ने अवसर पाएका छन्। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दै जग्गाको स्वामित्व उपलब्ध गराउने अभियान अघि बढाइरहेको छ।